कोरोना प्रभावले भारतमा सिटामोल र एन्टीवायोटिकको भाउ बढ्यो, नेपालमा कस्तो असर पर्ला?

बिजमाण्डू
२०७६ फागुन ७ गते १६:३२ | Feb 19, 2020

Tata
GBIME
Nepal Life

नयाँ दिल्ली। भारतमा औषधीको भाउ निकै बढेपछि अर्थमन्त्री निर्मला सीतारमणले सरोकारवालासँग छलफल अघि बढाएकी छन्। उनीसँग भेट गर्न पुगेका फर्मास्युटिकल क्षेत्रका उद्योगीहरुलाई अर्थमन्त्रीले हालको अवस्था चाँडै नियन्त्रणमा आउने भन्दै चिन्ता नगर्न समेत आग्रह गरिन्।

कोरोना भाइरसबाट भारतीय अर्थव्यवस्थामा पर्नसक्ने सम्भावित नोक्सानलाई कम गर्न अर्थमन्त्रीले बिभिन्न क्षेत्रका  सरोकारवालाहरुसँग छलफल गरिरहेकी छन्।

यसै क्रममा उनले फर्मास्युटिकल, केमिकल तथा सोलार इन्डस्ट्रीका प्रतिनिधिसँग भेट गरि हाल देखिएको औषधीको मूल्य वृद्धिबारे चिन्ता नगर्न पनि भनिन्।

भेटका क्रममा फर्मा कम्पनीका प्रतिनिधिहरुले चीनबाट औषधीका कच्चा पदार्थहरु एयरलिफ्ट गरी ल्याउन अनुरोध समेत गरे। सरकारले यस्तो उपाय लगाएमा आगामी दिनमा औषधीको उत्पादन तथा उपलब्धतामा सहज हुने उद्योगीहरुले सल्लाह दिएका थिए।

अर्थमन्त्रीले यसका लागि आवश्यक पहल गर्ने पनि बताइन्। 'सप्लाइमा आएको समस्याबारे उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन्, जुन जायज पनि हो,' मन्त्री सीतारमणले भनिन्।

केही दिनदेखि भारतमा ज्वरोको औषधी सिटामोल लगायतका केही औषधीहरुको मूल्य लगातार बढिरहेको छ।

भारतमा पारासिटामोलको भाउ ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यसैगरी ब्याक्टेरियल इन्फेक्सनबाट बच्नका लागि प्रयोग हुने एजिथ्रोमाइसीको भाउ पनि ७० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

फर्मा कम्पनी जाइडस क्याडिलाका अध्यक्ष पंकज पटेलका अनुसार  आगामी महिनाको पहिलो हप्तासम्ममा पनि औषधीको आपूर्ति सहज नभएमा अप्रिल महिनादेखि फर्मा उद्योगमा औषधीहरुको अत्यधिक कमी आउने छ।

तर अर्थमन्त्रीले भने कोरोना भाइरसका कारण मूल्यमा वृद्धि हुनु कुनै चिन्ताको विषय नभएको तथा कोरोना भाइरसबाट भारतीय अर्थतन्त्रमा असर परेको छ भन्न अलि हतार हुने पनि बताइन्।

औषधीको सप्लाइमा कमी भएपनि अस्पतालमा अत्यावश्यक औषधीहरुको भने कमी नभएको उनले दाबी गरिन्। भेटका क्रममा भारतमा मेडिकल उपकरण बनाउने उद्योगीहरुले भने निर्यातमा प्रतिबन्ध लगाउन माग गरेका थिए।