बिजुली सस्तो बनाउन गृहकार्य, महसुल दर उल्ट्याइँदै, कति युनिट प्रयोग गर्दा कति तिर्नु पर्छ? 

बिजमाण्डू
२०७६ माघ १२ गते १४:२० | Jan 26, 2020
बिजुली सस्तो बनाउन गृहकार्य, महसुल दर उल्ट्याइँदै, कति युनिट प्रयोग गर्दा कति तिर्नु पर्छ? 



काठमाडौं। अहिले हामीले तिर्ने विद्युतको औसत महसुल दर १० रूपैयाँ हाराहारी छ। सबैभन्दा थोरै खपत गर्ने ग्राहकले प्रतियुनिट ३ रूपैयाँ तिर्नुपर्छ भने धेरै विद्युत खपत गर्ने ग्राहकले प्रतियुनिट १३ रूपैयाँसम्म महसुल तिर्नुपर्छ।

Tata
GBIME
Nepal Life

यो लोडसेडिङ व्यवस्थापनका लागि तय गरिएको महसुल दर थियो। प्रणालीमा थोरैमात्र विद्युत आपूर्ति हुँदा सबैले बत्ती मात्रै बालुन् र धेरै विद्युत खपत गर्ने उपकरण नचलाउन् भन्ने उद्देश्यले धेरै विद्युत खपत गर्दा धेरै महसुल तिर्नुपर्ने गरि महसुल दर निर्धारण गरिएको थियो।

तर अहिले अवस्था उल्टो भइसकेको छ। प्रणालीमा मागभन्दा बढी विद्युत आपूर्ति हुँदैछ। मागभन्दा आपूर्ति धेरै हुनेबित्तिकै मूल्य घट्ने अर्थशास्त्रको सिद्धान्त विद्युत प्राधिकरणमा पनि लागू भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए।

अहिले थोरै विद्युत खपत गर्नेले प्रतियुनिट ३ रूपैयाँ तिर्नुपर्छ भने अब प्रस्ताव गर्न लागिएको मूल्यमा १० युनिटमात्रै खपत गर्ने अति विपन्न वर्गलाई निःशुल्क विद्युत दिने तयारीसमेत गरिएको छ। अन्य ग्राहकको हकमा शून्यदेखि १० युनिटको मूल्य सबैभन्दा बढि तय गरिने छ। ११ देखि २० युनिटसम्म खपत गर्नेबित्तिकै दोस्रो १० युनिटको मूल्य घटिसकेको हुनेछ।

२१ देखि ३० युनिट विद्युत खपत गर्दा तेस्रो १० युनिटको मूल्य थप घटिसकेको हुनेछ। ३१ देखि ५० युनिटसम्म खपत गर्दा २० युनिटको मूल्य थप घटिसकेको हुनेछ।

५१ देखि सय युनिटसम्म विद्युत खपत गर्दा ५० युनिट विद्युतको मूल्य थप घटिसकेको हुनेछ। घरायसी प्रयोजनामा मात्रै बिजुली उपयोग गर्ने उपभोक्तालाई पनि कम्तिमा २०० देखि ४०० युनिटसम्म विद्युत खपत गराउने गरि प्राधिकरणले नयाँ महसुल दर सिफारिस गर्न लागेको प्राधिकरणले जनाएको छ।

पहिले घरायसी उपभोक्ताले ५० युनिटभन्दा बढि खपत नगरुन् भन्ने उद्देश्यले ५० युनिटसम्मको ८.५ रूपैयाँ महसुल तोकिएको थियो भने ५१ देखि १५० युनिटसम्मको प्रतियुनिट १० रूपैयाँका दरले महसुल निर्धारण गरिएको थियो। यसको अर्थ ५० युनिटमात्रै विद्युत खपत गरेर सस्तो विद्युत खपत गर भन्ने सन्देश प्राधिकरणले दिएको थियो।

तर अब सिफारिस गर्न लागिएको महसुल दरमा ५० युनिटसम्म पाँचपटक मूल्य घटाउने गरि वर्गिकरण गरिएको छ भने त्यसपछि पनि ५०/५० युनिटको फरकमा मूल्य घटाउने गरि वर्गिकरण गरिएको छ। यसले गर्दा घरायसी उपभोक्तालाई बढि विद्युत खपत गरेर थोरैमात्र बढि पैसा तिर्न उत्प्रेरित गर्ने छ।

अहिले सय युनिट विद्युत खपत गर्ने पाँच एम्पियर मिटर क्षमताका प्रयोगकर्ताले कम्तिमा ८०० रूपैयाँ महसुल र सेवा शुल्कस्वरुप सय रूपैयाँसमेत गरेर ९०० रूपैयाँ तिर्नुपर्छ। ६० एम्पियर क्षमताको मिटर राख्ने ग्राहकले त झन २०० रूपैयाँ सेवा शुल्क गरि एक हजार रूपैयाँसम्म महसुल तिरिरहेका छन्।

तर अब एक हजार रूपैयाँमा कम्तिमा १५० देखि २०० युनिटसम्म विद्युत खपत गर्न सक्नेगरि महसुल दर निर्धारण गर्ने प्राधिकरणको तयारी छ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले अहिलेको मूल्यभन्दा थप सस्तो हुने गरि अधिकतम मूल्य तोक्न प्राधिकरणलाई निर्देशन दिइसकेका छन्। स्रोतका अनुसार अहिलेको अधिकतम महसुल दर प्रतियुनिट १३ रूपैयाँलाई  प्रतियुनिट १० रूपैयाँ सम्ममा सीमित गर्नेगरि निर्धारण गर्न प्राधिकरणमा छलफल चलिरहेको छ।

अधिकतम मूल्य १० रूपैयाँ र विद्युत खपत बढाउँदै जाँदा मूल्य घट्दै जाने भएकाले प्रतिवर्ग ५० पैसादेखि १ रुपैयाँसम्मै मूल्य घट्दै जाने छ।

एक रूपैयाँका दरले मूल्य घटाउँदा ४०० युनिटभन्दा बढि खपत गर्ने ग्राहकले प्रतियुनिट ३ रुपैयाँ सम्ममा विद्युत पाउने छन्। प्रतिवर्ग ५० पैसा मात्रै मूल्य घटाउँदै जाँदा भने ४०० युनिटभन्दा बढि विद्युत खपत गर्नेले ५ रूपैयाँ हाराहारी मूल्य तिर्नुपर्ने छ। ऊर्जा मन्त्री पुनले घरायसी ग्राहकलाई ८ वर्गमा विभाजन गरि महसुल निर्धारण गरिने बताएका छन्।