टेस्ला कार जाँचपास प्रकरणः भन्सार विभागमा उपस्थित हुन पत्र पठाएपछि एजेन्ट हड्तालमा

बिजमाण्डू
२०७६ माघ २० गते २१:१० | Feb 3, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। भन्सार विभागले गैरकानुनी रूपमा ल्याइएका टेस्ला गाडी जाँचपासमा संलग्न क्लियरिङ एजेन्टलाई तीन दिनभित्र आवश्यक कागजपत्र बुझाउन पत्र लेखेको छ।

 विभागले क्लियरिङ एजेन्ट न्यू फेन्सी स्टोर्सका सञ्चालक भाग्यनारायण मिश्र र एजेन्ट प्रतिनिधि संजोग मानन्धरलाई सबै कागजात लिएर आउन पत्र दिएको छ। यो पत्रसँगै वीरगंज भन्सार कार्यालयमा सोमबार वीरगंज भन्सार एजेन्ट एशोसिएसनको अगुवाइमा हड्ताल सुरु भएको छ। जाँचपासमा वीरगंज भन्सारका कर अधिकृत सूर्य काफले दोषी देखिएपनि एजेन्ट कम्पनीका सञ्चालक र प्रतिनिधिलाई मात्रै बोलाएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।

एजेन्टहरुको हडतालको कारण वीरगंज भन्सार मातहतको पुरानो भन्सार,आइसिपी भन्सार र ड्राइपोर्ट भन्सार सोमवार ठप्प रह्यो। ‘कर्मचारीलाई कारवाही भएन। एजेन्टलाई मात्रै विभागले आवश्यक कारवाहीको लागि पत्र पठाएको छ,’ एक एजेन्टले भने,‘त्यस कारण आज दिनभर सबै भन्सार ठप्प पारिएको हो।’

वीरगंज भन्सारका प्रमुख गोपाल खत्रीले कार प्रकरणमै विभागले एजेन्टलाई पत्र दिएपछि उनीहरु हड्तालमा उत्रिएको बताउँदै मंगलबार वार्ताका लागि बोलाएको बताए। गैरकानुनी रुपमा ल्याइएका दुई वटा टेस्ला गाडी गत मंगलबार जाँचपास भएको थियो।

श्रीमा डिष्ट्रव्युसनले ल्याएको टेस्ला गाडी वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका एजेन्सी दर्ता गरेर ल्याएको थियो। तर आर्थिक ऐनका आधारमा विभागमा एजेन्सी दर्ता गरेकै भरमा गाडी ल्याउन पाइदैन।  आर्थिक ऐन २०७६ को अनुसूची १२ अनुसार निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरू नेपालस्थित आधिकारिक बिक्रेताहरुले मात्र पैठारी गर्न पाउँछन्।

हङकङको साउथ चाइना एक्जिम लिमिटेड हङकङबाट आयात भएका दुईवटा टेस्ला गाडी वीरगञ्ज भन्सारबाट जाँचपास भएको सार्वजनिक भएपछि भोलिपल्ट बुधबार १० बजे धादिङको आदमघाटमा नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिएको गाडी वीरगंजमा लगेर पुन:परीक्षण गरिएको छ। यो प्रकरणको अनुसन्धानका लागि वीरगंज भन्सारले समेत अनुसन्धान टोली बनाएको छ।