जीवन बीमाको सेयरमा लगानीकर्ता झुम्मिदा नेप्से धेरै घट्न पाएन, तीन दिनमा ३० अंकले घट्यो बजार

बिजमाण्डू
२०७६ माघ ८ गते १५:३४ | Jan 22, 2020
जीवन बीमाको सेयरमा लगानीकर्ता झुम्मिदा नेप्से धेरै घट्न पाएन, तीन दिनमा ३० अंकले घट्यो बजार

Tata
GBIME
Nepal Life

काठमाडौं। बुधबार सेयर बजारमा ७.०५ अंकको गिरावट आएसँगै नेप्से परिसूचक १३१३.४२ अंकमा झरेको छ। साताको पहिलो दिन बजार १३४४ अंकमा पुग्दा बजारमा दुई अर्ब  नौ करोड रुपैयाँको कारोबार भएपनि त्यसपछि लगातार सूचक र कारोबार रकम दुबै घटिरहेको छ।

बजारमा उत्तरचढाव आउँदा बुधबार एक अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बजार खुलेको आधा घण्टापछि घट्न सुरु भएको बजार १३१० अंक सम्म तल झरेको थियो। १२ बजेपछि बजारमा केही सुधार हुन खोजेपनि फेरि आधा घण्टापछि बजार घट्न सुरु भएको थियो। त्यसपछि कुनै पनि समय हरियो हुन नसकेको बजार अन्त्यमा ७.०५ अंकले घट्दै बन्द भएको हो।

बुधबार पनि ग्लोबल आइएमई बैंकको सेयर सबैभन्दा बढी किनबेच भएको छ। बैंकको करिब २० लाख कित्ता सेयर ६१ करोड रुपैयाँमा किनबेच भएको छ। ग्लोबल आइएमई बैंक पछि नेपाल बैंकको नौ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

धेरै सेयर किनबेच हुनेमा ५ वटा बीमा कम्पनी छन्। सबैभन्दा धेरै सूर्य लाइफको ७ करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। एसियन लाइफको ५ करोड ८३ लाख, नेपाल लाइफको ५ करोड ८१ लाख, प्राइम लाइफको ५ करोड ४१ लाख र गुराँस लाइफको २ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

दिनभर १७८ कम्पनीका ४९ लाख कित्ता सेयर किनबेच भएका छन्। लाइफ इन्स्योरेन्सको उपसूचक २ प्रतिशतले बढेपनि अन्य सबै उपसूचक घटेका छन्। सबैभन्दा धेरै हाइड्रोपावर, होटल र ट्रेडिङ समुहका उपसूचक १/१ प्रतिशत भन्दा बढीले घटेका छन्।

लामो समयपछि गत पुस २२ गते एक अर्ब नाघेको कारोबार रकम, २८ पुसमा पौने दुई अर्ब रुपैयाँ पुगेको थियो। माघ ५ गते दुई अर्ब नाघेको कारोबार रकम त्यसपछि क्रमश घट्दो क्रममा छ। सोमबार एक अर्ब ९७ करोड, मंगलवार एक अर्ब ५१ करोड र बुधबार एक अर्ब ५८ करोड रुपैयाँमा कारोबार झरेको हो।