सौराहामा छैन रमाइलो: पर्यटक जान छाडे, ब्यवसायीले नयाँपन दिएनन्, ७५ प्रतिशतले ह्रास   

बिजमाण्डू
२०७६ माघ ५ गते १०:११ | Jan 19, 2020
सौराहामा छैन रमाइलो: पर्यटक जान छाडे, ब्यवसायीले नयाँपन दिएनन्, ७५ प्रतिशतले ह्रास   


Tata
GBIME
Nepal Life

चितवन। पर्यटकीय नगरी सौराहामा पर्यटकको संख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन्। नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा वाह्य पर्यटक घट्न थालेको उद्यमीले बताएका छन्। जंगल सफारीका लागि यहाँ आउने पर्यटकले सँधै एउटैपन पाउने हुँदा दोहोर्‍याएर आउन छाडेका हुन्।     

चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायिक वनमा एउटै गतिविधि मात्र हुने भएपछि यहाँ आउने पर्यटकको संख्या विगतका वर्षको तुलनामा वृद्धि हुन नसकेको बताइएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा बजारीकरण र प्रचारप्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ।    
 
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले नयाँ कार्यक्रम दिन नसक्दा पर्यटक घट्दै गएको बताए। उनले भने, 'वर्षौंदेखि एउटै गतिविधि मात्र भएकाले पर्यटकको संख्या बढ्न सकेन।' निकुञ्जभित्र हरेक दिन प्रवेश शुल्क लाग्ने, हात्ती प्रवेश गराउन नपाइने र नयाँ गतिविधि गर्न नसकिने हुँदा समस्या उत्पन्न भएको उनको गुनासो छ।     

निकुञ्जलाई पर्यटकले शुल्क बुझाए पनि हात्ती चढेर सामुदायिक वनमात्र घुम्नुपर्ने बाध्यता छ। जीप सफारी, जंगलमा पैदलयात्रा, डुंगा सयर, हात्ती र गोही प्रजनन केन्द्रको अवलोकन, थारु संग्रहालय र थारु संस्कृति अवलोकनमा यहाँका पर्यटक आकर्षण गर्ने क्षेत्र हुन्। पहिलोपटक आउने पर्यटकलाई यी गतिविधि आफैंमा रमाइलो हुने भए पनि पुनः आउँदा नयाँ कार्यक्रम खोज्ने भए पनि दिन नसकेको व्यवसायी बताउँछन् ।     

वर्सेनि निकुञ्ज प्रवेशमा लाग्ने राजस्व दस्तुर बढ्दै जाँदा पर्यटकको खर्च पनि बढ्दै जाने गरेको छ। खर्च धेरै हुने र नयाँपन पाउन नसक्ने भएपछि एकपटक आएकाहरू दोहोर्‍याएर आउने क्रम घटेको हो। अध्यक्ष भट्टराईले निकुञ्ज बाहिर रात्रिकालीन जीप सफारी र धार्मिक पर्यटकीयस्थलको भ्रमण गराउने आदि नयाँ कार्यक्रम ल्याउन लागेको बताए। 

क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष राममणि खनाल होटलको संख्या थपिँदै गएका तुलनामा पर्यटकको आगमन दर बढ्न नसकेपछि व्यवसाय धराशायी बन्दै गएको गुनासो गरे। 

व्यापार नभएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्दा कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनले बताए। नयाँ कार्यक्रम दिएर प्रचारप्रसार गर्न नसके यहाँको पर्यटन व्यवसाय टिक्न नसक्ने खनाल बताउँछन्।

सौराहा क्षेत्रबाहेक अन्यत्र जहाँतहीँ सामुदायिक वनमा पर्यटक छिर्दा निकुञ्ज प्रवेश शुल्क नलाग्ने भए पनि यहाँ सामुदायिक वनमा हात्ती चढ्ने पर्यटकले निकुञ्जलाई राजस्व बुझाउनुपर्ने बाध्यताले खर्चिलो बनेको जनाइएको छ। सौराहा क्षेत्रमा १ सय १५ वटा होटल छन्। जसमा १० अर्ब रूपैयाँभन्दा बढी लगानी भएको अनुमान छ। यसमध्ये ६० प्रतिशतभन्दा बढी बैंकको लगानीमा खुलेका होटल छन्।

क्षेत्रीय होटल संघ सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरे पर्यटक आइदिए हुन्थ्यो भन्ने मात्र चाहना व्यवसायीमा हुँदा संख्या बढ्न नसकेको बताउँछन्। नयाँ कार्यक्रम दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा बजारीकरण एवं प्रचारप्रसार हुन नसकेमा यस क्षेत्रको पर्यटन व्यवसाय धराशायी हुने उनले बताए। 'यही हिसाबले अघि बढ्यो भने यहाँको पर्यटन व्यवसाय विस्थापित हुन सक्छ,' उनले भने। 

पर्यटकीय क्षेत्रका सडक, विद्युत जस्ता पूर्वाधारमा सरकारको मुख ताके पनि अन्य गतिविधिमा व्यवसायी आफैं अघि बढ्नुपर्ने र नयाँ प्याकेज उत्पादन गरी बजारीकरण अहिलेको अपरिहार्यता रहेको निवर्तमान अध्यक्ष घिमिरेले बताए। 

पहिले पहिले वर्षातको समयमा होटलका कर्मचारीलाई व्यापार नभएपछि बिदा दिने गरिन्थ्यो। झण्डै १० वर्षयता वर्षायाममा समेत पर्यटक आउन थालेपछि बिदा दिन रोकिएको थियो । पछिल्ला वर्षमा वर्षातको समयमा पर्यटक निकै कम मात्र आउन थालेको व्यवसायी बताउँछन्।

क्रिसमस र नयाँ वर्षपछि यतिबेला गत वर्षहरूमा पर्यटकको आगमन बढ्न सुरू हुन्थ्यो। क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईका अनुसार यसपटक नेपाल भ्रमण वर्षका अवसर पारेर सौराहा आउने पर्यटकलाई छुटका प्याकेज दिइएको भए पनि आगमन दरमा निकै कम छ। अहिले दैनिक २ सय ५० जना हाराहारी पर्यटक सौराहा आइपुग्ने गरेको उनले बताए। 

विगतका वर्षहरूमा यतिबेला दैनिक हजारजना हाराहारी पर्यटक आउने गर्दथे। अहिले आएका चिनियाँ पर्यटक केही सीमित होटलमा आउने भएकाले धेरै होटलहरू सुनसान छन्। यहाँबाट दैनिक आठवटा बस काठमाडौं र चारवटा बस पोखरा चल्ने गर्दछन्। ती बसमा न्यून पर्यटकमात्र हुने गरेका छन्। रासस