इन्टरनेटमा मल्टि-राउटर ट्राफिक ग्राफ सञ्चालन गरिने, अब इन्टरनेटको स्पिड आफैं हेर्न पाइने

बिजमाण्डू
२०७६ माघ २४ गते १७:५१ | Feb 7, 2020
इन्टरनेटमा मल्टि-राउटर ट्राफिक ग्राफ सञ्चालन गरिने, अब इन्टरनेटको स्पिड आफैं हेर्न पाइने


Tata
GBIME
Nepal Life

काठमाडौं। निश्चित गतिको सेवा दिन्छौं भन्दै इन्टरनेट सेवा प्रदायकका कम्पनीपिच्छे 'अफर' सहितका प्याकेज छन्। आफूले पाउनुपर्ने स्पीडमा इन्टरनेट चलेन भने ग्राहकले कसरी थाहा पाउने ?

यसका लागि अब नेपाल दूर सञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई मल्टी राउटर ट्राफिक ग्राफ (एमआरटीजी) अनिवार्य सञ्चालन गर्न लगाउने भएको छ।

कम्पनीहरूले हाल ठूला ग्राहकका रूपमा रहेका कर्पोरेट हाउसलाई मात्र यस्तो सुविधा दिएका छन्। यो सुविधा अब इन्टरनेट सेवा लिने सबै उपभोक्तालाई पनि उपलब्ध गराउन प्राधिकरणले पहल गरेको हो।

इन्टरनेटको स्पिड कम भएको वा सेवा प्रदायक कम्पनीले तोकेअनुसारको सेवा नदिएको गुनासो बढेपछि आफूले प्रयोग गरिरहेको इन्टरनेटको गति ग्राहकले आफैं जानकारी लिन पाउने व्यवस्था गरिन लागेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको अनुगमन शाखा प्रमुख विजयकुमार रोयका अनुसार इन्टरनेट सेवा प्रदायक सबै कम्पनीले एमआरटीजी सिस्टम लागू गरे अनुगमन गर्न पनि सजिलो हुनेछ। 

‘यो एउटा सफ्टवर हो, जुन सेवाप्रदायक कम्पनीले सजिलै सञ्चालन गर्न सक्छन्। कतिपय सेवा प्रदायकले यो सिस्टम सञ्चालन गरिसकेका छन्,’ उनले भने। यो सिस्टमले ग्राहकलाई आफूले प्रयोग गरिरहेको इन्टरनेटको स्पिड कति भन्ने जानकारी दिन्छ।

हाल  वर्ल्डलिंक र सुबिसु जस्ता केही सीमित कम्पनीले ठूला इन्टरप्राइजेजलाई यो सेवा दिँदै आएका छन्। प्राधिकरणले अब भने यो सेवा साना-ठूला सबै उपभोक्ताले समेत लिन पाउनुपर्ने भन्दै सेवा प्रदायकसँग छलफल सुरू गरेको छ।

ग्राहकले इन्टरनेट जडान गर्दा गरेको एग्रीमेन्टमा उल्लेख भएअनुसारको क्षमता नपाए प्राधिकरणमा उजुरी गर्ने सक्ने व्यवस्था छ भने सर्त बमोजिमको सेवा नपाए क्षतिपूर्ति पाउने कानुनी व्यवस्था छ। यो सिस्टम सुरु भएपछि उपभोक्ताले सर्त बमोजिमको इन्टरनेटको सुविधा नपाए सेवा प्रदायक कम्पनीमा सिधै जानकारी गराउन सक्नेछन। यसरी जानकारी गराउँदा समेत सुनुवाई नभए सोही ग्राफलाई आधार बनाई प्राधिकरणले कार्वाही गर्न बाटो खुल्नेछ।

हाल सेवा प्रदायकले दिएको इन्टरनेटको सेवाको गुणस्तर उपभोक्तासम्म कस्तो पुगेको छ भन्ने जानकारी लिने  प्रविधि प्राधिकरणसँग छैन, जसका कारण अनुगमन गर्न समेत कठिन छ। कतिपय उपभोक्ताले आफूले लिएको इन्टरनेट कुन गतिको छ अथवा इन्टरनेट जडान गर्दाको समय कम्पनीसँग गरेको सम्झौताका सर्तअनुसार सेवा पाएको नपाएको जानकारी लिन सकेका छैनन्। अब भने सेवा प्रदायकले दिएको इन्टरनेटको स्पिड कति छ, कुन समयमा  कति इन्टरनेट प्रयोग भयो भन्ने समेत जानकारी पाउने छन। 

त्यस्तै ती कम्पनीले प्राधिकरणबाट स्वीकृत गराएका प्याकेजअनुसार इन्टरनेट दिएका छन् कि छैनन् भन्ने समेत जानकारी लिन सहज हुनेछ। यो सफ्टवेयर भएकाले उपभोक्ताले कुन समय कुन स्पिडको इन्टरनेट चलाए भन्ने समेत रेकर्ड राख्नेछ। 

हाल गुगलमा पाइने अन्य एप्लिकेसन प्रयोग गरि ग्राहकले आफ्नो लाइनको इन्टरनेटको स्पिड हेर्ने गरेका छन्। यस्ता एपले तत्काल प्रयोग भइरहेको गतिको मात्र जानकारी दिने गर्छन्। तर मल्टी-राउटर ट्राफिक ग्राफले उपभोक्ताले प्रयोग गरेको सम्पूर्ण समयको रेकर्ड गर्ने गर्दछ।