तराइ स्वच्छ उर्जा कार्यक्रमले चुल्हो उद्योगी उत्साहित, वीरगंजमा खुल्यो १ करोडको चुल्हो उद्योग

बिजमाण्डू
२०७६ फागुन ४ गते ०९:५४ | Feb 16, 2020


वीरगंज। वीरगंज, गहवाका व्यवसायी मनोज गुप्ताले वीरगंज–२१ लिपनीविर्तामा सुधारिएको चुल्हो उत्पादन गर्ने उद्योग हस्क पावर नेपाल प्रालि स्थापना गरेका छन् ।

Tata
GBIME
Nepal Life

परवानीपुर हनुमान मन्दिर नजिक एक उद्योग भाडामा लिई अढाई वर्षदेखि व्यावसायिक उत्पादन थालेको ‘हस्क पावर नेपाल प्रालि’ का सञ्चालक मनोजले आफन्तको लिपनीविर्तामा रहेको करिब ८ कठा जग्गामा तीन महिना पहिले नयाँ उद्योग स्थापना गरी उत्पादन शुरु गरिसकेका छन् ।

उद्योगले सामान्य र अर्को इलेक्ट्रिक चुल्हो उत्पादन गर्ने गर्छ । इलेक्ट्रिक चुल्हो पनि काठ, दाउरा, धानको भुस तथा सुक्खा झारपातबाट बल्छ । इलेक्ट्रिकमा विद्युतीय पंखा जडान गरिएको हुन्छ जसमा २ वाटको बिजुली प्रयोग हुन्छ। कम दाउरा तथा धुँवारहित वातावरणमा खाना पकाउन यी चुल्होको प्रयोग बढी नेपालको पहाडी जिल्लाहरुमा हुन्छ ।

गुप्ताको कम्पनीले गत वर्ष नै तीन वटा अन्तराष्ट्रिय पुरस्कार पाइसकेको उनले बताए । विश्वभरमा वैकल्पिक उर्जा प्रवर्द्धन गर्न र उर्जा बचतमा जनचेतना जगाउन र चुल्होको कार्यदक्षताको आधारमा एक अमेरिकी संस्था, दिल्लीको जिटिएस तथा पार्लियामेन्ट्री हाउस अफ लन्डनले (बेलायत) हस्क पावरलाई पुरस्कृत गरेको  उनले जानकारी दिए।

वर्षेनी १० करोड भन्दा बढिको कारोबार छ सुधारिएको चुल्होमा । तर सरकारी नीतिका कारण स्वदेशी उद्योग संकटमा परेको तथा ट्रेडिङ व्यवसाय गर्ने कम्पनी मालामाल भएको भन्छन् मनोज। उनले नेपालमा सुधारिएको चुल्होप्रति सरकारी नीति अव्यवहारिक भएको भन्दै विभिन्न सरोकारवाला निकायमा जानकारी समेत गराइसकेको बताउँछन्।

‘विदेशबाट तयारी चुल्हो आयात गर्दा १ प्रतिशत भन्सार महसुल तिरेर आयातकर्ताले ल्याइरहेका छन् ,’उनले भने,‘तर हामीले उत्पादन गर्न कच्चा पदार्थ मगाउँदा ८ प्रतिशतदेखि ३३ प्रतिशत सम्म भन्सार महसुल लाग्छ,अर्को सरकारले १३ प्रतिशत भ्याट पनि लिन्छ ।’

उनले स्वदेशी उद्योगले १० करोडको ब्यापार घाटा कम गरी स्वदेशमा सयौंलाई रोजगारी उपलब्ध गराउने भएकोले स्वदेशी उद्योगलाई सरकारले संरक्षण गरी १३ प्रतिशत भ्याट रिफन्ड गरी कच्चा पदार्थ आयातको भन्सार दर कम गर्नुपर्ने माग गरे ।

विदेशबाट आयात गरिएका सुधारिएको चुल्होको आयातमा उच्च भन्सार महसुल लगाउँदा देशको पैसा विदेशबाट रोक्दै स्वदेशी उद्योगलाई फाइदा पुग्ने उनको आग्रह छ।  सुधारिएको चुल्हो उद्योगले वैकल्पिक उर्जाको प्रवद्र्धन गर्ने भएकोले यी उद्योगलाई सहजै ऋण उपलब्ध गराउन पनि सरकारले पहल गर्नुपर्ने उनले माग गरे।

‘चुल्हो चौकाको उद्योगलाई बैंकले पत्याउँदैनन्,’उनले भने,‘१ करोडको पुँजीमा ४० लाख ऋण दिने कुरा गर्छन्।’ उनले भने।

नेपालमा ४ वटा ठुला चुल्हा उत्पादन गर्ने उद्योग सञ्चालनमा रहेको र केही आउने क्रममा रहेको व्यवसायीहरुले बताए । नेपालमा पहाडी जिल्ला तथा पूर्वी नेपालमा सुधारिएको चुल्होको उच्च माग छ ।

तराई स्वच्छ उर्जा कार्यक्रमले चुल्हो उद्योगी उत्साहित

नेपाल सरकारले चालू आव र आगामी वर्षसम्ममा तराईका २२ जिल्लाका करिब ४ लाख विपन्न परिवारलाई सुधारिएको चुल्हो वितरण गर्ने कार्यक्रम राखेको छ ।

तराईका बायो उर्जाको स्रोतमा लिइने गुइठाको उपयोग गरी विजुली र दाउराको परनिर्भरतालाई घटाउने सरकारको लक्ष्य छ जसको कारण स्वदेशी चुल्हो उत्पादन गर्ने उद्योगी उत्साहित छन् । तर चालू आवको ६ महिना वितिसक्दा कार्यक्रमले गति नलिएको उद्योगीहरुले बताएका छन् ।

हस्क पावरले नै मासिक रुपमा ३० हजार भन्दा बढी चुल्हो उत्पादन गर्ने क्षमता भएतापनि सरकारी कार्यक्रम अघि नबढ्दा उत्पादनमा ५० प्रतिशतले कमी ल्याएको जनाएको छ।