सभामुखमा घम्साघम्सी: सभामुख विवाद सुल्झाउन ओली र प्रचण्ड छलफलमा, तय होला उम्मेद्वार?

बिजमाण्डू
२०७६ माघ ५ गते ११:५० | Jan 19, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वालुवाटारमा छलफल भइरहेको छ। सभामुख चयनका विषयमा छलफल गर्न प्रचण्ड ९ बजेपछि बालुवाटार पुगेका हुन्।

'९ बजेपछि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भइरहेको छ', प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने।

यसअघि दुई अध्यक्षबीच बिहीबार र शुक्रबार सभामुखको विषयमा छलफल भएको थियो।

सभामुखबारे नेकपा अनिर्णित हुँदा प्रतिनिधिसभा बैठक लगातार सूचना टाँसेर स्थगित हुँदै आएको छ। बैठक माघ ६ (सोमबार) का लागि पुनः बोलाइएको छ।

सभामुख कसलाई बनाउने भन्ने टुंगोमा दुई अध्यक्ष पुगेका छैनन्। सोमबार बिहानसम्म सभामुखको उम्मेद्वार टुंगो लाग्न सक्ने नेकपा नेताहरुले बताउँदै आएका छन्।

गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिइएको थियो। तर, उपसभामुख तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार चयन नहुँदासम्म राजीनामा नदिने अडानमा छिन्। सभामुखको लागि उनको दाबेदारी कायम नै छ।

सभामुखको विषयमा गत आइतबारपछि बिहीबारमात्र अध्यक्षबीच छलफल भएको हो। त्यसयता दुई अध्यक्षबीच भेटवार्ता बाक्लिएको छ।

प्रधानमन्त्रीले पूर्व सभामुख सुवास नेम्वाङ र प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेद्वारका रुपमा अघि सारेका छन्। तर, पूर्व माओवादी वा एमाले कसले सभामुख पद लिने विवाद जारी नै छ।

पछिल्लो समय प्रधानमन्त्री ओली प्रचण्डको प्रस्तावमा सकारात्मक भए पनि नाममा सहमति भएको छैन। प्रस्तावित व्यक्तिभन्दा अन्य सभामुखको उम्मेदवार हुन सक्ने सम्भावना बढिरहेको नेकपा नेताहरुले बताउँदै आएका छन्।