निर्माण सामाग्रीको माग बढाउन घर कर्जाको सीमा ७०% पुर्‍याउ, गाडी ऋण बारे बैंकर्स संघ बोलेन

बिजमाण्डू
२०७६ माघ १२ गते ११:११ | Jan 26, 2020
निर्माण सामाग्रीको माग बढाउन घर कर्जाको सीमा ७०% पुर्‍याउ, गाडी ऋण बारे बैंकर्स संघ बोलेन


काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गरेर फर्किएपछि बैंकर्स संघले घर कर्जाको सीमा बढाउन राष्ट्र बैंकलाई लेखेर पठाएका छन्।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री खतिवडाले पछिल्लो नीति निर्देशनले के कस्तो अप्ठेरो परेको छ र त्यसलाई कसरी फुकाउन सकिन्छ भनेर छलफल गरेका थिए। उनले आवश्यक माग राष्ट्र बैंकलाई लेखेर पठाउनसमेत भनेका थिए।

बैंकर्स संघले शुक्रबार राष्ट्र बैंकलाई पत्र लेख्दै आफ्नो मागका बारेमा अवगत गराएको थियो। संघले गाडी कर्जाका बारेमा केही पनि बोलेको छैन। तर घर कर्जाको सीमा बढाउन दिन माग गरेको हो।

'अहिले निर्माण सामाग्रीको पर्याप्त माग हुन नसकेको ब्यवसायीको गुनासाका बारेमा अर्थमन्त्रीज्यूसँग कुराकानी भएको थियो,' संघका अध्यक्ष भुवन दाहालले भने, 'त्यही सन्दर्भमा हामीले ऋण खुकुलो पार्नका लागि आफ्नो सुझाव पठाएका छौं।'

गाडी बिक्रेता, अर्थमन्त्रालय आफैं गाडीको डाउन पेमेन्ट घटाउन लागिपरेकाले संघले केही पनि नलेखेको त्यहाँका एक पदाधिकारीले जानकारी दिए।

अहिले राष्ट्र बैंकले जग्गा मूल्यांकनको ५० देखि ६० प्रतिशतसम्म मात्रै ऋण दिन पाइने ब्यवस्था गरेको छ। काठमाडौंभित्र ५० र बाहिर ६० प्रतिशतसम्म ऋण दिन सकिने ब्यवस्था छ। ऋण पनि डेढ करोड रूपैयाँसम्म मात्र पाइन्छ।

संघले सबै घर कर्जाहरुमा ७० प्रतिशतसम्म ऋण दिने ब्यवस्था मिलाउन भनेको हो। मन्त्रीसँगको छलफलमा आवसीय घर निर्माणको सन्दर्भमा बैंकहरुले लचकताका साथ लगानी गर्ने वातावरण बनाउन नेपाल बैंकर्स संघले आवश्यक भूमिका निर्माण गर्ने भन्ने निष्कर्ष निस्किएको थियो।

राष्ट्र बैंकले लचकता नपनाइ बैंकहरुले मात्र गर्न सक्ने अवस्था थिएन। त्यही भएर बैंकर्स संघले मन्त्रालयको ग्रीन सिग्नल पाएपछि राष्ट्र बैंकलाई आफ्नो माग लेखेर पठाएको हो।