नागरिक लगानी कोषलाई पुँजी बजारमा लगानी बढाउन मार्ग प्रशस्त, ‘मार्केट मेकर’को काम गर्ने

रासस
२०७६ माघ १३ गते १६:३८ | Jan 27, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई पुँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताएका छन्।

कोषले सहायक कम्पनीमार्फत पुँजीबजारमा लगानी बढाउने र त्यसले बजार विस्तारका अतिरिक्त सुदृढीकरणमा समेत काम गर्ने विश्वास व्यक्त गरे। संघीय संसदको अर्थ समितिको सोमबारको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा अर्थमन्त्री डा. खतिवडाले कोषको सहायक कम्पनी स्थापना गरी पुँजीबजारमा लगानी बढाउने तयारीमा सरकार अगाडी बढेको स्पष्ट पारे।

छलफलमा अर्थमन्त्रीले कोष मुद्रा बजारको संस्था नभई पुँजी बजारको संस्था भएको उल्लेख गर्दै ‘मार्केट मेकर’ अत्यावश्यक भएकाले पनि त्यसतर्फ केन्द्रीत हुन लागेको बताए। अर्थमन्त्रीले भने, 'सहायक कम्पनीमार्फत कोषले पुँजी बजारमा मार्केट मेकरको काम गर्छ । त्यसका लागि कोषको पुँजी तीन अर्ब पर्याप्त छ।'

लगानीकर्ताको हितका लागि स्थापना गरिएको कोष वाणिज्य बैंक जस्तो नरहेको र ट्रष्टी पनि नभएको उनको भनाइ थियो। उनले कोष सामान्य नाफामूलक सार्वजनिक संस्था भएको र संकलन गरिएको रकमको सुरक्षित लगानी गर्ने निकाय मात्रै भएको जानकारी दिए।

 'कोष वाणिज्य बैंक जस्तो नाफा कमाउने संस्था त होइन, तर लगानी सुरक्षित भने हुनुपर्छ । त्यसकाकारण यसलाई अन्य नाफामूलक संस्था जसरी तुलना गरिनु उपयुक्त हुँदैन,' उनले भने। उनले नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई सामाजिक सुरक्षा कोषसँग मेल खाने गरी कुनै पनि प्रकारको योजना नल्याउनसमेत निर्देशन दिए।

कर्मचारी सञ्चयकोषका अध्यक्ष समेत रहनुभएका राजस्व सचिव शिशिरकुमार ढुंगानालाई निर्देशन दिँदै उनले भने, 'कर्मचारी सञ्चयकोषको अध्यक्ष पनि यहीँ हुनुहुन्छ। सकेसम्म सामाजिक सुरक्षा कोषसँग मिल्ने गरी कुनै पनि योजना नल्याउनुस्।'

समितिको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफल जारी छ। सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावमाथि नियमित छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।