निजगढ विमानस्थल बनाउँदा विस्थापित हुने बासिन्दाले भने-‘वातावरणवादीले धेरै हल्ला गरे’

वसन्तराज उप्रेती
२०७६ माघ ९ गते १५:१५ | Jan 23, 2020
निजगढ विमानस्थल बनाउँदा विस्थापित हुने बासिन्दाले भने-‘वातावरणवादीले धेरै हल्ला गरे’

Tata
GBIME
Nepal Life

निजगढ। मुलुकमा यतिबेलासम्म एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोजी हुँदाहुँदै निजगढलाई विकल्प मानेर बन्नैपर्छ र नबनाएपनि हुन्छ भन्ने बहस चर्को छ।

भैरहवा र पोखराका निर्माणाधीन विमानस्थलका तुलनामा जग्गाका दृष्टिले निजगढ सबै प्रकारका जहाजलाई उडान-अवतरणमा पर्याप्त हुनेछ भन्नेमा दुविधा छैन।

 तर ठूलो लागत आउने परियोजना निर्माण स्वदेशी लागतमा सम्भव छैन। त्यसमाथि उक्त क्षेत्रको रुख कटान हुने विषयमै चर्को मतमतान्तर छ। मुद्दा आइपुगेपछि सर्वोच्च अदालतले नै हाललाई कुनै काम अघि नबढाउन आदेश गरेको अवस्था छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भनिएको क्षेत्र अहिले कस्तो छ भन्ने पुगेरै हेरे वास्तविकताबारे बुझाइ अलि फराकिलो हुन्छ। उक्त ठाउँमा कुकाठको पातलो जंगल र बस्ती छन्। बस्तीमा बसोबास गर्दै आएकाहरू विमानस्थल बन्ने नै हो भने मुआब्जासहित बसोबासको सुरक्षित स्थानान्तरण आफूहरूको माग रहेको बताउँछन्।

प्रस्तावित विमानस्थल क्षेत्रभित्र दुईवटा बस्ती छन्- टाँगिया र काटगाउँ। काटगाउँ धेरै पुरानो बस्ती होइन। दुई दसक भयो यहाँ बसोबास बाक्लिन सुरू भएको। काटगाउँ नम्बरी जग्गा भएको बस्ती हो । टाँगिया ऐलानीमा बसोबास भइरहेको हो । वरपर आफ्ना खेतबारीमा बाषी पसेपछि सर्दै बसोबास गर्दै आएकाहरू यी बस्तीमा छन् । 

हटाउने नै भए दुवै बस्तीका बासिन्दालाई पुनर्वासका लागि एकै ठाउँ कतै राखिनुपर्ने स्थानीयको भनाइ छ। 'बन्छ बन्छ, बन्न हुँदैन, सकिँदैन, उपयुक्त छ/छैन भन्ने हामीले सुन्दै आएको धेरै भयो,' स्थानीय शान्तिमान कार्कीले भने, 'बन्ने नै हो भने टाँगिया र काटगाउँका बासिन्दालाई पुनर्वासमा एउटै थलो विकल्प दिइनुपर्छ।'

राष्ट्रिय गौरव आयोजना अन्तर्गतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सर्वसाधारणले पूर्ण रूपमा सहयोग गर्ने टाँगिया बस्ती सरोकार समितिका सचिव सुमन थोकरले बताए। पछिल्लो चरणमा जति सरकार आए पनि विमानस्थल बन्नुपर्छ भन्ने पक्षमा रहेको भनाइ सुन्न पाएकाले गाउँले उचित मुआब्जाको सर्तमा स्थानान्तरणका लागि तयार रहेको उनको भनाइ छ। 'हामी पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने पक्षमा छौं। अब सरकारले कुनै परियोजना निर्माण गर्नुपर्‍यो भने बनलाई स्थानान्तरण गर्नुपर्ने विधेयक पनि पारित भइसकेको छ,' उनले भने, 'विमानस्थल बन्ने नै भए हाम्रो बस्ती विस्थापित हुन्छ हुन्छ । हाम्रो सरोकार न्यायपूर्ण तरिकाले सरकारले काम गर्नुपर्छ भन्ने छ।'  

उनका अनुसार सात हजार जनसंख्या रहेको टाँगियामा १४ सय ७६ घरधुरी छन्। 'हामी अब यो ठाउँ छोड्दैछौँ। अब सरकारले गाँस, बास, कपासको ग्यारेन्टी गरेर एक घर एक रोजगारको निश्चित गर्नुपर्छ। आइएलओ अनुसार सरकारले अधिग्रहण गर्ने नम्बरी अथवा ऐलानी जग्गा अधिग्रहण गर्नुपर्‍यो भने त्यहाँको बस्ती, जातीय सदभाव, मठमन्दिर नखल्बलिने वातावरण सिर्जना गर्नुपर्छ,' उनले भने, 'यो विमानस्थल निर्माण हुनुपर्छ भन्ने कुरामा हामीले भाँजो हालेका छैनौं। यो विमानस्थलले मुलुककै अर्थतन्त्रमा फड्को मार्न सघाउने हो भने हाम्रो व्यवस्थापनका लागि योजना आउनुपर्छ।' उचित योजना बिना नै हटाउन खोज्ने हो भने कसैले पनि नमान्ने उनले बताए।

'धेरै खालका हल्ला हामीले पनि सुन्दै आएका छौं। विमानस्थल बनाउँदाको अवस्थामा फाँडिने वन घना छैन, जंगली जनावर फाट्टफुट्ट छन्, बस्ती पनि ठूलो छैन,' उनी भन्छन्, 'देशको समृद्धिका लागि बल पुर्‍याउने एउटा ठूलो परियोजना बनाउँदा अरू देशले पनि सजिलै गरेका पक्कै होइनन्। यहाँ पनि हल्ला गरेजस्तो त्यस्तो ठूलो बिनास हुने अवस्था छैन।' वातावरणवादीले आवाज उठाए जसरी पहिलो धावनमार्ग निर्माण गर्न कुनै समस्या नभएको उनले दाबी गरे। 'पहिलो धावनमार्गका लागि यही बस्तीबाट मात्र एक हजार हेक्टर जग्गा प्रयोग हुनेछ। जंगली जनावर व्यवस्थापनका लागि आयोजना प्रमुखले खाका तयार गरिसकेका छन्,' उनले भने, 'सबै कुराहरुलाई मध्यनजर गर्दै विमानस्थल निर्माण गर्न सकिन्छ।'        

विमानस्थल निर्माणका लागि छनोट गरिएको क्षेत्रले पसाहा खोलादेखि पूर्व ६.३ किलोमिटर, बकैया खोलादेखि ८.५ किमि पश्चिम र दक्षिणतर्फ १३.९ किमि ओगटेको छ भने राजमार्गसँगै उत्तरको १० किमि दुरी ओगटेको छ। बन्ने/नबन्ने बहसबीच सरकारले आयोजनाका लागि गृहकार्य गरिरहेको छ।        

पहिलो चरणमा निर्माण सुरू गरिने धावनमार्गका लागि कमसेकम रुख कटान गर्ने योजना रहेको आयोजनाका निमित्त प्रमुख विजय यादव बताउँछन्। '६ सय ५० हेक्टर जमिन रूख नभएको क्षेत्र हो। टाँगिया बस्तीलाई सारेर रिसेटलमेन्ट गर्ने योजना छ,' उनले भने, 'अहिले हामीलाई १९ हेक्टर जमिन आवश्यकता छ। हामीले आफैंले रनवेको लेन्थ राखेर अरू कम्पोनेन्टहरुको एरियालाई डिजाइन गरेका छौं।' डिजाइनअनुसार थोरै सख्यामा रुख कटान गरेर पहिलो चरणको काम थाल्ने तयारीमा आयोजना रहेको उनले बताए । 'यसमा एक लाख ३५ हजार रुख कटान गर्ने डिजाइनमा छ, तर सबै सग्ला र ठूला रूखहरू पनि होइनन्,' उनले भने ।