साझालाई बिजुली बस किन्न दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने निर्णय, भौतिक मन्त्रालयले किन्ने

बिजमाण्डू
२०७६ माघ ९ गते १६:०४ | Jan 23, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले साझा यातायातलाई बिजुली बस खरिद गर्न दिएको ३ अर्ब रूपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ।

मन्त्रीपरिषदको निर्णय सुनाउदै सञ्चारमन्त्री गोकुल बास्कोटाले बिहीबार यस्तो बताएका हुन्। उनले साझासँग सेयरवापत दिएको ३ अर्ब फिर्ता गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफैंलाई खरिद गर्न दिने निर्णय भएको उनले बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असार ३० मा साझा यातायातको खातामा तीन सयवटा विद्युतीय बस खरिद गर्न ३ अर्ब रूपैयाँ हालिदिएको थियो।

मन्त्रीपरिषदबाटै निर्णय गरेर साझालाई उक्त रकम दिइएको थियो। सरकारले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने भन्दै तीन सयवटा विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने निर्णय गरेको हो। सुरूमा अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गरेर सोही प्राधिकरण मार्फत सञ्चालन गर्ने योजना थियो, तर गठन प्रक्रियामा ढिलाइ भएका कारण साझामार्फत खरिद प्रक्रिया अघि बढाइएको थियो।

बस खरिदका लागि मन्त्रालयका प्रतिनिधि सहितको विज्ञ समिति पनि गठन गरिएको थियो। समितिको सिफारिसमा साझाले बस खरिद प्रक्रिया अघि बढाउन लागेको थियो, तर सरकारले दिएको स्पेसिफिकेशनअनुसार नभएको भन्दै तत्काल रोक्न पत्राचार गरेको थियो। त्यसपछि खरिद प्रक्रिया रोकिएको थियो।