भन्सार आइसिपीमा सरेपछि राजस्व बढ्न थाल्यो, खुला ठाउँमै सामाग्री जाँच गराउने बाध्यता

बिजमाण्डू
२०७६ फागुन ७ गते १६:५७ | Feb 19, 2020

Tata
GBIME
Nepal Life

विराटनगर। एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालन भएसँगै विराटनगर भन्सारले संकलन गर्ने राजस्वमा पनि वृद्धि हुन थालेको छ ।
आइसिपीमा सजिलो र जामरहित ढंगले ट्रक तथा कन्टेनर आउने क्रम बढेपछि राजस्व असुली सकारात्मक देखिएको हो ।

विराटनगर भन्सारले संकलन गर्ने राजस्व असोजदेखि पुस महिनासम्म लक्ष्यको ६५ प्रतिशतभन्दा कम रहेकोमा माघ महिनामा ७६ प्रतिशत असुली भएको छ ।

कार्यालयले असोजमा ४९, कात्तिकमा ५९, मंसिरमा ६२ र पुस महिनामा ५६ प्रतिशतमात्र राजस्व संकलन गरेको थियो ।

माघमा ७६ प्रतिशत असुली भए पनि हालसम्मको प्रगति लक्ष्यभन्दा धेरै कम छ । कार्यालयले माघ मसान्तसम्म २९ अर्ब ३६ करोड ७९ लाखको लक्ष्य राखेकोमा १८ अर्ब २५ करोड ७३ लाख मात्र संकलन भएको छ ।

भारत सरकारको सहयोगमा निर्मित आइसिपीको उद्घाटन गत माघ ७ गते दुवै देशका प्रधानमन्त्रीले आआफ्नो कार्यकक्षबाट रिमोट थिचेर गरेका थिए ।

विराटनगर भन्सारका सूचना अधिकृत सुशील शर्माका अनुसार एक हप्तायता आइसिपीबाट ९५ प्रतिशतभन्दा बढी काम हुन थालेको छ । पुरानो भन्सारबाट रेलमार्गबाट आउने बिलेट, सिआर सिट क्वाइल, एमएस वायर, मलखाद र नूनजस्ता मालवस्तु भित्र्याइन्छन् । यसबाहेक तरकारी र फलफूल पनि पुरानो भन्सार नाकाबाट पैठारी गरिन्छ ।

आइसिपीको मुख्य भवनभन्दा करिब डेढ किलोमिटर पूर्वउत्तरमा भारत सरकारले रेल मार्ग ल्याइपुर्‍याइएको छ ।

तर त्यहाँ र्‍याकबाट कन्टेनर उतारेर राख्ने तथा चेकजाँच गर्ने पर्याप्त ठाउँ छैन । त्यसैले रेलवेमा ल्याइएका मालवस्तु पुरानो भन्सारनेर रहेको जोगबनी स्टेसनमा नै अनलोड गरिन्छ ।

आइसिपीमा पनि मालवस्तु चेकजाँच गर्ने यार्ड कम भएको, गोदाम घर थोरै रहेको र भन्सार एजेन्टहरूलाई बस्ने ठाउँ नभएको तथा ट्रक तथा कन्टेनरका लागि पर्याप्त पार्किङ नभएको गुनासो सरोकारवालाले गरेका छन् ।

विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवलप्रसाद उपाध्यायले भने, ‘गर्मि दिनप्रतिदिन बढ्दो क्रममा छ । यस्तो अवस्थामा खुला आकाशमुनि मालवस्तु चेकजाँच गराउनुपर्ने बाध्यता छ । त्यस्तै भन्सार एजेन्टहरू  साँघुरो कोठामा बसेर काम गरिरहेका छन् ।’