नेटवर्क अपरेसन सिस्टम सञ्चालन गर्दै नेपाल टेलिकम, समस्या आए प्राविधिकको मोबाइलमा म्यासेज आउने

बिजमाण्डू
२०७६ माघ ७ गते १६:२२ | Jan 21, 2020
नेटवर्क अपरेसन सिस्टम सञ्चालन गर्दै नेपाल टेलिकम, समस्या आए प्राविधिकको मोबाइलमा म्यासेज आउने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले नेटवर्क अपरेसन सिस्टम सफ्टवेयर जडान गर्ने भएको छ। नेटवर्कमा आउने प्राविधिक समस्याको छिटोछरितो समाधान गरि सेवालाई प्रभावकारी बनाउन यस्तो सेवा सञ्चालन गर्न लागिएको टेलिकमले जनाएको छ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेटवर्कमा आउने समस्याको समयमै समाधान गरि सेवालाई सुचारु गर्न सहज हुने भएकाले यो सिस्टम जडान गर्ने तयारी गरिरहेको बताए। यसले सफ्टवेयरमार्फत सम्पूर्ण रेकर्ड टेलिकमलाई उपलब्ध गराउनेछ। ‘यो एउटा मनिटरिङ सिस्टम हो,' उनले भने, ‘कुनै पनि नेटवर्कमा समस्या आए प्राविधिकको मोबाइलमा म्यासेज आउँछ र उनीहरू तत्काल मर्मतमा जुट्छन् ।'

यो सिस्टम जडान भएपछि उपभोक्तादेखि टेलिकमसम्म कुन स्थानमा के समस्या आएको छ भन्ने जानकारी हुनेछ। समस्या देखिएका स्थानको नजिक भएका टेलिकमका प्राविधिक र व्यवस्थापन सम्मलाई सम्पूर्ण जानकारी नेटवर्क अपरेसन सिस्टमले दिनेछ। सोहीअनुसार प्राविधिकले उक्त समस्याको समाधन गर्न सहज हुने टेलिकमले जनाएको छ।

यो सिस्टमले समस्याको मात्रै जानकारी दिने छैन, कुन प्राविधिकले कुन ठाउँमा के काम गर्दैछन् तथा कति काम गरेका छन भन्ने समेत जानकारी टेलिकमको कार्यालयलाई दिनेछ। त्यस्तै कुन स्थानमा कति काम भइरहेको छ वा कति समय लाग्छ भन्ने जानकारी दिने अधिकारीले बताए।

त्यस्तै यो सिस्टम सञ्चालनमा आएको खण्डका कुन स्थानका उपभोक्ताले कस्ता सेवा लिएका छन् भन्ने समेत जानकारी दिने छ। यसबाट कुन स्थानमा कति जनाले फोरजी, टुजी र थ्रीजी सेवा उपयोग गरिरहेका छन् भन्ने जानकारी समेत उपलब्ध हुनेछ। सोही आधारमा सेवा विस्तार गर्न तथा नयाँ योजना उपलब्ध गराउने अधिकारीले बताए।

यसले कम्पनीको बिजनेस सपोर्ट सिस्टम (बीएसएस) लाई समेत सहयोग पुर्‍याउने छ। हाल यो सिस्टम सञ्चालनको लागि टेण्डर प्रक्रिया अगाडि बढिसकेको अधिकारीले बताए।

टेलिकमले आफ्नो सेवा सुधार गर्दै आफ्नो व्यापार वृद्धि गर्न बिजनेस इन्टेलिनेन्स एनालीसीस (बीआइए) समेत सुरू गर्न लागेको छ। कस्तो उपभोक्ताले कस्तो प्रकारको सेवा खोजिरहेका छन् भन्ने पत्ता लगाइ सोही अनुरूपका योजना निर्माण गर्न कम्पनीले बीआइए समेत सञ्चालन गर्ने तयारी गरेको हो।

कम्पनी र ग्राहकसम्मका सबै पक्षको अध्यन गरि उपभोक्ता को आवश्यकता र बजारको मागअनुसार थप कार्यक्रम ल्याउने निर्देशक अधिकारीले बताए। कम्पनीको प्रभाव र आवश्यकताअनुसार के कस्ता सुविधा थप गर्नुपर्ने छ तथा कस्तो बिजनेस मोडालिटी तय गर्न उपयुक्त हुनेछ भन्ने जानकारी लिन समग्र पक्षको विश्लेषण गरि बिजनेस प्लान बनाउने तयारी समेत गरेको हो।