सिंगापुर एयरलाइन्सलाई कोभिड-१९ को झट्का, तीन महिनाका लागि आठ गन्तब्य कटौती 

बिजमाण्डू
२०७६ फागुन ७ गते १४:१८ | Feb 19, 2020
सिंगापुर एयरलाइन्सलाई कोभिड-१९ को झट्का, तीन महिनाका लागि आठ गन्तब्य कटौती 

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) का कारण सिंगापुर एयरलाइन्सले तीन महीनाका लागि आठवटा गन्तब्यमा उडान घटाउने गर्ने घोषणा गरेको छ। 

चीनमा फैलिएको कोभिड-१९ कारण उडानमा प्रभाव पर्ने देखिएको भन्दै कम्पनीले तीन महिनाका लागि विभिन्न गन्तब्यमा उडान संख्या घटाउने घोषणा गत मंगलबार गरेको हो।

कम्पनीले लसएन्जल्स, फ्र्याङ्कफर्ट, पेरिस, टोकियो, सिओल, जकार्ता, सिड्नी र मुम्बई लगायत गन्तब्यमा उडान घटाएको हो। कम्पनीले चीन र हङकङका मुख्य सहरमा उडान संख्या पनि घटाउने योजना बनाएको अनतर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

सिंगापुरमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका ७७ मामिला हालसम्म देखिएका छन्। यो दर चीनपछिको अन्य मुलुकमा दोस्रो हो। उक्त एयरलाइन्सद्वारा जारी सूचनामा भनिएको छ 'सिंगापुर एयरलाइन्स र सिल्क एयरका उडानमा अस्थायी प्रकृतिको कटौती गरिएको छ, यसको कारण कोभिड-१९ का कारण मागमा आएको कमी हो।'

उडान कटौती गरिएका गन्तव्यमा अग्रिम टिकट बुकिङ गरेका यात्रुलाई समय मिलाउन आग्रह गर्दै कम्पनीले सम्पर्क राख्न सूचित गरेको छ।

यसअघि कोभिड-१९ को संक्रमण सतर्कतालाई ध्यानमा राख्दै ब्रिटिस एयरवेजले चीनसँगको हवाइ उडान स्थगित गरिसकेको छ। फेब्रुअरीको चालु महिनाभरि चीनका मुख्य सहरसँगको सीधा उडान स्थगित गरेको घोषणा उक्त हवाइ सेवा कम्पनीले दुई साताअघि गरेको थियो।

अमेरिकासँगै एयर फ्रान्स, केएलएम एसए, जर्मनीको लुथान्सा र भर्जिन एटलान्टिक लगायतले चीनमा उडान संख्या कटौती र केहीले अल्पकालका लागि बन्द नै गरेका छन्। 

नेपालबाट चिनियाँ गन्तव्यमा उडान गर्दै आएको हिमालय एयरले पनि उडान कटौती गरेको छ भने चिनियाँ विमान सेवाहरूले पनि उडान संख्या घटाउनुका साथै मिति सारेका छन्।