राजविराज उडान सुरू गर्दै बुद्ध एयर, माघ १८ मा पहिलो उडान, भाडादर ३६ सय रुपैयाँ

बिजमाण्डू
२०७६ माघ ८ गते १४:०१ | Jan 22, 2020
राजविराज उडान सुरू गर्दै बुद्ध एयर, माघ १८ मा पहिलो उडान, भाडादर ३६ सय रुपैयाँ


Tata
GBIME
Nepal Life

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले प्रदेश २ को पुरानो सहर राजविराजका लागि उडान गर्ने भएको छ । आउँदो माघ १८ गतेदेखि काठमाडौं-राजविराज-काठमाडौं उडान सेवा नियमित सञ्चालन गर्ने भएको हो। 

उडानमार्फत सप्तरी, उदयपुर सिरहा र सुनसरी लगायत क्षेत्रका सर्वसाधरणलाई सेवा दिनका साथै पर्यटनमा टेवा पुर्‍याउने मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ। विशेष गरी यो उडानले पर्यटकका लागि छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु र सहलेस गहवर लगायत विभिन्न धार्मिक पर्यटकिय गन्तब्य भ्रमणमा टेवा पुर्‍याउने कम्पनीको विज्ञप्तिमा छ। 

काठमाडौं-राजविराज उडानमार्फत सीमापारीका सहरसा, सुपौल, वीरपुर, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया र लौकाहा लगायत गन्तब्यमा आउजाउ गर्ने यात्रु तथा पर्यटकलाई पनि सहज हुने कम्पनीले जनाएको छ। यो उडानले भ्रमण वर्ष २०२० मा टेवा पुर्‍याउनुका साथै स्थानीयलाई रोजगारी सिर्जना हुने पनि कम्पनीको अपेक्षा छ।

दैनिक एउटा उडान गर्न लागिएको यो गन्तब्यको हवाई दुरी ३५ मिनेटको हो छ। कम्पनीका अनुसार काठमाडौं-राजविराज उडानका लागि ११:२५ बजेको समय राखिएको छ भने राजविराज-काठमाडौं उडानका लागि १२:२० को समय निर्धारण गरिएको छ। कम्पनीले यो गन्तब्यका लागि सुरुवाती भाडादर ३६ सय रूपैयाँ कायम गरेको जनाएको छ।

कम्पनीको आधिकारिक वेबसाइटमार्फत टिकट खरिद गर्दा यात्रुले विशेष छुट पाउन सक्ने जनाइएको छ। यात्रुको चापअनुसार कम्पनीले एटीआर-४२ र एटीआर-७२ जहाज सञ्चालन गर्ने योजना रहेको जनाएको छ। बुद्ध एयरसँग साना-ठूला हाल १३ वटा जहाज सञ्चालनमा छन्। हाल कम्पनीले आठवटा एटीआर ७२–५००, तीनवटा एटीआर ४२–३२० र दुईवटा विचक्राफ्ट-१९००डी मार्फत पोखरा, विराटनगर, धनगढी, भद्रपुर, भरतपुर, जनकपुर, सुर्खेत, सिमरा, तुम्लिङटार र भैरहवा लगायत आन्तरिक गन्तब्यमा नियमित उडान गर्दै आएको छ। कम्पनीका लागि राजविराज नयाँ गन्तब्य हो।

२०१६ सालमा बनेको राजविराज एयरपोर्ट लामो समय प्रयोगविहीन थियो। २०५२ देखि जहाजको उडान-अवतरण बन्द रहेको उक्त एयरपोर्टको १५ सय मिटर लम्बाइको धावनमार्ग दुई वर्ष लगाएर २०७५ बैशाखमा कालोपत्रे गरेर तयार पारिएपछि सोही वर्षको जेठमा श्री एयरले परीक्षण उडान गरेको थियो। २२ वर्षपछि प्रयोगमा आएको उक्त एयरपोर्टमा श्री एयरले नियमित उडान गर्दै आएको छ।