आफैं अनलाइन कारोबार गर्ने लगानीकर्ताले यसरी कमाउन सक्छन् मनग्ये नाफा, देव गुरागाईको लेख

बिजमाण्डू
२०७६ माघ १४ गते १६:१५ | Jan 28, 2020
आफैं अनलाइन कारोबार गर्ने लगानीकर्ताले यसरी कमाउन सक्छन् मनग्ये नाफा, देव गुरागाईको लेख

Tata
GBIME
Nepal Life

नेपालको सेयरबजार अत्यन्त तरल एवं संवेदनशील छ। बजार छिनमै घट्ने र छिनमै बढ्ने गरिरहन्छ। जुन प्रवृत्ति लगानीकर्ताको लागि निकै जोखिमपूर्ण हुन्छ। मिडियामा आउने समाचार, रिपोर्ट, विश्लेषण, अभिव्यक्ति आदिले पनि बजारलाई अत्यन्तै प्रभावित पारिराखेको पाइन्छ। 

यस्तो अस्वाभाविक उतार चढाव हुने बजारमा नयाँ एवं कम जानकारी भएका लगानीकर्ता धेरै मर्कामा परिरहेका हुन्छन्। लहलहैमा लागेर सेयर बजारबाट कमाइन्छ भन्नेहरु धेरै फँसेको उदाहरण हेर्न पाइन्छ।

यस्तो अस्थिर बजारमा सुक्ष्म अध्ययन नगरी, बजारका प्राविधिक पक्षहरुको जानकारी नराखी कोही कसैले भनेका भरमा लगानी गर्दा लगानी डुब्ने जोखिम हुन्छ। त्यसैले पैसा लगानी गर्नुभन्दा पहिले आफूले यस सम्बन्धमा केही कुराहरु जानकारी राख्न सकियो भने बजारबाट कमाउने राम्रो अवसर पनि प्राप्त हुन्छ। यस्ता केही उपायहरुमध्ये अनलाइन कारोबार एक महत्वपूर्ण, किफायती एवं आधुनिक उपाय हो । 

कसरी गर्ने सेयरको अनलाइन कारोबार ? 
लगानीकर्ताले इन्टरनेटको माध्यमबाट कम्प्युटर, ल्यापटप, ट्याबलेट वा मोबाइलबाटै सेयर खरिद-बिक्री गर्न सक्ने प्रविधि अनलाइन कारोबार हो। लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने माध्यमका रूपमा ट्रेड म्यानेजमेन्ट सिस्टम, (टीएसएस) सञ्चालनमा आएको केही समय भएको छ। 

यो माध्यमबाट लगानीकर्ताले खरिद तथा बिक्री आदेश अनलाइन मार्फत प्रविष्ट गराउन सक्छन्। ब्रोकरहरुले यो माध्यम लगानीकर्ताको कम्प्युटर, ल्यापटप, ट्याबलेट वा मोबाइल उपलब्ध गराउँछन्। अनलाइन युजर र पासवर्डका लागि एकपटक भने ब्रोकर कहाँ जानैपर्ने हुन्छ। 

सेयर बजारमा बुलिस ट्रेन्ड आएका बेला ब्रोकर अफिसमा लगानीकर्ताको निकै भीड हुने गर्दछ। त्यो समयमा ब्रोकरहरु निकै व्यस्त हुन्छन्। आफू नजिकका मान्छेबाहेक अरुका अर्डर पोष्ट गर्नै भ्याउँदैनन्। उनीहरुको प्राथमिकतामा नजिकका नातेदार, साथीभाइ र चिनजानका लगानीकर्ताहरु नै पर्दछन्। जुन स्वभाविक पनि हो। त्यसैले सर्वसाधारण लगानीकर्ताहरूले बुलिस ट्रेन्डको फाइदा उठाउनै पाउदैनन्। 

त्यसैले यदि तपाइँलाई कम्प्युटर र इन्टरनेटको अलिकति रुचि र जानकारी छ भने सेयरको खरिद-बिक्री गर्न ब्रोकरकहाँ धाइरहनु पर्दैन। घर वा अफिसमा बसी बसी, रेष्टुरेन्टमा चिया खाजा खाँदै, साथीभाइसँग गफगाफ गर्दै पनि इन्टरनेटको माध्यमबाट मोबाइल, ट्याबलेट वा ल्यापटपमार्फत अनलाइनबाट सेयर किन्न वा बेच्न सकिन्छ। यसरी कारोबार गर्दा बढी भन्दा फाइदा हुन्छ भने बुलिस वा बियरिस् ट्रेन्डको फाइदा पनि लिन सकिन्छ। 

पहिलो फाइदा, समयको बचत हुन्छ किनकी ब्रोकरकहाँ धाउने समयमा केही नयाँ सूचना वा जानकारी प्राप्त गर्न सकिन्छ। दोस्रो फाइदा, ब्रोकरकहाँ धाउने खर्च वा ब्रोकरलाई बाराम्बार फोन गर्दा हुने खर्च पनि बचत हुन्छ। तेस्रो फाइदा, आफूले भनेको समयमा भनेको मूल्यमा ब्रोकरले सेयर कारोबार नगरिदिँदाको मानसिक पीडा, झन्झट र त्यसबाट हुने आर्थिक क्षति पनि ब्योहोर्नु पर्दैन। अनलाइनमार्फत कारोबार गर्दा आफूले रोजेको कम्पनीको सेयर खरिद वा बिक्री आदेश दिने साँचो (की) आफ्नै हातमा हुन्छ र आफूले चाहेको समयमा चाहेको मूल्यमा सेयर खरिद वा बिक्री गर्न सकिन्छ। कसैलाई अनुरोध गरिराख्नु पर्दैन। जसरी ब्रोकरहरुले खरिद वा बिक्री आदेश नेप्से सिष्टममा पोष्ट गर्दछन्। त्यसैगरी हामीले पनि अनलाइन लग-इनमार्फत आफैंले सेयर खरिद वा बिक्री आदेश नेप्से सिष्टममा पोष्ट गर्न सक्दछौं।
 
सेयरको मूल्य घट्ने वा बढ्ने आधार भनेको मुख्यतः त्यस सेयरको माग वा पूर्तिमा निर्भर रहन्छ। बजारमा सेयरको मूल्यमा अस्वभाविक रुपमा उतारचढाव भइरहँदा कुनै कम्पनीको सेयर मूल्य 'ओपन प्राइस' को १० प्रतिशतसम्म घट्न र १० प्रतिशतले बढ्न सक्छ।जस्तो कि एक हजार रूपैयाँमा कारोबार खुलेको कुनै कम्पनीको सेयर मूल्य कारोबार अवधिभर करिव नौ सयदेखि ११०० रूपैयाँ सम्ममा कारोबार हुन सक्दछ। यसरी एकै दिनको कारोबारमा न्युनतम मूल्यमा खरिद गरी अधिकतम मूल्यमा बिक्री गरेर अधिकतम प्रत्यक्ष लाभ लिन पनि सकिन्छ। 

सामान्यतः बजार बियरिस् ट्रेण्डमा सेयर खरिद गर्ने हो। खरिद आदेश पोष्ट गर्नु पूर्व सिष्टममा 'मार्केट डेप्थ' हेरी छनोट गरेको सेयर मूल्यको ट्रेण्ड घट्दो भए केही समय पछिको मूल्य अनुमान गरी न्युन मूल्यमा सेयर किन्न सकिन्छ र मूल्य अझ घट्दै गए पहिल्यै पोष्ट गरिएको खरिद आदेशलाई परिमार्जन गरी पुनः मूल्य सच्याउन पनि सकिन्छ। यस्तो मूल्य परिमार्जन गर्ने सुविधा नेप्से सिष्टममा जति पटक पनि गर्न पाइन्छ। तर अन्तिम कारोबार मूल्यको २ प्रतिशतका दरले मात्र मूल्य सच्याउन सकिन्छ। 

त्यसैगरी बजार बुलिस ट्रेण्डमा हुँदा आफूसँग भएको सेयर बिक्री गर्ने हो। बढ्दो बजारमा आफूले बिक्री गर्न चाहेको धितोपत्रको अवस्था मार्केट डेप्थ, खरिद-बिक्री परिमाण, खरिद मूल्य, खरिद-बिक्रीकर्ताको संख्या, कूल स्टक परिमाण, खरिद-बिक्री भएको सेयर, कारोबार परिमाण, खुला मूल्य, अघिल्लोपटकको अन्तिम मूल्य, बढि र कम पुगेको मूल्य र अन्तिम कारोबार मूल्य लगायत अन्य सूचना र समाचार आदि हेरेर सेयर बिक्री आदेश अनलाइनमार्फत आफैंले पोष्ट गर्दा बढ्दो मूल्यलाई अनुमान गरी केही समयपछि बढ्न सक्ने मूल्य राखेर बिक्री आदेश दिन सकिन्छ। 

मूल्य अझ बढ्ने सम्भावना देखिएमा पहिले पोष्ट गरिएको बिक्री मूल्यलाई परिमार्जन गरी पुनः मूल्य सच्याउन पनि सकिन्छ, र कारोबार भएको दिनको अधिकतम मूल्यमा सेयर बिक्री गर्न सकिन्छ। यही काम ब्रोकरमार्फत गर्दा एक त बजारमा बुलिस वा वियरिस् ट्रेण्ड हुँदा ब्रोकर अफिसमा लगानीकर्ताको घुइँचो हुन्छ। त्यसमाथि ब्रोकरले आफू नजिकका लगानीकर्ताको खरिद-बिक्री आदेशलाई मात्र प्राथमिकता दिन्छन्। यसले गर्दा उनीहरूले सर्वसाधारण लगानीकर्ताको खरिद-बिक्री आदेश लिनै भ्याउदैनन् । लिइहाले भने पनि आदेश दिएको समयमा कुनै कम्पनीको सेयर कारोबार भएको अन्तिम मूल्य (लास्ट ट्रेड प्राइस/एलटीपी) वा बजार मूल्य जे हो त्यो मूल्यमा उनीहरुले सिष्टममा अर्डर पोष्ट गर्दछन्।
 
यदि ब्रोकरलाई एलटीपीभन्दा मूल्य घटाएर वा बढाएर खरिद वा बिक्री आदेश दिउँ भने उक्त सेयर आदेश दिइएको मूल्यमा खरिद वा बिक्री भए नभए पुनः दोहोर्‍याएर हेरिरहन वा मूल्य परिमार्जन गरिरहन उनीहरुलाई फुर्सद नै हुँदैन। किनकी ब्रोकरहरुले धेरैजना क्लाइन्टको सेयर खरिद वा बिक्री आदेश पोस्ट गरिरहेका हुन्छन्। जसले गर्दा कारोबार भएको दिनको न्युनतम वा अधिकतम मूल्यमा सेयर खरिद वा बिक्री गर्न सक्ने मौका गुम्दछ। 

जस्तो कि कुनै कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य एलटीपी रु १००० छ र हामीले ५०० कित्ता खरिद गर्न चाहान्छौं। उक्त सेयरको मूल्य घट्दो क्रममा पनि छ भने र ब्रोकरमार्फत खरिद आदेश दिइयो भने ब्रोकरले की त एलटीपीमै आदेश पोष्ट गर्छन् की त एलटीपीको २ प्रतिशत सम्म घटाएर अर्डर पोष्ट गर्दछन्। जुन मूल्य रु. १००० प्रतिकित्ता वा रु. ९८० प्रतिकित्तामा कारोबार हुन्छ। यसरी कारोबार हुँदा ५०० कित्ताको जम्मा लागत मूल्य रु. ४,९०,००० पर्न जान्छ भने त्यही कारोबार आफैंले अनलाइनमार्फत गर्दा १००/१०० कित्ता गरी पाँच पटकसम्म २ प्रतिशतका दरले प्रत्येक कारोबारमा मूल्य घटाउँदै खरिद गर्दा जम्मा लागत मूल्य रु ४,७०,३०० पर्न जान्छ । 

यसरी रु १९,७०० कम लागत पर्न जान्छ। यसैगरी बजार बढ्दो क्रममा पनि आफूसँग भएको सेयर ब्रोकरमार्फत बिक्री आदेश दिँदा ब्रोकरले एलटीपीको रु १०००/कित्तामै वा यदि २ प्रतिशतले मूल्य बढाउने आदेश दिएमा रु १०२०/कित्तामा बिक्री हुँदा ५०० कित्ताको जम्मा बिक्री मूल्य अधिकतम रु. ५१०००० हुन्छ । तर त्यही कारोबार आफैंले अनलाइनमार्फत गर्दा १००/१०० कित्ता गरी पाँच पटकसम्म २ प्रतिशतका दरले प्रत्येक कारोबारमा मूल्य बढाउदै बिक्री गर्दा जम्मा बिक्री मूल्य रु. ५,३०,८०० हुन्छ। यसरी ब्रोकरमार्फत भन्दा आफैंले अनलाइनमार्फत बिक्री गर्दा करिब २० देखि ३० हजारसम्म थप नाफा आर्जन गर्न सकिन्छ। सेयर बिक्री गर्दा धेरैवटा कारोबार बनाइ अधिकतम मूल्यमा बिक्री गर्दै जाने हो भने बढी भन्दा बढी नाफा कमाउन सकिन्छ । 

अतः आफ्नो इच्छाअनुसार अनलाइनमार्फत सेयर खरिद वा बिक्री गर्ने सक्ने क्षमता आफूसँग भयो भने तेस्रो पक्षलाई गुहार्नु पर्ने झन्झटमा मुक्त पनि भइन्छ। आधुनिक र नविनतम प्रविधिको प्रयोग गर्दा आफूमा आत्मविश्वास पनि बढ्छ भने कार्य शैलीमा स्मार्टनेसको अनुभूति हुन्छ। अरुभन्दा आफूलाई अलि फरक, स्मार्ट लगानीकर्ताको वर्गमा देख्न सकिन्छ । 
अतः अबको बुलिस बजारमा भने सेयरको खरिद बिक्री स्मार्ट तरिकाले आफैंले अनलाइन मार्फत गरौं र अरुभन्दा अधिकतम नाफा आर्जन गर्न सफल बनौं ।