स्प्रेडको सुत्र पुनरावलोकन किन आवश्यक ? बैंकर्स संघले पत्र लेख्दै भन्यो- भोलि विकृति आउँछ

बिजमाण्डू
२०७६ माघ १३ गते १०:२२ | Jan 27, 2020
स्प्रेडको सुत्र पुनरावलोकन किन आवश्यक ? बैंकर्स संघले पत्र लेख्दै भन्यो- भोलि विकृति आउँछ


काठमाडौं। निरन्तर नाफा घट्न थालेपछि बैंकहरुले फेरि ब्याज दर अन्तर गणना विधि (स्प्रेड दर) पुनरावलोकन गर्न राष्ट्र बैंकलाई पुकारेका छन्। अघिल्लो साता अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत उनीहरुले स्प्रेड पुनरावलोकन गरिनु पर्ने बताएका थिए।

Tata
GBIME
Nepal Life

अर्थमन्त्रीले बाँकी सबै समस्याको गाँठो फुकाउने आश्वासन दिएपनि स्प्रेडका बारेमा भने सहमत भएनन्। उनले अहिले पनि १५ प्रतिशतको प्रतिफल राम्रो भएको भन्दै बैंकहरुलाई जवाफ दिएका थिए।

त्यहाँबाट फर्किएपछि बैंकरले राष्ट्र बैंकलाई पत्र लेख्दै स्प्रेड गणना विधि पुनरावलोकनका लागि आग्रह गरेका हुन्। बैंकरले गत शुक्रबार तीनवटा पत्र पठाएका छन्। त्यसमध्ये स्प्रेडसँग सम्बन्धि छुट्टै पत्र छ।

बैंकर्स संघले लामो भूमिका बाँधेर किन स्प्रेडको गणना विधि पुनरावलोकन गर्नु पर्छ भन्ने तर्क राखेका छन्। उनीहरुले खर्चको विषयलाई प्राथमिकताका साथ उठाएका छन् भने जोखिमको विषयलाई दोस्रो बुँदाका रूपमा उठान गरेका छन्। तेस्रो बुँदामा उनीहरुले आगामी दिनमा विकृति आउन सक्ने भन्दै सचेत पनि गराएका छन्।

के छ पत्रमा ?
'बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्रमा पुर्‍याउँदै आएको योगदानको बारेमा राष्ट्र बैंकलाई अवगतै छ,' पत्रमा भनिएको छ, 'पछिल्ला वर्षहरूमा भएको उच्च आर्थिक वृद्धि दर तथा विश्व बैंकले प्रकाशित गरेको डुइङ बिजिनेस इन्डेक्समा वित्तीय क्षेत्रको र्‍यांक आदिलाई हेर्दा समेत मुलुकको प्रगतिमा वित्तीय क्षेत्रको योगदान महत्वपूर्ण रहेको देखिन्छ।'

बैंकरले पत्रमा वित्तीय स्वास्थताको हिसाबले समेत दक्षिण एसियामा नेपालको बैंकिङ अग्रस्थानमा रहेको उल्लेख गर्दै नेपालमा संस्थागत सुशासन राम्रा भएका केही सीमित क्षेत्रहरूमध्ये बैंकिङ क्षेत्र पनि पर्ने र यी उपलब्धहरू नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन तथा सुपरिवेक्षण र बैंकहरूको मेहेनतका कारण सम्भव भएको चर्चा गरेका छन्।

'बैंकहरुबीच तीव्र प्रतिस्पर्धाका कारण बैंकहरुको ब्याजदर अन्तर र सेवा शुल्कहरू निरन्तर घट्दो क्रममा छ। स्थानीय तहहरूमा खोलिएका धेरै शाखाहरू घाटामा छन्,' पत्रमा छ, 'क्लिक बैंकिङमा लग्न इन्फर्मेसन टेक्नोलोजीमा बैंकहरूले लगानी बढाउँदै लगेका छन्। बढ्दो आइटी जोखिमलाई न्यूनीकरण गर्न इन्फर्मेसन सेक्युरिटी खर्च पनि बैंकहरूको बढिरहेको छ। साथै कर्मचारी तालिम तथा अन्य खर्च पनि बढ्दो क्रममा छ।' 

बैंकरले एएमएल/सीएफटी लगायका कम्प्ल्यान्स (अनुपालन) का लागि विभिन्न देशबाट महँगोमा सफ्टवेयर लिनु परेको विषय उल्लेख गर्दै यस्ता विविध कारणहरूले गर्दा बैंकहरूको प्रतिफल घट्दै गएको तर्क अगाडि सारेका छन्।

'आर्थिक वर्ष २०६९/७० मा बैंकहरूको औषत प्रतिफल (आरओइ) २४.४२ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५/७६ मा घटेर १७ प्रतिशतभन्दा पनि कम भइसकेको छ,' पत्रमा भनिएको छ, 'आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासमा यो १५ प्रतिशतभन्दा तल पुगेको छ।'

ब्याज दर गणना सुत्रमा गरिएको परिवर्तनले गर्दा आगामी आर्थिक वर्षदेखि बैंकहरू खुद ब्याज आम्दानी २५ प्रतिशत हाराहारीले घट्न जाने बैंकरले तर्क गरेका छन्। यही कारण प्रतिफल (आरओइ) १०/११ प्रतिशतमा झर्ने बैंकर्सको दाबी छ। 

'आगामी दिनको चुनौतीहरू सामना गर्न, बैंकिङ क्षेत्रलाई थप सबल र सुदृढ बनाउनु पर्ने समयमा प्रतिफल १० प्रतिशत हाराहारीमा मात्र रहन गयो भने हालको अवस्थामा स्खलन आइ विभिन्न बिकृतिहरु बैंकिङ क्षेत्रमा भित्रिन सक्छन्,' पत्रमा उल्लेख छ।

तीव्र प्रतिस्पर्धाको कारण स्वत ब्याजदर अन्तर घट्दै गएको परिप्रेक्षमा राष्ट्र बैंकबाट ब्याजदर गणनाको सुत्र परिवर्तन गरिनु बैंकहरुका लागि थप पीडादायक हुने संघले पत्रमा उल्लेख गरेको छ। 

त्यसैले ब्याजदर अन्तर गणना सुत्रमा इन्ट्रेस्ट अर्निङ एसेट (ऋण र लगानीको जोड) तथा इन्ट्रेस्ट बियरिङ लाइविटिज (निक्षेप र ऋणपत्रको जोड) समावेश गरिदिन संघले माग गरेको छ। 

यसअघि गणना विधिमा विभिन्न ऋणपत्रमा गरिएको लगानीलाई पनि जोड्न पाइन्थ्यो। राष्ट्र बैंकले त्यसलाई खारेज गर्दै निक्षेप र ऋणको अन्तरलाई मात्र स्प्रेड मान्ने ब्यवस्था गरेको छ। बैंकरले पुरानो सुत्र अनुसार ५ प्रतिशत हुने स्प्रेड नयाँ सुत्रमा आउँदा साढे ३ प्रतिशतमा झर्ने हिसाब अगाडि सारेका छन्। साढे ३ प्रतिशतमा पनि दुईदेखि साढे २ प्रतिशत विभिन्न खर्चमा जान्छ। बच्ने एकदेखि डेढ प्रतिशत मात्र भएको उनीहरुको तर्क छ। त्यही भएर स्प्रेड गणना विधि सच्याउन भूमिकासहित संघले राष्ट्र बैंकलाई पत्र लेखेको हो।