सिजी टेलिकमले पत्रकार सम्मेलन गर्दै भन्यो-‘संचारमन्त्री गोकुल बाँस्कोटाले भ्रम सिर्जना गरे’

बिजमाण्डू
२०७६ माघ २६ गते १८:१२ | Feb 9, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सूचना, प्रविधि तथा संचारमन्त्री गोकुल बाँस्कोटाले गलत प्रचार गरि भ्रम सिर्जना गरेको आरोप सिजी टेलिकमले लगाएको छ।

मन्त्री बाँस्कोटाले गत साता मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा २० अर्ब तिरे सिजी टेलिकमले अनुमति पाउने बताएका थिए। कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो।

कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यूनिफाइड लाइसेन्स लिन सबै प्रक्रिया पूरा गर्दा पनि अनुमति नपाएको बताउँदै उल्टै सरकारबाट भ्रम छर्ने काम भइरहेको आरोप लगाए।

‘मन्त्री बाँस्कोटाले २० अर्ब रकम तिरे लाइसेन्स पाउने बताउनु भएछ। कुन ऐनमा २० अर्ब एकैपटक बुझाए अनुमति पाइने रहेछ हामीलाई भनिदिनुपर्‍यो,’ उनले भने, ‘हामीले २५ लाखमै अनुमति मागेका छैनौं। प्रक्रियाअनुसार नै अनुमति मागेका हौं।‘

चौधरीले २० अर्ब नवीकरण वापतको शुल्क भएको बताउँदै यो रोयल्टी किस्ता तिर्न पाउने व्यवस्था ऐनमै रहेकोले त्यहीअनुसार तिर्न तयार रहेको बताए। ‘नवीकरण शुल्क सबै कम्पनीले किस्तामा तिर्ने भनिएको छ। हामी सोही अनुसार तिर्न तयार छौं,‘ उनले भने, ‘नेपाल टेलिकम र एनसेलले जसरी तिरेका छन्। त्यही प्रक्रियाअनुसार तिर्न हामी तयार छौ।’

चौधरीले सिजीले आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र तर्फका सम्पूर्ण शर्त पूरा गरेको बताउँदै कुनै पनि रकम तिर्न बाँकी नरहेको बताए। सबै प्रक्रिया पूरा गर्दा पनि अनुमति रोकिएको बताउँदै उनले नवीकरण शुल्क तिर्न स्वीकार गरेको जानकारी दिए।