कालीमाटी तरकारी बजारको मूल्यसूचीबाट हट्यो लसुन, आयात ठप्पले बजारमा अभाव

सरला सुवेदी/बिजमाण्डू
२०७६ फागुन २ गते १५:२१ | Feb 14, 2020
कालीमाटी तरकारी बजारको मूल्यसूचीबाट हट्यो लसुन, आयात ठप्पले बजारमा अभाव

Tata
GBIME
Nepal Life

काठमाडौं। चीनबाट आयात ठप्प हुँदा बजारमा काठमाडौंको बजारमा लसुन महंगिनुका साथै सजिलै किन्न नपाइने खाद्यवस्तुमा परेको छ। 

कालिमाटी फलफूल तथा तरकारी बजारले दैनिक प्रकाशन गर्ने तरकारीको मूल्यसूचीबाट लसुनलाई हटाएपछि यसको पुष्टि भएको हो। बजारमा स्वदेशी तथा चिनियाँ लसुन बिक्री हुँदै आएको छ। आयात रोकिएपछि स्वदेशी उत्पादनले केही समययता बजारको माग पूरा गर्दै आएको कालिमाटी फलफूल तथा तरकारी बजारका सूचना अधिकृत विनय श्रेष्ठले बताए। 

आयात रोकिएकै कारण गत माघमा लसुनको मूल्यमा वृद्धि भएर प्रतिकिलो २ सय ५० रूपैयाँबाट ६ सय रुपैयाँसम्म पुगेको थियो। 'स्टकमा रहेको सबै लसुन सकियो, अब बजारमा नभएपछि मूल्य सूचीबाट लसुन हटाउनु परेको हो,' श्रेष्ठले भने।    

तीन महिनायता आयात वृद्धि हुँदै प्रतिमहिना २ सय ५६ टन भित्रिरहेको थियो । 'गत महिना आयातमा गिरावट आएर एक सय टनमात्र आयो,' उनले भने, 'माघ २० गतेदेखि स्टक गरिएको पनि सकिएपछि बजारमा अभाव भएको हो।'

वुहानमा फैलिएको कोरोना भाइरसको संक्रमण अन्त प्रसार हुन नदिन  चीनले आयात-निर्यात बन्द गरेको छ। उत्तरी नाका बन्द हुँदा व्यापारीले चीनबाट झिकाउने सबै प्रकारका वस्तुको आयात ठप्प छ। केही महिना अघिको स्टक पनि सकिएपछि व्यवसायी यतिबेला नाका खुल्ने प्रतीक्षामा छन्।

स्वदेशी उत्पादनले केही साता बजार धान्ने भए पनि नेपाली कृषकले बारीबाट लसुन उखेल्न अझै केही समय लाग्ने देखिएको छ। 'नेपाली लसुन बजारमा आउने बेलै भइसकेको छैन,' एक व्यवसायीले भने, 'अहिल्यै अभाव भइसक्यो।'