नारायणी बिजनेस ग्रुपले गैंडाकोटमा खोल्यो दोस्रो होटल, जग्गाबाहेक सात करोड लगानी

रासस
२०७६ माघ ३ गते ११:२१ | Jan 17, 2020

Tata
GBIME
Nepal Life

चितवन। भ्रमण वर्ष सन् २०२० लाई लक्ष्य गर्दै गैंडाकोटको नारायणी बिजनेस ग्रुपले दोस्रो होटल सञ्चालनमा ल्याएको छ।

चितवन र नवलपरासीमा होटल क्षेत्रमा अनुभवी ६ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा होटल द नारायणी प्रालि सञ्चालनमा ल्याएको हो। 

यसअघि यसै समूहले नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएको थियो। ग्रुपका अध्यक्ष प्रभाकर पण्डितका अनुसार हाल सञ्चालनमा ल्याइएको होटलमा ध्वनि प्रदूषणरहित छ । ६ वटा बैठक  तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकारसहितको रेष्टुराँ एण्ड बार, सुविधा सम्पन्न आठवटा सुपर डिलक्स कोठा छन्।

जग्गा भाडामा लिएर सात करोड रूपैयाँ लगानी गरी होटल सञ्चालनमा ल्याइएको हो। काठमाडौं, सौराहा र पोखरादेखि लुम्बिनी आवतजावत गर्ने पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको उनले जानकारी दिए। सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वतधाम र नारायणी नदीको रमणीय क्षेत्रजस्ता पर्यटकीय गन्तव्यको बीचमा रहेको भन्दै पर्यटन वर्षलाई होटलले सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएकाले पनि राजमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि सहज पहुँचमा रहेको होटलका सञ्चालक वसन्त पराजुलीले जानकारी दिए।

उनले समूहको पहिलो होटल द नारायणी रिसोर्टमा यस क्षेत्रको सबैभन्दा ठूलो सभाहल र पार्किङको व्यवस्था भएकाले राष्ट्रिय ठूला कार्यक्रम धेरै हुने गरेको बताए। उक्त रिसोर्टमा एक हजारभन्दा बढी क्षमताको सभाहल, साना सभाहल र २३ वटा कोठा छन् । नारायणी नदी किनारमा भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ । विसं २०७४ मंसिरदेखि समूहले उक्त रिसोर्ट सञ्चालनमा ल्याएको थियो ।

भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । चितवनमा चार लाख र नवलपरासीमा एक लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य छ। गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले यस क्षेत्रमा पर्यटक लक्षित होटल सञ्चालनमा ल्याएर  समूहले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताए।

गैंडाकोट नगरक्षेत्रमा देवघाटधामसँगै मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, लक्ष्मी नृसिंह दिव्यधाम र मणि मुकुन्दसेन दरबारजस्ता धार्मिक पर्यटकीयस्थल र नारायणी नदी रहेको भन्दै उनले यस्ता होटलले पर्यटकको बसाइँ लम्ब्याउने बताए।