भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ९०% तयार, रुग्ण आयोजनामा कसरी आयो सुधार ?

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ माघ १३ गते १३:५५ | Jan 27, 2020
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ९०% तयार, रुग्ण आयोजनामा कसरी आयो सुधार ?

Tata
GBIME
Nepal Life

काठमाडौं। विभिन्न राजनैतिक हस्तक्षेपले रुग्ण रहेको मानिएको राष्ट्रिय गौरव आयोजना अन्तर्गतको भैरहवाको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ।

निर्माण सम्पन्न हुन अन्तिम चरणमा रहेको यो आयोजनामा कुनै पनि हालतमा पूर्ण विराम नलाग्ने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए। एडीबीको ऋण सहयोगको यो परियोजनाको निर्माण चिनियाँ कम्पनी सीएएमसीले गरिरहेको छ। 'निर्माता कम्पनीले अब प्रोजेक्ट बीचैमा छाड्ने नियत देखिएको छैन,' उनले भने, 'अहिलेको अवस्थामा प्रोजेक्ट छोड्दा निर्माता कम्पनी थप घाटामा जाने भएकाले पूरा हुने अवस्थामा छ।' 

आवश्यक सबै उपकरण आइसकेको र स्ट्रक्चरका कामहरू लगभग पूरा भएको उनले बताए। 'फिनिसिङमा ग्रेनाइडको काम भइरहेको छ। उपकरण जडानको काम प्यारलली अगाडि बढिरहेको अवस्था छ,' आयोजना प्रमुख अधिकारीले भने, 'हामीसँग बैंक ग्यारेन्टीका कुरा छन्। यसमा इन्टरनेशनल गुडविल पनि छ।' निर्माण बीचैमा छाड्दा ठेकेदार कम्पनी एडीबीले फण्डिङ गरेका अन्य परियोजनामा पनि कालोसूचीमा पर्नसक्ने जोखिमलाई ध्यानमा राख्दै यहाँ नियमित काममा जुटेको उनले बताए।

 
'म्याद थप हुँदैमा विमानस्थल सञ्चालनमा आउँछ भन्ने हुँदैन। सुरुमा ६ महीना म्याद थप गर्दा विमानस्थलको निर्माण प्रगति २७ प्रतिशतमात्र थियो। थपिएको म्याद भित्रै विमानस्थल सञ्चालनमा आउँछ भन्ने सोच राख्नु स्वभाविक हो,' काम छिटो पूरा गर्न दबाब दिन निर्माता कम्पनीलाई पटक पटक म्याद थप्दै आएको बताउँदै आयोजना प्रमुख  अधिकारीले भन्छन्, 'तर हामीले एकैपटक म्याद थपेनौँ। पटक पटक म्याद  थप्नुको मूल उद्देश्य भनेको निर्माता कम्पनीलाई प्रेसराइज्ड गर्नु हो।'

 
डिसेम्बर २०१७ सम्म २७ प्रतिशतको निर्माण प्रगति रहेको यो आयोजनामा पछि सन् २०१९ जुन २८ देखि दोस्रो म्याद थप गरिएको थियो। त्यसपछि सन् २०१९ डिसेम्बर ३० सम्म तेस्रो म्याद थप गरिएको थियो। अहिले २०२० मार्च सम्मका लागि म्याद थप गर्ने योजना छ। 
'यो आयोजनामा धेरै क्रिटिकल फेज हामीले फेस गरेका छौँ। अहिले सिभिलतर्फ मुख्य भौतिक संरचना करिब करिब तयारी हुने अवस्थामा छ। अहिले स्ट्रक्चर बनिसकेपछिको फिनीसिङका कामहरु भइरहेको छ,' उनले भने, 'टर्मिनल बिल्डिङ भित्रको नआएको उपकरण भनेको ब्यागेज ह्याण्डलिङ सिस्टममात्रै हो। अरू आवश्यक उपकरणहरू प्राय आइसकेका छन्।'

 
धावनमार्ग, ट्याक्सी-वे र एप्रोनको सिभिलतर्फका काम लगभग सकिएको छ। अब विद्युतिय काम बाँकी छ । यसमा पनि केबुल र हाइटेन्सन लगायतको काम भइसकेको छ। लाइट फिक्सर्सको कामका लागि प्राविधिक टोली चीन गइसकेको जानकारी उनले दिए। 'जनवरी २०१८ देखि यो आयोजनाको प्रोग्रेस हेर्दै जाने हो भने अहिलेको अवस्थामा हामी करिब सेड्युलमा छौँ।अहिलेको प्रगति भनेको ८६ प्रतिशत काम सम्पन्न भएको छ,' उनले भने, 'हामीले तोकेकै समयमा काम सक्नुपर्ने हो। त्यसमा हामीलाई छुट हुँदैन। सबैले आ-आफ्नो गल्ती महसुस गर्नुपर्छ।'

अब के छ चुनौती ?
अबको मुख्य काम भनेको उपकरण जडान रहेको आयोजना प्रमुख अधिकारी बताउँछन्। यसका लागि दुई अर्बभन्दा बढी रकम खरिदका लागि खर्च हुने अनुमान छ। पछिल्लो समयमा ठेकेदार कम्पनीले सामान समयमा ल्याउन नसक्दा समस्या आएको थियो। 'सम्झौताअनुसार एउटै कन्ट्रयाक्टमा अर्बौंको उपकरणको प्याकेजभित्रै समावेश गरिएको छ। जसरी निर्माणका काम हुन्छन् त्यसैगरी बिल भुक्तानी गर्ने प्रवधान बनाइएको छ,' प्रमुख अधिकारीले भने, 'मुख्य अहिलेको चुनौती नै यही हो। उपकरणको पाटो छुट्टै कम्पनीलाई दिन सकेको भए बेलैमा ल्याउने काममा जटिलता हुँदैनथ्यो होला। अब आगामी मार्च अन्तिमसम्म सञ्चालन योग्य पूर्वाधार तयार हुनेछ।'

 
उनका अनुसार मुआब्जावापत हालसम्म २३ अर्ब ५९ करोडमध्ये २१ अर्ब रूपैयाँ वितरण भइसकेको छ।  चालु आर्थिक वर्ष डेढ अर्ब रुपैयाँ बाँडिएको छ। चिनियाँ कम्पनीलाई ६ अर्ब ८२ करोड रुपैयाँमा यो आयोजना ठेक्का दिइएको हो। मुआब्जा र कार्गो बिल्डिङ लगायतका क्षेत्रमा नेपाल सरकारको लगानी रहेको उनले बताए।

विमानस्थल निर्माणका लागि कुल आठ सय १० विघामध्ये करिब पाँच सय विघा जग्गा अधिग्रहण गरिएको छ। ६२५ घरधुरी विस्थापित भएको छ भने २ हजार ३ सयजना मुआब्जाको हकदार छन्।

 
सन् २०७१ मा तात्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो विमानस्थलको निर्माण सम्पन्न अवधि  सन् २०१७ राखिएको थियो। तर स्थानीय र निर्माता कम्पनी बीचको किचलोले आयोजना रुग्ण अवस्थामा पुगेको थियो।