अर्थमन्त्रीसँग बैंकरको अढाइ घण्टा छलफल, सबै समस्या समाधान गर्ने बाचा, स्प्रेडका बारेमा रुची कम

बिजमाण्डू
२०७६ माघ ६ गते १९:१८ | Jan 20, 2020
अर्थमन्त्रीसँग बैंकरको अढाइ घण्टा छलफल, सबै समस्या समाधान गर्ने बाचा, स्प्रेडका बारेमा रुची कम


Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलोपटक कम बोलेर धेरै कुरा सुनेको र छलफलमा उठेका समस्याहरुलाई समाधान गर्न पहल गर्ने आश्वासन दिएपछि बैंकरहरू फुरुङ्ङ परेका छन्।

सिंहदरबारमा भएको अढाइ घण्टा लामो छलफलमा अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकका निर्देशन र कर सम्बन्धि ब्यवस्थाले के कस्तो कठिनाइ परेको छ भनेर सोधेका थिए।

बैंकर्स संघको कार्यसमिति र सल्लाहकारलाई डाकेर अर्थमन्त्रीले उपस्थित सबैको राय बुझेका थिए। खतिवडासँग मन्त्रालयका सचिव राजन खनाल, राजस्व सचिव शिशिरकुमार ढुंगाना, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी थिए।

सुरूवातमा मन्त्रालयको तर्फबाट देशको वर्तमान आर्थिक स्थितिका बारेमा प्रस्तुति दिइएको थियो। अर्थतन्त्र सबल बन्दै गएको प्रस्तुतिपछि अर्थमन्त्रीले छोटो भनाइ राख्दै बैंकरको कुरा बुझेका थिए।

बैठकमा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकिङ क्षेत्रका समस्या र के गर्दा निकास निस्कन्छ भन्ने सुझावहरु दिएका थिए। त्यसपछि अर्थमन्त्री खतिवडाले अरू बैंकरलाई पनि आफ्नो कुरा राख्न आग्रह गरेका थिए।

त्यसपछि उपस्थित सबैले पालैपालो आफ्नो भनाइ राखेका थिए। 

‘राष्ट्र बैंकबाट आएका निर्देशनबाट के कस्ता अप्ठेरा भएका छन्। हाम्रो कर नीतिले के भइरहेको छ ?,’  अर्थमन्त्रीको भनाइ उदृत गर्दै एक बैंकरले भने, ‘उहाँले सबै कुराहरु पोजेटिभ नोटमा गर्नु भयो। मलाई लागेको थियो केही कडा कुरा गर्नु हुन्छ। अचम्मै हुने गरी उहाँले उठेका समस्यालाई समाधान गर्ने भन्दै सकारात्मक कुरा मात्र गर्नु भयो।’

अर्थमन्त्री खतिवडाले ब्याज बढे/घटेको बारे जिज्ञासा राखेका थिए। उनको चाहना औद्योगिक क्षेत्रमा जाने ऋणको ब्याज घटोस् भन्ने थियो। साथै संस्थागत निक्षेपकर्तालाई दिइने ब्याज घटोस् भन्ने चाहना पनि थियो। 

‘उहाँले संस्थागतको ब्याज घटाउन सोझै त भन्नु भएन तर सांकेतिक रूपमा ८ प्रतिशतमा झारे हुन्छ भन्ने खालको संकेत गर्नु भयो,’ सहभागी एक बैंकरले भने, ‘उद्योगको ब्याज घटोस् भन्ने चाहना पनि थियो।’

बैंकरले अहिले कर्पोरेट क्षेत्रमा जाने ऋणको ब्याज घटेको भन्दै जवाफ दिएपछि अर्थमन्त्रीले मुस्कुराउँदै भने- 'ए त्यही भएर पो अहिले विरोध आउन छाडेको रहेछ।'

ऋण किन सुस्त भयो भन्ने विषयमा बैंकरले दुईवटा नीतिलाई समस्याका रूपमा राखेका थिए। ब्यक्तिगत कर्जातर्फ कर र आम्दानीको अनुपात तथा साना तथा मझौला उद्यमतर्फ बैंक र कर कार्यालयलाई बुझाउने वासलात एउटै हुनुपर्ने कारणले समस्या भएको बैंकरको गुनासो थियो।

त्यसपछि अर्थमन्त्रीले ऋणमा थ्रेसहोल्ड गरेर समस्या समाधान गर्न सकिने बताएका थिए। उनले रकम नतोके पनि निश्चित रकमको ऋणमा खुकुलो नीति लिन सकिने बताएका थिए। बैंकरले कर्पोरेट ऋण पनि सुस्त भएको जानकारी गराएका थिए। यसमा भने अर्थमन्त्रीले ब्याजमा अझै लचक हुन सुझाव दिएका थिए।

सहुलियत कर्जालाई बैंकहरुले प्राथमिकतामा राख्न अर्थमन्त्रीले आग्रह गरेका थिए। राष्ट्र बैंकले संख्या नै तोकेर ऋण दिन भनेकाले त्यसमा समस्या नहुने बैंकरले जवाफ दिएका थिए। अर्थमन्त्रीले केही स्थानीय तहमा शाखा नपुगेको भन्दै त्यहाँ पनि चाँडो शाखा खोल्न भनेका थिए। बैंकरले केही प्राविधिक समस्याले त्यहाँ शाखा नखुलेको र त्यो चाँडै खोल्ने प्रतिबद्धता जनाएका थिए।


अर्थमन्त्रीले 'ओभर इन्भ्वाइसिङ' अझै पनि कायम रहेको भन्दै यसमा बैंकरले राज्यलाई सघाउन आग्रह गरेका थिए। वस्तुको अधिकतम र न्यूनतम मूल्य तोकेर यसको समस्या समाधान गर्न सकिने खतिवडाले बताएका थिए।

अर्थमन्त्रीले दीर्घकालीन स्रोतको ऋणपत्र जारी हुन थालेकाले ऋणको ब्याज दर स्थिर राख्नेतिर बैंकर जानुपर्ने बताए। उनले कम्तिमा २/३ वर्ष ब्याज नबढ्ने गरी काम गर्न सुझाव दिएका थिए। 

‘हामी त एकदमै उत्साहित भएर फर्किएका छौं। अर्थमन्त्रीले यसरी दोहोरो कुरा गर्नु हुन्छ, र समाधान गर्न पहल गर्ने आश्वासन दिनु हुन्छ भन्ने लागेकै थिएन,’ एक बैंकरले भने, ‘चाँडै केही बाधा अड्काउहरू फुक्लान भन्ने लागेको छ। अर्थमन्त्रीको पहल एकदमै राम्रो लाग्यो। देर हुआ दुरुस्त हुआ।’

संघको नयाँ नेतृत्वसँग कर्मकाण्डी भेटघाट होला भन्ने लागेको बताउँदै ती बैंकरले भने- 'तर त्यहाँ पुगेपछि इन्डेब्थ छलफल भयो।'

मन्त्रीसँग ब्याजको स्प्रेड दरका विषयमा भने राम्रो छलफल भएन। मन्त्रीले अहिले पनि १५ प्रतिशत प्रतिफल छ भन्दै आफ्नो कुरा राखेका थिए। बैंकर्स संघका अध्यक्ष दाहालले हिसाब किताब निकाल्दै १० प्रतिशत मात्र हुने बताए।

‘स्प्रेडका बारेमा कुरा त उठ्यो तर यसमा जति कुरा हुनुपर्ने थियो त्यति भएन,’ एक बैंकरले भने, ‘यो विषयलाई भने मन्त्रीज्यूले स्केप गर्नु भयो।’

छलफलमा उठेका समस्याहरू समाधानका लागि चाँडै नीतिगत निर्णय गरिने भएको छ। अर्थमन्त्रालय, राष्ट्र बैंक र संघले आआफ्नो क्षेत्रबाट के के गर्नु पर्ने हो त्यो गर्ने गरी छलफल सकिएको छ। मन्त्रीले एक सातामा समस्याहरु लिखित रूपमा दिन भनेका छन्। त्यसपछि संयुक्त रूपमा बसेर समस्याको गाँठो फुकाइने भएको छ।

‘आजको छलफल जसरी भयो यसबाट केही समाधान निस्किएला जस्तो लाग्छ। छलफलमा उठेका विषयहरु माइन्युट हुन्छ। त्यसपछि समाधानका लागि पहल हुन्छ,’ ती बैंकरले भने। 

बैंकरले ब्यापार कम हुन थालेको र स्प्रेडका कारण नाफा घट्ने बताएका थिए। उनीहरूले नाफा घटेपछि सरकारलाई बुझाउने राजस्व पनि कम हुने बताएका थिए। त्यसपछि अर्थमन्त्री खतिवडाले 'कर अरू ठाउँबाट उठाउँछौं' भन्ने जवाफ दिएका थिए।

बैंकरले ऋण लगानी सुस्त भएका बेला काउन्टर साइक्लिकल बफरमा कडाइ गर्न नहुने बताए। उनीहरुले अहिले कर्जा नै कम गइरहेको बेलामा बफर कत्तिको उपयुक्त होला र ? भनेर प्रश्न गरेका थिए। यसमा अर्थमन्त्रीले पनि सहमति जनाएका थिए।

बैंकरलाई के समस्या छ भनेर मन्त्रीले पटक-पटक सोधेका थिए। अर्थिक गतिविधि कसरी बढाउने भन्ने विषयमा उनले सुझाव मागेका थिए। बैंकरले गो-एएमएल र केवाइसीमा समस्याका बारेमा कुराकानी पनि गरेका थिए । गोएइमएलमा अलिकति समस्या छ र यसमा समय चाहियो भनेर बैंकरले मन्त्रीसँग भने।