एनसेलको टावरमा श्रृंखलावद्ध आगजनी, ५० भन्दा बढी टावर क्षति, सुरक्षामा सरकार चुक्यो

बिजमाण्डू
२०७६ माघ १ गते १४:४८ | Jan 15, 2020
एनसेलको टावरमा श्रृंखलावद्ध आगजनी, ५० भन्दा बढी टावर क्षति, सुरक्षामा सरकार चुक्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल दूर सञ्चार प्राधिकरणले मोबाइल सेवाका टावरमा क्षति पुर्‍याएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

‘विगत केही समयको अन्तरालमा मोबाइल सेवाका टावरहरुमा क्षति पुर्‍याइ सेवा अवरुद्ध गर्ने कार्य भएको प्रति यस नेपाल दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रूपमा स्थापित भइसकेको सन्दर्भमा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने हुन्छ। तसर्थ नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूर सञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावर लगायतका प्रणालीमा क्षति नपुर्‍याउन र त्यस्तो कार्य तत्काल बन्द गरी निर्वाध रुपमा दूर सञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन सम्वन्धित सबैमा अनुरोध गरिन्छ।‘

प्राधिकरणले यो विज्ञप्ति जारी गर्नु पछाडि निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलका टावरमाथि भइरहेको श्रृंखलाबद्ध आगजनी गर्नु प्रमुख कारण थियो। पछिल्लो एक वर्षको अवधिमा निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलका ५० भन्दा बढी टावरमा अज्ञात समूहले आगजनी गरेर क्षति पुर्‍याएका छन्। त्यो आक्रमणबाट ३० जिल्लामा रहेका ती टावर क्षति हुँदा दूर सञ्चार सेवानै प्रभावित भएको छ।

पछिल्लो केही सातादेखि तनहुँ, बारा, गोरखा, सुर्खेत, नुवाकोट र ललितपुर लगायतका जिल्लामा रहेका टावरहरुमा आगजनी गरिएको छ। ‘दूर सञ्चार जस्तो अत्यावश्यक सेवामा भइरहेको श्रृंखलावद्ध आगजनीले उपभोक्ता सेवाबाट वञ्चित भएका छन्,’ दूरसंचार प्राधिकरणका एक अधिकारीले भने ,’टावरमा आगजनी गर्नु सार्वजनिक अपराध हो र यस्ता कार्य दूर सञ्चार ऐनमा समेत वर्जित छ।’ श्रृंखलावद्ध रुपमा टावर माथि आगजनी हुँदा समेत सरकारले भरपर्दो सुरक्षा दिन सकेको छैन।

‘निरन्तर टावरमा आक्रमण हुँदा समेत सुरक्षाको भरपर्दो उपाय अवलम्बन गरेको देखिँदैन। यसले विदेशी लगानीकर्तालाई समेत सशंकित बनाएको छ। यस्ता घट्नामा संलग्नलाई पत्ता लगाएर कारवाहीको दायरमा ल्याउनुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले भने,’करका विवादका कारण आक्रमण गरिएको भनिएको छ। तर कम्पनीले सरकारले तोकेको वार्षिक राजस्वसँगै पुँजीगत लाभकर समेत तिर्न थालिसकेकोले आक्रमण गर्नुको कुनै अर्थ छैन।’ कम्पनीले स्थापनाकालदेखि अहिलेसम्म २ खर्ब १० अर्ब कर तिरिसकेको छ भने सर्वोच्च अदालतको फैसलापछि ठूला करदाता कार्यालयले निर्धारण गरे अनुसारको पहिलो किस्ता ४ अर्ब ५० करोड रुपैयाँ दाखिला गरिसकेको छ।