काठमाडौंमा राती ८ बजेदेखि ११ बजेसम्म बस चल्ने, ५०% भाडा बढाए सेवा दिगो हुने व्यवसायीको जिकिर

बिजमाण्डू
२०७६ फागुन १ गते १५:३९ | Feb 13, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं महानगरले रात्रीकालिन यातायात सेवा संचालन गर्ने भएको छ। बुधबार मेयर विद्याशुन्दर शाक्यले काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात संचालन गर्ने जानकारी दिएका हुन्।

‘रातको समयमा धेरै देशको राजधानी रहेको महानगर रातीसम्म जागै हुन्छ। तर हाम्रोमा त्यो अभ्यासलाई कार्यान्वयन गर्न सकिएको छैन,’ उनले भने, ‘अहिलेको समाज पनि फेरिएको छ। त्यसैले सहरलाई जागै राख्न सार्वजनिक यातायात पनि संचालन गर्न आवश्यक छ।’ रात्रीकालीन सवारी सञ्चालनका लागि महानगरले केही सहयोग गर्ने र बस सेवा संचालनमा ल्याउने उनले बताए। उनका अनुसार बेलुका ८ देखि ११ बजेसम्म बस चलाउने बारेमा छलफल भइरहेको छ।

पहिलेको १८ महिना रात्री सेवा सञ्चालनको अनुभव रहेकोले त्यसको सिकाइलाई उपयोग गरेर दिगो सेवा व्यवस्थापनको काम काम गर्ने मेयर शाक्यले बताए।

बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रस्ताव सकारात्मक भएको बताउँदै यसलाई छिट्टै कार्यान्वयन गर्ने बताए।काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले  जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात संचालनमा ल्याउन सघाउने बताए।

काठमाडौं महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले रात्रीकालीन बजारसँगै सडकमा पर्याप्त प्रकाशको व्यवस्था गर्दै जाने बताए। महानगरका सहसचिव राजेश्वर ज्ञवालीले विदेशको अनुभव सुनाउँदै ट्राफिकका आधारमा बस सेवा संचालन गर्नुपर्ने बताए।

महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवारले रात्रीकालीन व्यवसायलाई प्रवर्द्धन र सहरी सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले रात्रीकालीन यातायातले नेपाल भ्रमणमा आउने पर्यटकलाई समेत सहयोग पुग्ने बताए।

बैठकमा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष धर्मराज रिमालले अनुदान दिएरभन्दा भाडा बढाएर सेवालाई दिगो बनाउन सुझाव दिए। उनले कम्तीमा १५ वटा रुटमा ६० वटा सवारी साधन सञ्चालन गर्न सक्ने बताउँदै सरकारले रात्रीकालीन सेवामा ५० प्रतिशत भाडा बढाएर लिन पाउने व्यवस्था गर्नुपर्ने बताए।