बोइङले ल्यायो विश्वकै ठूलो ट्वीन इन्जिन जहाज, दुई ठूला दुर्घटनापछि गुमेको साख फिर्ता पाउला?

बिजमाण्डू
२०७६ माघ १२ गते १४:३६ | Jan 26, 2020

Tata
GBIME
Nepal Life

बोइङले विश्वकै ठूलो ट्वीन इन्जिन भएको प्लेन ७७७ एक्सको सफल उडान गरेको छ।

गत वर्ष भएका दुई ठूला दुर्घटनापछि ग्राउन्डेड भएको म्याक्स ७३७ प्लेनपछि आफ्नो छवि सुधार्न कम्पनीले नयाँ '७७७ एक्स' जहाज ल्याएको हो।

सियाटलबाट भएको चार घण्टा लामो पहिलो उडान सफल भएपछि यसले थप परीक्षणहरू गर्ने बताइएको छ। अर्को वर्ष इमिरेट्स मार्फत यसले नियमित उडान सुरू गर्ने बताइएको छ।

यसै वर्ष लञ्च गर्ने भनिएपनि जहाजमा केही प्राविधिक कठिनाइ देखिएका कारण यसको लञ्च अर्को वर्षका लागि सरेको हो। नयाँ ७७७ एक्स प्लेन बोइङको सफल भर्सन ७७७ मिनी जम्बो भन्दा ठूलो र थप प्रभावकारी भएको कम्पनीले जनाएको छ।

इमिरेट्सले मात्रै ११५ वटा नयाँ जहाज किन्ने सम्झौता गरिसकेको छ। यस्तै कतार एयरवेजले ६० वटा जहाजका लागि अर्डर गरिसकेको बताइएको छ। एयर लुफ्थान्सा, क्याथे प्यासेफिक, निप्पोन एयरलाइन्स र सिंगापुर एयरलाइन्सले पनि नयाँ जहाज किन्नका लागि अर्डर  गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसमा विश्वकै ठूलो कमर्सियल इन्जिन प्रयोग भएको र फोल्डिङ विङ टिप समेत छ।
'कम्पनीका हिसाबले गर्नुपर्ने सबै उत्कृष्ट संयोजनलाई यस जहाजले प्रतिनिधित्व गर्छ,' ७७७ एक्सका मार्केटिङ डाइरेक्टर वेन्डी सावर्सले भने।
बोइङका अनुसार २५२ फुट लामो यो जहाजमा ३६० प्यासेन्जरले आरामले यात्रा गर्न सक्छन्।

कम्पनीले यो मोडलको तीन सय नौ वटा बिक्री भइसकेको जनाएको छ। एउटा ७७७ एक्सलाई ४४ करोड २० लाख डलरभन्दा बढी पर्ने कम्पनीले जनाएको छ।

पोहोर पाँच महिनाको अन्तरालमा भएका दुई ठूला ७३७ म्याक्स दुर्घटनापछि बोइङ संकटमा छ। इन्डोनेशिया र इथियोपियामा भएका ठुला दुर्घटनापछि गुमेको बोइङको साखलाई फिर्ता ल्याउन नयाँ जहाज महत्वपूर्ण हुने बताइएको छ।

हाल ग्राउण्डेड रहेको म्याक्स ७३७ बोइङको बेस्ट सेलिङ प्लेनका रूपमा बिक्री भइरहेको थियो। यो जहाज ग्राउण्डेड भएकै कारण बोइङलाई ९ अर्ब डलर घाटा भइसकेको छ।