टेस्लाको प्रशंसा गरेपनि विश्वकै धनाढ्य बिल गेट्स हाँक्दैछन् पोर्स टाइकान, किन किनेनन् टेस्ला?

बिजमाण्डू
२०७६ फागुन ६ गते १३:३७ | Feb 18, 2020

Tata
GBIME
Nepal Life

टेस्लाको मोडल एससँग प्रतिस्पर्धीका रूपमा बजारमा आएको पोर्सको टाइकानबीच मूल्यमा बाहेक अन्य सबै कुरामा क्लोज म्याच छ। यसैकारण टेस्लालाई भन्दा पोर्सलाई बढी प्रिफर गर्नेहरुका लागि खासै अरू कारण हुनु पर्दैन, एक मात्र कारण 'पोर्स' ब्राण्ड हो।

पोर्स टाइकानको मूल्य एक लाख ८९ हजार डलरदेखि सुरु हुन्छ भने एक लाख एक हजार डलर तिर्दा टेस्लाको हाइ इन्ड मोडल एस पाइन्छ। पैसा बाहेक दुवैमा खासै धेरै असमानता छैन। दुवैबीच पावरका हिसाबले केवल १० माइलको मात्र फरक देखिन्छ। टेस्लाको हर्सपावर केही बढी मात्र छ। टेस्लाको हर्सपावर ७७८ छ भने पोर्सको ७५०।

क्रेतालाई दुवै कारका बीच कुन बढी राम्रो भन्ने निर्णय गर्न गाह्रो पर्ने विज्ञहरु बताउँछन्। तर मूल्यका हिसाबले हेर्ने हो भने टेस्लाको 'बेटर भ्यालु' छ।

विश्वकै धनाढ्यमध्येका बिल गेट्सले पनि पोर्सको टाइकान किने। यदि कोही बिल गेट्स हो भने ९० हजार डलर मूल्य भिन्नता भएका दुई टप लाइन मोडलहरुमा कुन मोडल छान्ने भन्ने कुरा मूल्यका हिसाबले हो भने खासै केही अर्थ राख्दैन। तर पनि बिल गेट्सले किन पोर्स किने होलान् भन्ने कौतुहल जसलाई पनि हुन सक्छ।  

बिल गेट्सले टेस्लालाई विद्युतीय गाडीहरुलाई मेन स्ट्रिममा ल्याउने श्रेय दिन्छन्। पर्यावरण जोगाउने अभियानमा काम गरिरहेका बिल र उनको फाउन्डेसनका तर्फबाट हेर्ने हो भने पनि बजारमा विद्युतीय गाडीहरुको प्रयोग बढ्दै जानु ठूलो उपलब्धी पनि हो।

उनी विद्युतीय गाडीको प्रयोगलाई बढाउने काम टेस्ला ले नै गरेको भन्न कन्जुस्याईं पनि गर्दैनन्। बिल भन्छन् – 'यदि ड्राइभका लागि कुनै एउटा कम्पनी छान्नुपर्छ भने त्यो टेस्ला नै हुनेछ।'

त्यसो भए उनले किन पोर्सको टाइकान किने त; जबकि त्यो भन्दा एक तिहाइ कम दाममा टेस्लाको मोडल ३ नै पाउँथे ! बिलको पोर्स टर्बो एसले ७५० हर्स पावर जेनरेट गर्छ। यसले फुल चार्जमा २ सय माइल्सभन्दा बढीको यात्रा गर्न सक्छ।

'मैले भन्नैपर्छ कि यो प्रिमियम प्राइस्ड कार हो तर पनि यो एकदमै कुल छ। र यो मेरो पहिलो विद्युतीय कार हो। म यसलाई एकदमै इन्जोय पनि गरिरहेको छु,' बिल टाइकानप्रति उत्साहित छन्।  


टेस्लाको प्रशंसा गरेपनि बिलले फेरि पोर्स किने किनभने बिल र पोर्सबीच पुरानो आत्मियता छ।  बिलले पहिलोपटक सन् १९७९ मा पोर्स ९११ टर्बो किनेका थिए।

तर दोस्रोपटक किनेको सिल्भर कलरको दुर्लभ ९५९ पोर्सका लागि उनले अमेरिकी सरकारसँग चार वर्ष कानुनी युद्ध नै लड्नुपरेको थियो। उक्त कारलाई जर्मन अटोमेकरको ढोकाबाट निस्केको ८० को दशकको सबैभन्दा उम्दा कार मानिन्छ।

ट्विन टर्बो सुपर कारका रूपमा सन् १९८६ मा रिलिज भएको ९५९ पोर्सप्रति बिलको लगाव किन पनि धेरै रह्यो भने यो कार उनले युरोपबाट सजिलै हात पारेका होइनन्।

क्रयास टेस्टिङ नगरेको र इपिए स्ट्याण्डर्ड अनुरुप नभएको भन्दै अमेरिकाले उक्त कारलाई भित्र्याउन नदिएका बखत उनले अर्डर गरेको पोर्स ९५९ लाई लिन उनले  ब्यक्तिगत रूपमा कार भित्र्याउन पाउने कानुनअनुसार आयातका लागि सहमत गराए ।

धेरै नै पापड बेलेर अमेरिका झिकाएको पोर्स आज पनि उनी बेलाखबत चलाइरहेका हुन्छन्। तर कानुनअनुसार उनले त्यो कारलाई वर्षको २५०० माइल मात्र कुदाउन पाउने नियमलाई पालना भने आजसम्म गर्नुपरेको छ। (एजेन्सीहरुको सहयोगमा)