अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी फागुन १६ देखि भरतपुरमा, ‘कुखुरा र अण्डामा आत्मनिर्भर छौं’

बिजमाण्डू
२०७६ फागुन ५ गते १६:४१ | Feb 17, 2020

Tata
GBIME
Nepal Life

 काठमाडौं। नेपाल पोल्ट्री व्यवसायी महासंघले आउँदो फागुन १६ गतेदेखि भरतपुरमा 'नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०' आयोजना गर्ने भएको छ।

प्रदर्शनीमा नेपालसँगै भारत, जर्मनी, वेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत दर्जनौँ मुलुकको सहभागिता रहने महासंघले जनाएको छ।
                                                                                                                                                                              करिब सवा करोडको लागतमा आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यवसायी र सर्वसाधरणले व्यवसाय विस्तारका लागि प्राविधीक जानकारी लिनसक्ने महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताएका छन्।

 'कुखुरा तथा अण्डा उत्पादनमा हामी आत्मनिर्भर छौँ। मोर्डनाइजेशनमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान क्षमता विस्तारका लागि प्रविधीको ठूलो महत्व रहेको छ। यही कुरालाई मध्यनजर गर्दै भइरहेका र आउँदै गरेका नयाँ व्यवसायीलाई लक्षित गर्दै प्रदर्शनी आयोजना गर्न लागेका हौँ।' सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विष्टले भने।

उपभोक्तालाई माग अनुसार सुपथ मूल्यमा स्वस्थ कुखुराको मासु र अण्डा विक्री वितरण गर्नु नै महासंघको मुख्य उद्धेश्य रहेको उनले बताए। तर सरकारको पोल्ट्री उद्योग नीति अनुकुल नबनाएकाले बिभिन्न समस्या उत्पन्न हुने गरेको उनको भनाई छ। 'एक त नीति बन्नै गाह्रो बनेपनि पालना गर्न गाह्रो।'-उनले भने।
 
नेपाली पोल्ट्री किसानले गर्दै आएको व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने तथा सुलभ र गुणस्तरीय बनाउने उद्देश्यले पोल्ट्री हबका रुपमा परिचित चितवनमा प्रदर्शनी गर्न लागिएको आयोजकले जानकारी दिए।  

प्रदर्शनीमार्फत खरबौँको लगानी र लाखौँ रोजगारी रहेको पोल्ट्री क्षेत्रको विकास र विस्तार मात्र नभई भ्रमण वर्ष २०२०मा टेवा पुर्याुउने उद्धेश्य समेत राखेको महासंघले जनाएको छ।  

महासंघका अनुसार फागुन १३, १४ र १५ गते नेपाल भेटेरिनरी संघसँगको सहकार्यमा पोल्ट्री पाठशाला आयोजना गरिने छ। पाठशालामा सहभागि ले अन्तर्राष्ट्रिय वैज्ञानिकमार्फत प्रविधी, वायो सेकुरीटी लगायत आवश्यक विषयबारे ज्ञान लिन सक्नेछन्।

दुई सय वटा स्टल रहने प्रदर्शनीमा अवलोकनकर्ताले निशुल्क प्रवेश गर्न सक्ने महासंघले जनाएको छ।