रेमिटेन्स एजेण्ट नियुक्तिमा कडाइपछि राष्ट्र बैंकलाई बैंकरको पत्र, ‘सायद माग पूरा हुन्छ होला’

बिजमाण्डू
२०७६ माघ १२ गते १२:१३ | Jan 26, 2020


काठमाडौं। रेमिट कम्पनीहरुलाई मात्रै फाइदा पुग्ने राष्ट्र बैंकको पुरानो निर्देशन पुनरावलोकन गर्न बैंकर्स संघले माग गरेको छ। संघले शुक्रबार पत्र पठाउँदै रेमिटेन्समा बैंकहरुलाई पनि फाइदा पुग्ने गरी नीति पुनरावलोकन गर्न भनेको हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले केही समयअघि रेमिटेन्सको काम गर्ने भए बैंकहरुले स्वीकृति लिनुपर्ने ब्यवस्था गरेको थियो। साथै बैंकहरुले रेमिटेन्सका लागि एजेण्ट नियुक्त गर्दा पनि राष्ट्र बैंकसँग स्वीकृति लिनुपर्ने ब्यवस्था कार्यान्वयनमा ल्याएको थियो। 

यसअघि राष्ट्र बैंकलाई जानकारी गराए मात्र पुग्ने ब्यवस्था थियो। त्यसबेला विदेशी मुद्रा ब्यवस्थापन विभागको कार्यकारी निर्देशकमा भीष्मराज ढुंगाना थिए।

संघले एजेण्ट नियुक्त गरेको जानकारी राष्ट्र बैंकलाई गराए मात्र पुग्ने ब्यवस्था गर्न भनेको छ। 

'१० अर्बभन्दा बढि पुँजी कोष भएका बैंकहरुलाई रेमिटेन्समा कडाइ गर्नु ब्यवहारिक नहुने तर्क हामीले गरेका छौं,' संघका एक पदाधिकारीले बिजमाण्डूसँग भने, 'त्यसैले पुरानै ब्यवस्था कार्यान्वयन गर्नुस् भनेका हौं।'

राष्ट्र बैंकका अधिकारीहरुले पनि बैंकर्सको मागलाई सकारात्मक रूपमा लिएका छन्। राष्ट्र बैंकका अधिकारीहरुसँग अनौपचारिक कुराकानी गरेपछि बैंकर्स संघले औपचारिक पत्र लेखेको हो। 'सायद माग पूरा हुन्छ होला,' ती बैंकरले भने, 'उहाँहरू (राष्ट्र बैंकका उच्च ब्यवस्थापन) सकारात्मक हुनुहुन्छ।'