८ भारतीयको मृत्यु : केरलाका मुख्यमन्त्रीको पत्र जयशंकरलाई, ‘नेपालले क्षतिपूर्ति देओस्’

बिजमाण्डू
२०७६ माघ १२ गते २०:४४ | Jan 26, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। केरलाका मुख्यमन्त्री पिनारायी विजयनले गत मंगलबार मकवानपुरको एभरेस्ट पानारोमा होटलमा आठजना भारतीयको मृत्यु हुने गरी भएको घटनाको छानविन हुनुपर्ने माग गरेका छन्।

भारतका विदेशमन्त्री एस जयशंकरलाई पत्र लेख्दै विजयनले मृत्युको अनुसन्धान गर्न नेपाल सरकारलाई आग्रह गर्न भनेका हुन्। यस्तै उनले नेपाल सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन्।

गत मंगलवार राति मकवानपुरको एभरेस्ट पानारोमा होटलको कोठमा ग्यास हिटरमा गुम्सिएर दुई परिवारका आठजना भारतीयको मृत्यु भएको थियो। नेपाल घुम्न आएका ती सबैजना केरलाका थिए।

पत्रमा कोठामा रहेको उपकरणको खराबीका कारण आठ जनाको मृत्यु भएको उल्लेख गर्दै विजयनले होटलको व्यवस्थापकीय कमजोरीका कारण उक्त घटना घटेको हुन सक्ने दाबीसमेत गरेका छन्।

उनले जयशंकरलाई नेपाल सरकारलाई यस विषयमा गम्भीर ढंगले छानबिन गर्न आग्रह गर्नसमेत उल्लेख गरेका छन्।

राति हिटर बालेर सुतेका आठजना भारतीयको कोठामा अक्सिजनको कमीले मृत्यु भएको अनुमान गरिएको छ। यद्यपि, घटनाबारे विस्तृत रिपोर्ट सार्वजनिक भइसकेको छैन।

नेपाल सरकारले मकवानपुरमा भएको उक्त घटनाको छानबिन गर्न समिति गठन गरिसकेको छ। पर्यटन विभागको होटल शाखाले निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा बुधबार पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।