प्रदेश २ मा सुरू भयो छोरी बीमा सप्ताह, पोहोरदेखि जन्मिएका छोरीको एक लाख रूपैयाँको बीमा 

बिजमाण्डू
२०७६ माघ २ गते १८:३९ | Jan 16, 2020
प्रदेश २ मा सुरू भयो छोरी बीमा सप्ताह, पोहोरदेखि जन्मिएका छोरीको एक लाख रूपैयाँको बीमा 


Tata
GBIME
Nepal Life

वीरगंज। प्रदेश नम्बर २ सरकारले 'मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान' अन्तर्गत सुरू गरेको 'छोरी शिक्षा बीमा शिविर' सप्ताह सुरू भएको छ। 

योजनाको गत वर्ष फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अभियान उद्घाटन गरेकी थिइन्। वीरगंजको त्रिजुद्ध माध्यमिक विद्यालयबाट उद्घाटन भएको कार्यक्रम प्रदेश २ का आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमा एकैसाथ सुरू भएको छ। 

शिविरको पहिलो दिन पर्सामा ६५, बारामा १ सय ४०, रौतहटमा ६५, सर्लाहीमा २ सय ४६, महोत्तरीमा ७४, धनुषामा ५२, सिरहामा ४० र सप्तरीमा १ सय ७ गरी बिहीवार ७ सय ८४ जनाको बीमा भएको छ। प्रदेश २ का आठ जिल्लामा महानगरमा चार दिन, उपमहानगरमा तीन दिन, नगरपालिकामा दुई दिन र गाउँपालिकामा एक दिन बीमा गर्ने काम हुनेछ।

शिविर चलेको स्थानमा २०७५ माघ १ पछि जन्मेका छोरीको जन्मदर्ता प्रतिलिपी र अभिभावकको नागरिकता लगे शिविरस्थलमै फोटो खिचेर २० वर्षका लागि एक लाख बीमांक रकमको बीमा खोल्ने काम सुरू भएको छ। 

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले बीमा शिविर सप्ताहको उद्घाटन गर्दै भने, ‘वर्षमा २५ हजार छोरीहरूको जन्म हुने भएतापनि गत वर्ष मात्र ९ हजारको हाराहारीमा बीमा भएको छ।’

उनले बीमाले छोरीको बालविवाहलाई रोक्ने र उसको उच्च शिक्षाको लागि सहयोग गर्ने बताए। कार्यक्रमका बोल्दै पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले अगामी दिनमा प्रदेश सरकारलाई बीमाको रकम बढाएर ५ लाखदेखि ७ लाखसम्म पुर्‍याउन सुझाव दिए।

कार्यक्रममा प्रदेश सांसदहरू जन्नत अन्सारी, शिगांसन साह कलवार, बीमा यादव, वीरगंज महानगरकी उपमेयर शान्ति कार्की, प्रभु बैंकका प्रादेशिक प्रबन्धक मन्त्रीलाल गुप्तालगायतको सहभागिता रहेको मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले जानकारी दिए।