निर्माण सामाग्रीको मूल्यवृद्धि रोक्न सरकारको एक्सन, असारदेखि विलेट आयातको विल बुझाउन निर्देशन

बिजमाण्डू
२०७६ माघ १० गते १७:१३ | Jan 24, 2020
निर्माण सामाग्रीको मूल्यवृद्धि रोक्न सरकारको एक्सन, असारदेखि विलेट आयातको विल बुझाउन निर्देशन


Tata
GBIME
Nepal Life

काठमाडौं। डन्डीको भाउ किलोमै दश रुपैयाँ बढाएपछि सरकारले उत्पादकसँग असारदेखि विदेशबाट आयात गरेको विलेटको विलविजक सात दिनभित्र बुझाउन निर्देशन दिएको छ।

अन्तर्राष्ट्रिय बजारमा विलेटको मूल्य बढेको भन्दै उद्योगीले डेढ महिनामा डन्डीको मूल्य किलोमै दश रुपैयाँ बढाएका थिए। अस्वभाविक रुपमा डन्डीको मूल्य बढाएको जानकारी पछि बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयात गरेको समयको विलविजक बुझाउन निर्देशन दिएको हो।

‘हामीले काठमाडौं उपत्यकाका २० वटा ठूला हार्डवयरमा अनुगमन गरेका थियौं। अनुगमनको क्रमममा किलोमा ८ रुपैयाँसम्म बढेको पायौं। त्यसपछि हामीले डन्डी उत्पादकको संस्थालाई बोलाएर सात दिनभित्रै विलविजक ल्याउन निर्देशन दिएका छौं’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बिजमाण्डूसँग भने,’उहाँहरुले अन्तर्राष्ट्रिय बजारमा विलेटको मूल्य बढेकाले यहाँ प्रभाव परेको जिकिर गर्नुभएको छ। तर हामीले वस्तुनिष्ठ भएर अनुसन्धान गर्छौं। त्यही आधारमा निर्णय गर्छौं।’

उनका अनुसार सबै उद्योगीले एकै पटक भाउ बढाएको पाइएको छ। ‘अन्तर्राष्ट्रिय बजारमा बढेको भनेपनि यहाँ पनि एकैपटक मूल्य बढाएको पाइएको छ। हामीले उद्योगको स्टक र उहाँले ल्याउनुभएको विलेटको आधारमा कारवाही प्रक्रिया अगाडि बढाउँछौं’ सुवेदीले भने, ‘अस्वभाविक रुपमा उपभोक्तालाई भार पार्ने काम भएको छ भने कारवाही गर्छौं।’

डेढ महिना अघि उत्पादित माल बिक्री नभएर उद्योगनै बन्द गरेको दाबी डन्डी उद्योगीले गरेका थिए। तर त्यसको केही दिनमै अन्तर्राष्ट्रिय बजारको हवाला दिँदै विलेटको भाउ टनमै ७५ रुपैयाँ बढेर ४ सय २५ डलर पुगेकोले डन्डीको भाउ बढाएको बताएका थिए।

उद्योग संचालकको भनाई र उनीहरुले लिने ऋणको प्रकृतिमा समेत मेल खाँदैन्। अहिले ५० करोड रुपैयाँ भन्दा माथिको ऋण लिँदा क्रेडिट रेटिङ गराउनुपर्छ। त्यो क्रेडिट रेटिङ हेर्दानै अधिकांश डन्डी उद्योगले आफूलाई चाहिने कच्चा पदार्थ र वेयरहाउसका लागि अल्पकालिन ऋण अगाडिनै लिएका हुन्छन्।

यसको ब्याजदर पनि सम्झौंता अवधिमै निश्चित हुन्छ। नेपालमा रहेका दुई वटा रेटिङ एजेन्सीकै तथ्यांक हेर्ने हो भने पनि अधिकांश उद्योगले ६ महिनासम्मको कच्चा पदार्थ ल्याइसकेका छन्। एक क्रेडिट रेटिङका उच्च अधिकारीका अनुसार माग भन्दा आपूर्ति बढी भएका कारण अहिले सबैजसो उद्योगसँग तीनदेखि ६ महिनालाई पुग्ने डन्डी थन्किएर बसेको छ। यो आधारमा अन्तर्राष्ट्रिय बजारमा डन्डीको कच्चा पदार्थको मूल्य बढ्नेवित्तिकै यहाँ भाउ बढाउनुपर्ने अवस्था छैन। उद्योगीले अन्तर्राष्ट्रिय बजारको हवाला दिँदै कार्टेलिङ गरेर मूल्य बढाएका हुन्।

विभागले डन्डीसँगै सिमेन्टको समेत अनुगमन गरेको थियो। सिमेन्टमा भने बोरामा १० रुपैयाँ मात्रै मूल्य बढेको पाइएको थियो। सुवेदीले कच्चा पदार्थ ९० प्रतिशत नेपालमै पाइने सिमेन्टको मूल्यवृद्धि हुनुको कारण बारे उद्योगीसँग जानकारी लिएको बताए।

‘सिमेन्टको मूल्य बढ्नुपर्ने कुनै कारण छैन। भारतबाट क्लिकंर आउन लगभग बन्द भइसकेको छ। यहाँको क्लिंकर सस्तिएर टनको ७ हजार रुपैयाँमा बिक्री भइरहेको छ। विजुलीको भाउ बढेको छैन’ उनले भने, ‘कुनै कारण विना मूल्य बढाउनुको कारण पनि हामीले उद्योगीसँग सोधेका छौ।’सुवेदीका अनुसार डन्डी र सिमेन्ट उद्योगीले ढुवानीमा भ्याट लगाएका कारण मूल्य बढेको जिकिर गरेका छन्।