अब बल्नेछ काठमाडौंका सडकमा स्मार्ट लाइट, रात परेपछि आफैं बल्ने, सीसीक्यामेरा पनि हुने

बिजमाण्डू
२०७६ माघ ३ गते १५:५२ | Jan 17, 2020
अब बल्नेछ काठमाडौंका सडकमा स्मार्ट लाइट, रात परेपछि आफैं बल्ने, सीसीक्यामेरा पनि हुने


काठमाडौं। काठमाडौंका मुख्य सडकमा स्मार्ट स्ट्रीट लाइट (सडक बत्ति) राखिने भएको छ। बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, किर्तिपुर, भक्तपुर नगरपालिका र नेपाल विद्युत प्राधिकरण लगायतका सरोकारवाला निकायको बैठकले बत्ति राख्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

बैठकले चालु आर्थिक वर्षभित्र केही मुख्य रुटमा स्मार्ट सडक बत्ति राख्ने निर्णय भएको सडक  विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। उनका अनुसार एयरपोर्टदेखि सोल्टीमोड, त्रिपुरेश्वर, महाराजगंज, नवनिर्मित रिङरोड, सूर्यविनायक-कोटेश्वर र बालुवाटर एरियामा सडक बत्ति राख्न लागिएको हो। 

त्यस्तै अरू केही रुट पहिचान गरेर राखिनेछ। विस्तारै उपत्यकाभरि नै स्मार्ट सडक बत्ति राख्ने योजना बनाइएको छ।

यो सडक बत्ति भने सोलारबाट नभइ विद्युतबाट बालिने छ। अहिलेको सोलारका सडक बत्ति जुनकिरी जस्तै मधुरो भएको भन्दै पावरफुल उज्यालो बत्ति राख्न लागिएको हो। यो सडक बत्तीका लागि लाग्ने लागत सबै निकाय मिलेर व्योहोर्नेछन्।

यो सामान्य सडक बत्तिभन्दा भिन्न हुने दाबी गरिएको छ। यो स्मार्ट सडक बत्ती कसैले बाल्नुपर्दैन। आफैं बल्छ अनि निभ्छ पनि। रात परेपछि बल्छ भने दिनमा निभ्छ।

रातमा मानिस र सवारीसाधनको मुभमेन्ट भइरह्यो भने बलिरहन्छ, तर आवागमन घट्यो भने विस्तारै पावर पनि घट्दै जान्छ। यो बत्तिमा एउटा अर्को फिचर पनि हुन्छ। त्यसमा जोडिएको विशेष प्रकारको सीसीटीभी क्यामेराले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट पनि पढ्न सक्छ। जसले सहरलाई जीवन्त तुल्याउन मद्दत गर्ने विश्वास लिइएको छ।

यसअघि ललितपुर महानरगपालिकाले पनि यस्तै फिचर भएको करिब एक हजार सडक बत्ति राख्ने योजना बनाएको थियो। अहिलेसम्म कार्यान्वयनमा ल्याएको छैन। अब भने सरोकारवाला सबै निकाय मिलेर कार्यान्वयन गर्ने योजना बनाएका छन्।