सामाजिक सुरक्षा कोषमा बैंकर्स संघले असहमति राख्दा सिभिल बैंक दर्ता भयो, ४८ करोड जम्मा

बिजमाण्डू
२०७६ माघ १२ गते १३:४३ | Jan 26, 2020
सामाजिक सुरक्षा कोषमा बैंकर्स संघले असहमति राख्दा सिभिल बैंक दर्ता भयो, ४८ करोड जम्मा


काठमाडौं। सामाजिक सुरक्षा कोष योजनामा एक लाख ४० हजार ६ सय ९ जना श्रमिक तथा कर्मचारी आबद्ध भएका छन्। हालसम्म कोषमा १२ हजार ७९ वटा रोजगारदाता संस्था आबद्ध भएका हुन्।

Tata
GBIME
Nepal Life

दोहोरो कर छुटको माग राख्दै बैंकर लगायत निजी क्षेत्रका दर्जनभन्दा बढी व्यवसायिक प्रतिष्ठानहरू कोषमा आबद्ध हुन नमानिरहेका बेला सिभिल बैंक भने केही दिनअघि मात्रै आबद्ध भएको हो। 

अहिलेसम्म लक्ष्मी, प्राइम, प्रभु, एनसीसी, मेगा र ग्लोबल आइएमइ बैंक कोषमा आबद्ध थिए। विवाद आउनुअघि नै यी संस्था आबद्ध भएका थिए। विवादपछि कोषमा दर्ता हुन बैंकहरू गएका थिएनन्। अहिले अचानक सिभिल बैंक आबद्ध भएको हो।

'भर्खरै सिभिल बैंक आबद्ध भएको छ,' कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले भने, 'बैंकरले राखेका केही माग सम्बोधनका लागि मन्त्रीपरिषद् पुगिसकेको छ। त्यहाँबाट निर्णय भएपछि बाँकी पनि आउने छन्।'

अहिलेसम्म ४८ करोड रूपैयाँ कोषमा जम्मा भइसकेको उनले जानकारी दिए।

बैंकबाहेक अहिले सूचीकृत हुने रोजगारदाता कम्पनीहरुमा नेपालका ठूला व्यवसायिक घरानाहरु अगाडि देखिएका छन्। चौधरी ग्रुप, गोल्छा अर्गनाईजेसन, डाबर नेपाल, सूर्य नेपाल,शिवम् सिमेन्ट, युनिलिभर र जीफोरएस सहितका कम्पनी कोषमा दर्ता भएका छन्।

नेपाल मेडिकल कलेज, किरण सुज (गोल्डस्टार), सोल्टी होटल, मेरियट होटल, शंकर ग्रुप र यति डिष्टिलरी लगायतका कम्पनी पनि आबद्ध भएका छन्।