भिस्तारा एयरलाइन्सले दिल्ली काठमाडौं उडान गर्ने, १६,९९९ भारुमा काठमाडौंबाट राउण्ड ट्रिप

बिजमाण्डू
२०७६ माघ १ गते ११:०७ | Jan 15, 2020


काठमाडौं। भारतको भिस्तारा एयरलाइन्सले दिल्ली-काठमाडौं उडान सुरू गर्ने भएको छ।  भिस्ताराले आगामी फेब्रुअरी ११ तारिख (माघ २८) देखि दैनिक दिल्ली-काठमाडौं-दिल्ली उडान गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

'भारतसँग ब्यापारिक र सांस्कृतिक रुपमा प्रगाढ सम्बन्ध भएको देशमा सेवा सुरू गर्न पाउँदा खुसी छौं र यो सेवा सुरुवातका लागि भिजिट नेपाल २०२० भन्दा उपयुक्त अवसर अर्को के नै हुन सक्थ्यो र !,' भिस्ताराका सिइओ लेस्ली थाङले भने, 'त्यसकारण हामीले काठमाडौंलाई भिस्ताराको नेटवर्कमा समावेश गरेका हौं। भारतको पाँचतारे एयरलाइन्सका रूपमा हामी नेपालको पर्यटन क्षेत्रको वृद्धिमा अर्थपूर्ण योगदान दिनेछौं।'

भिस्ताराबाट उडानका लागि बुधबारदेखि नै बुकिङ सुरु भएको एयरलाइन्सले विज्ञप्तीमार्फत जनाएको छ।

दिल्लीबाट काठमाडौं राउण्ड ट्रिप फेयर इकोनोमी क्लासको नौ हजार नौ सय नौ तथा बिजनेस क्लासको ३९ हजार ९ सय ९९ भारू टिकट दर तोकिएको छ।

यसैगरी काठमाडौंबाट दिल्ली जाँदा र फर्कदा इकोनोमी क्लासमा १६ हजार ९ सय ९९ र बिजनेस क्लासको ६१ हजार ९ सय ९९ भारू राउण्ड ट्रिप फेयर रहने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

भिस्ताराको भारतमै ठूलो आन्तरिक सञ्जाल छ। भिस्ताराले उडान सेवामार्फत बंगलुरु, चेन्नइ, हैदराबाद, मुम्बइ तथा पुणे जस्ता सहरहरूलाई एक अर्कासँग जोडेको छ।

टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको ज्वाइन्ट भेन्चर भिस्तारा एयरलाइन्सले नेपालमा पाँचौ अन्तराष्ट्रिय गन्तब्यका रुपमा आफ्नो सेवा विस्तार गरेको हो।