तीनवटा डन्डी उद्योगको इजाजतपत्र स्थगन, अशोक स्टीलले गम्भीर लापरवाही गरेको ठहर

बिजमाण्डू
२०७६ माघ २३ गते १७:५४ | Feb 6, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले तीन वटा डन्डीको इजाजतपत्र स्थगन गरेको छ। ती कम्पनीले गुणस्तर अनुसार डन्डी उत्पादन नगरेको भन्दै इजाजतपत्र स्थगन गरेको हो।

विभागका अनुसार गोदावरी स्टील्स, गोयन्का स्टील्स र अशोक स्टील्सको इजाजपत्र स्थगन गरिएको हो। यीमध्ये सबैभन्दा गम्भीर लापरवाही भने अशोक स्टील्समा देखिएको छ। यो उद्योगले उत्पादन गरेको टिएमटी बार १२ एमएम एफइ-५००को एलोग्नेशन १२ प्रतिशत हुनुपर्नेमा ११ दशमलव ६७ प्रतिशत मात्रै रहेको पाइएको छ।

यो डन्डीको बोन्ड टेस्ट समेत गुणस्तर अनुसार नभएको पाइएकाले बजारमा पुर्‍याइएका सामान पनि फिर्ता गर्न विभागले निर्देशन दिएको छ। विभागले उद्योगसँग स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको जनाएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगले लापरवाही नै गरेको पाइएकाले सामान नै फिर्ता गर्न लगाइएको बताए।

उनका अनुसार भूकम्प आएमा डन्डी भाँचिने सम्भावना हुन्छ। ‘भूकम्प आउँदा डन्डी भाँचिने सम्भावना हुन्छ। यो गम्भीर लापरवाही भएकाले स्पष्टीकरण सोधिएको हो,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ नआएमा गुणस्तर चिन्ह नै खारेज गर्नेतर्फ हामी लाग्नेछौं।’

विभागका अनुसार गोदावरी स्टील्सले उत्पादन गर्ने टिएमटी बार ८ एमएम एफइ-५०० डी डन्डीमा शून्य दशमलव २ प्रतिशत स्ट्रेस/यल्ड स्ट्रेन्थको मान ४६१ दशमलव ००एन/एमए२ रहेको पाइएको छ। गुणस्तर मापदण्ड अनुसार-५०० दशमलव ०० एनएम/एमएम२ हुनुपर्छ। विभागका अनुसार गोयन्का टिएमटी बार ८ एमएम, २५ एमएम एफइ -५००मा बोण्ड टेस्ट गुणस्तर अनुसार नभएको पाइएको छ।