नेपालगंजको एसके डेरी उद्योग संचालनमा, दैनिक १५ हजार लिटर दूध बिक्री गर्ने

बिजमाण्डू
२०७६ फागुन ५ गते १६:०८ | Feb 17, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नौ करोड लगानीमा नेपालगंजको एसके डेरी उद्योग सोमबारदेखि संचालनमा आएको छ। यो उद्योगको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे।

 उनले परम्परागत रुपमा प्रशोधन नगरि बिक्री वितरण भइरहेको दूध गुणस्तरीय नहुने बताए। ‘संगठित रुपमा स्थापना भएको यस्तो उद्योगले दूधको मूल्य अभिवृद्धि हुन्छ। यसले अर्थतन्त्रमा पनि सहयोग पुर्याउँछ’ उनले भने।

 उद्योगका संचालक सरोज पाण्डेले सम्भाब्यता अध्ययन गरेर उद्योग स्थापना गरिएको बताउँदै गुणस्तरीय उत्पादन उपभोक्तालाई दिने प्रतिवद्धता जनाए। ‘हामीले प्रदेश सरकारबाट केही पाउने अपेक्षा गरेका छैनौं। सरकारले ल्याएका नीति कार्यान्वयन होस् भन्ने मात्रै चाहेका हौं’ उनले भने, ‘सुरुमा हामीले दूधका बारेमा अध्ययन गर्न आएका थियौं। त्यही बेलामा कृषिमन्त्री आरती पौडेलले उद्योगनै स्थापना गर्न आग्रह गर्नुभएको थियो।’

साढे पाँच कठ्ठा जग्गामा स्थापना भएको यो उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण सुरु गरेको छ। उद्योगबाट रोयल च्वाइस ब्राण्डमा दूधका उत्पादन बजारमा आउनेछ। उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम उत्पादन हुनेछ।