आर्थिक ऐनमै टेकेर जिओले फोर्ड गाडी बंगलादेश निकासी गर्न पाउने, अर्थमन्त्रालय सहजीकरण गर्न तयार

बिजमाण्डू
२०७६ माघ १३ गते २०:५३ | Jan 27, 2020
आर्थिक ऐनमै टेकेर जिओले फोर्ड गाडी बंगलादेश निकासी गर्न पाउने, अर्थमन्त्रालय सहजीकरण गर्न तयार

Tata
GBIME
Nepal Life

काठमाडौं। जिओ अटोमोबाइलले भारतीय फोर्ड गाडी नेपाल ल्याएर बंगलादेश निकासी गर्न पाउने भएको छ। आर्थिक ऐनमै स्पष्ट व्यवस्था भएकाले गाडी बंगलादेश निकासीका लागि अर्थमन्त्रालयबाट अनुमति लिनु नपर्ने भएको हो।

फोर्ड गाडीको नेपालको आधिकारिक बिक्रेता जिओले दुई साताअघि भारतको चेन्नइ र गुजरातबाट फोर्ड ब्राण्डको गाडी नेपाल ल्याएर बंगलादेश निकासी गर्न अर्थसचिव शिशिर ढुंगानालाई सम्बोधन गर्दै पत्र लेखेको थियो। यो पत्र आएपछि राजस्व व्यवस्थापन महाशाखामा छलफल हुँदा आर्थिक ऐनमा कुनैपनि सामान विदेशबाट ल्याएर निकासी गर्न पाउने स्पष्ट व्यवस्था रहेकोले अनुमति दिनु नपर्ने निष्कर्ष निकालिएको हो।

ऐनको दफा २२ अन्तर्गत विविध शीर्षकमा नेपालको अन्य राष्ट्रहरुसँग भएको द्विपक्षीय वा बहुपक्षीय सम्झौता प्रतिकूल नरहने गरि नेपालमा पैठारी भएका मालवस्तुहरु निर्यात गर्न दिइने उल्लेख छ। यही व्यवस्था हेरेर अर्थले अनुमति दिनुनपर्ने निष्कर्ष निकालेको हो।

मन्त्रालय स्रोतका अनुसार गाडी निकासीका लागि सहजीकरण गर्नेसम्मको छलफल भएको थियो। मन्त्रालयका एक अधिकारीका अनुसार ऐनमा व्यवस्था भए अनुसार अर्थसँग राय सुझाव लिन सक्छ, तर अनुमति वा सहमति नै लिनुपर्छ भन्ने छैन।

यस्तो छ आर्थिक ऐनमा व्यवस्था

ऐनको दफा २२ अन्तर्गत विविध शीर्षकमा नेपालको अन्य राष्ट्रहरुसँग भएको द्विपक्षीय वा बहुपक्षीय सम्झौता प्रतिकूल नरहने गरि नेपालमा पैठारी भएका मालवस्तुहरु निर्यात गर्न दिइने उल्लेख छ।

यसरी पैठारी भएको सवारी ६ महिनाभित्र अर्को देशमा निर्यात सक्नु पर्नेछ। यस्ता वस्तुमा लाग्ने भन्सार महसुल अग्रिम रूपमा सम्बन्धित कार्यालयमा पेश गर्नुपर्नेछ। व्यवसायीले निर्यात गरी एक महिनाभित्र आयात गर्दाको प्रमाणपत्र र निर्यात गर्दाको प्रमाणपत्र पेश गरी १० प्रतिशत महसुल कट्टा गरी बाँकी भन्सार महसुल फिर्ता लिन सक्नेछ।

यसैगरी व्यवसायीहरुले मालवस्तुहरु बैंकिङ प्रक्रिया मार्फत भुक्तानी हुनेगरी निकासी गर्न चाहेमा सो मूल्यमा १० प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी बापतको विदेशी मुद्रा अग्रिम रुपमा प्राप्त भइसकेको प्रमाण पेश गरेमा निकासी गर्न दिइनेछ।  तर पैठारी भएको दुई वर्षपछि सवारी वा अन्य सामाग्री निर्यातमा यो प्रकृतिको सुविधा प्राप्त गर्ने छैन।

कसरी निकासी गर्छ ?

जिओले भारतको चेन्नइ र गुजरातबाट फोर्ड ब्राण्डको सवारी नेपालको भन्सार कार्यालयमा केही समय राख्नेछ। यसरी आयात गरिएको सवारीलाई कम्पनीले आवश्यक कागजात तयार गरी बंगलादेश निर्यात गर्नेछ। तर सो सवारी नेपाल भने भित्रिने छैन।

यसैगरी कम्पनीले नेपालको भन्सार कार्यालयसम्म आयात गरी नेपाल नभित्र्याई निर्यात गर्दा आयात तथा निर्यात शुल्क नलाग्ने गरी भन्सार कार्यालयमा व्यवस्था मिलाइदिनुपर्नेछ।

कम्पनीको दाबी यस्तो थियो

भारतबाट सवारीसाधन आयात गर्दा भारतीय मुद्रामा जारी भई आउने बिलमा अतिरिक्त ५ प्रतिशत थप हुनेछ। यस्तै बंगलादेशतर्फ अमेरिकी डलरमा भुक्तानी हुनेछ।

यसले मुलुकभित्र विदेशी मुद्राको सञ्चिती समेत बढ्ने कम्पनीको दाबी छ। यस्तै आयात-निर्यातको सबै आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्ने र त्यसबाट बैंकहरू समेत लाभान्वित हुने कम्पनीको दाबी छ।

कम्पनीले पहिलोपटक सवारी दोस्रो मुलुकबाट खरिद गरी तेस्रो मुलुक निर्यात गर्ने योजना बनाएको हो। यो योजना सफल भएमा अन्य देशमा पनि सवारी निर्यात गर्न सकिने कम्पनीले दाबी गरेको छ।