विद्युतीय माध्यमबाट किनमेल गरे भ्याटको १०% रकम तत्कालै पाइने, आजबाट उपभोक्तालाई फाइदा

बिजमाण्डू
२०७६ माघ २८ गते १०:४१ | Feb 11, 2020


काठमाडौं। आन्तरिक राजस्व विभागले १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता आजबाट औपचारिक रूपमा सुरु गरेको छ। सबै तयारी सकिएकाले विभागले आजबाट पैसा फिर्ता प्रक्रिया सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

 भ्याट फिर्ताका लागि बिक्रेता, सेवा प्रदायक, विद्युतीय बिजक सम्बन्धि काम गर्ने कम्पनीहरु विभागको सफ्टवेयरमा जोडिइसकेका छन्। चालु आर्थिक वर्षको बजेट बक्तव्यमार्फत घोषणा भएको भ्याट फिर्ता सात महिनाछि सुरु भएको हो। सुरुमा बैंकको डेबिट र क्रेडिट कार्डको भुक्तानीमा भने भ्याट फिर्ता नहुने विभागले स्पष्ट पारेको छ। यस्तै भावी दिनमा अध्ययन गरी डेबिट र क्रेडिट कार्डमा पनि भ्याट फिर्ता गरिने विभागले जनाएको छ।

तत्कालका लागि राष्ट्र बैंकबाट मान्यता प्राप्त वालेट र  मोबाइल बैंकिङबाट हुने भुक्तानीमा भ्याट फिर्ता हुनेछ। सरकारले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न भ्याट फिर्ता सुविधा दिन सुरु गरेको हो। भ्याट फिर्ताका लागि बिक्रेताले विद्युतीय बिलको प्रयोग अनिवार्य गर्नुपर्नेछ। यस्तै बिक्रेता र उपभोक्ता पनि सेवा प्रदायकसँग जोडिनु पर्नेछ।

यसरी जोडिइसकेपछि उपभोक्ताले १० प्रतिशत तत्कालै  (रियल टाइम पे ब्याक) आफ्नो खातामा फिर्ता पाउनेछन्। यसरी फिर्ता दिएको भुक्तानीको विवरण बिक्रेताले विभागले पेश गर्नुपर्नेछ। 

यसरी पाउनेछन् उपभोक्ताले भ्याट फिर्ता
भ्याट लाग्ने सामाग्री खरिदमा उपभोक्ताले बिल भुक्तानी गर्नेबित्तिकै खातामा रकम फिर्ता पाउनेछन्। यो प्रणाली क्यूआर कोडमा निहित हुनेछ। विभागले बनाएको सफ्टवेयरले विद्युतीय बिलसँगै क्यूआर कोड आउने छ। जसलाई सजिलैसँग मोबाइल बैंकिङ र वालेटले रीड गर्नेछ। यसरी रीड गरिसकेपछि २ वटा अंक सफ्टवेयर आफैंले निकाल्छ। एउटा भ्याट बाहेकको रकम र अर्को भ्याट रकम मात्र निकाल्छ।

यसरी उक्त सफ्टवेयरले भ्याटको १० प्रतिशत तुरुन्तै (रियल टाइम पेमेन्ट) फिर्ता गर्नेछ। यदि एक हजारको विद्युतीय बिलमा भ्याट रकम एक सय रूपैंयाँ छ भने १० प्रतिशत अर्थात १० रूपैंयाँ ग्राहकको खातामा जम्मा हुनेछ। यो व्यवस्था कार्यान्वयनमा आएसँगै उपभोक्ताको लागत १.५ प्रतिशत सस्तो हुनेछ।

भ्याट फिर्ता प्रक्रिया सुरू गर्न विभागले सफ्टवेयर ल्याएपछि निजी क्षेत्रसँग बिभिन्न चरणमा छलफल गरेको थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार देशभर मोबाइल बैंकिङ सेवा प्रयोग गर्नेहरू ९० लाख ९९ हजार ७ सय ३२ जना छन् भने इन्टरनेट बैंकिङको पहुँचमा ९ लाख २८ हजार ७ सय ९ जना छन्।

यस्तै गत पुससम्म डेबिट कार्ड प्रयोगकर्ताको संख्या ६८ लाख १९ हजार ६ सय २ पुगिसकेको थियो भने प्री-पेड कार्ड लिनेहरू ६३ हजार २ सय र क्रेडिट कार्ड लिने १ लाख ३७ हजार ५६ थिए।