चेक जम्मा गर्नेको पनि तीन पुस्ते खोज्ने ‘गो-एएमएल’ मा डेढ दर्जन बैंक ‘लाइभ’, ५ करोड जरिवाना

बिजमाण्डू
२०७६ पुष २९ गते ०९:३१ | Jan 14, 2020
चेक जम्मा गर्नेको पनि तीन पुस्ते खोज्ने ‘गो-एएमएल’ मा डेढ दर्जन बैंक ‘लाइभ’, ५ करोड जरिवाना


काठमाडौं। माघ १ गतेदेखि औपचारिक रूपमा कार्यान्वयनमा आउन लागेको 'गो–एएमएल' प्रणालीमा डेढ दर्जन वाणिज्य बैंकहरू आबद्ध भएका छन्। भोलिबाट बाँकी बैंकले पनि अनिवार्य रूपमा गोएएमएलमा आबद्ध हुनु पर्ने छ।

Tata
GBIME
Nepal Life

बैंकहरूसँग लामो छलफल गरेपछि अन्तत: राष्ट्र बैंकले 'एन्टी मनि लाउण्ड्रिङ सिस्टम' अनिवार्य रूपमा कार्यान्वयन गर्न लागेको हो। तैपनि ठूला तथा पुराना र सरकारी बैंकमा कार्यान्वयनमा जटिलता देखिएको छ।

राष्ट्र बैंकका अनुसार, सनराइज, माछापुच्छ्रे, कुमारी र नबिलजस्ता बैंकहरू गोएएमएलमा एक सातादेखि आबद्ध भएर 'लाइभ' गइसकेका छन्। 

ठुला बैंकहरूको कोर बैंकिङ सिस्टम बिदेशमा रहेकाले पनि समन्वय गर्न गाह्रो भएर कार्यान्वयनमा अप्ठेरो देखिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए। 'कुनै समस्या नआओस् भनेर हामी दिनरात काम गरिरहेका छौं,' ती अधिकारीले भने, 'गो-एएमएल प्रणाली विदेशी भएकाले बाहिर पनि समन्वय गर्नु पर्ने अवस्था छ।'

राष्ट्र बैंकले गत वर्ष नै कार्यान्वयन गर्न खोजेपनि बैंकहरूले केही अप्ठेरो भएकाले समय माग्दै आएका थिए। बैंकहरूले समय मात्रै माग्ने, तर कार्यान्वयन गर्नतिर गम्भिरता नदेखाएपछि राष्ट्र बैंकले मिति नै तोकेर माघ १ गतेबाट कार्यान्वयन सुरू गर्न लागेको हो।

सम्पत्ति शुद्धीकरण (एन्टी मनी लाउन्ड्रिङ) का कारण राष्ट्र बैंकले गो-एएमएलको ब्यवस्था कार्यान्वयनमा ल्याएको हो। केही वर्षअघि 'नो योर कस्टमर' (केवाइसी) कार्यान्वयनपछि राष्ट्र बैंकले 'गो-एएमएल' सफ्टवेयर जोड्न सबै बैंकलाई निर्देशन दिएको हो। यो सफ्टेवयर कार्यान्वयनमा आएपछि बैंकले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्नेछ।

यदि कसैले कार्यान्वयन नगरेमा १० लाखदेखि ५ करोडसम्म जरिवाना तिर्नुपर्ने हुन्छ। जरिवाना रकम बढ्दै जाने छ। माघ १ बाट बैंकहरूले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आफ्नो आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नुपर्छ।

सम्पति शुद्धीकरणसँग सम्बन्धित सफ्टवेयर गो-एएमएलमा समावेश हुन बैंकहरूले आफ्नो 'कोर बैंकिङ सिस्टम (सीबीएस)' लाई अपग्रेड गर्नुपर्छ। अधिकांश बैंकहरूले अपग्रेड गरिसकेका छन्। नियामकीय व्यवस्था र व्यवहारिक रूपमा समेत नभएको तथ्यांकहरू समेत गो–एएमएलमा समाविष्ट गर्नुपर्छ, जुन कुरा अधिकांश बैकहरूसँग अहिले छैन। गो-एएमएल आपराधिक कार्यका लागि हुने पैसाको कारोबार माथि निगरानीका लागि विकास गरिएको सफ्टवेयर सिस्टम हो। 

ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरूमार्फत नै कारोबार हुने भएकाले अपराध रोकथाममा यो प्रणाली स्टेट बैंक अफ पाकिस्तानले सुरूमा प्रयोगमा ल्याएको थियो। यसको सिस्टमअन्तर्गत संदिग्ध लागेका कारोबार निगरानीको सूचना राष्ट्र संघको लागूऔषध र अपराध रोकथामसम्बन्धि फिनान्सियल मोनिटरिङ युनिटले हेर्छ। 

सम्पति शुद्धीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा सूचनाहरू समाविस्ट गरेर त्यसका आधारमा बलियो नियमन तथा सुपरिवेक्षण गर्न गो-एएमएल नेपालमा पनि लागू भएको हो। एक बैंकरका  अनुसार नियमनकारी निकायले पनि नखोज्ने र बैंकलाई पनि आवश्यक नलागेको विवरणहरू गो-एएमएलमा भर्नुपर्छ। नयाँ विवरण लागू भएको मितिको गर्न मिले पनि पुरानो विवरण बैंकहरूसँग छैनन्। 

ती सबैको ब्यवस्था मिलाउन अहिले बैकहरूलाई हम्मे-हम्मे परेको छ। जस्तो अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको विवरण माग्छ। तर कतिपय ग्राहकले बिहान ५ लाख र बेलुका ६ लाखको कारोबार गर्दा दिनभरमा ११ लाखको कारोबार हुन्छ। यसरी टुक्रयाएर हुने कारोबारको विवरण कतिपय बैंकहरूसँग हुँदैन। तर केही बैंकले भने आफ्नो प्रणालीलाई सुधार गरिसकेका छन्।

अहिले बैंकहरूले १० लाख माथिको र शंकास्पद कारोबारको विवरण मात्रै राख्दै आएका छन् र यो विवरण राष्ट्र बैंकलाई उपलब्ध गराउँछन्। अब भने सबै कारोबारको विवरण बैंकको कोर बैंकिङ सिस्टम हुँदै गो-एएमएलमा ठोकिन्छ। गो-एएमएलमा जानका लागि चेक जम्मा गर्नेको नाम, ठेगाना र सम्पर्क नम्बरदेखि अन्य विवरण पनि भर्नु पर्छ। 

यस्ता ससाना विवरण नभइ गो-एएमएलले मान्दैन। भरेको विवरण पनि बैंकमै फिर्ता आउँछ। काम हुँदैन। नयाँ प्रणालीमा जाँदा बैकहरूले पुराना कुराहरू पनि खोजेर राख्नु पर्छ। आफ्नो सूचना प्रणालीलाई बलियो बनाउनु पर्छ। नयाँ प्रणाली लागू भएसँगै बैंकमा जाने ग्राहक पहिले भन्दा केही बढी समय लाग्छ भनेर तयार भएर जानुपर्छ। किनभने काउन्टरमा बस्नेले ग्राहकसँग सबै कुराकानी गरेर  आवश्यक विवरण भरेर मात्र कारोबार हुन्छ।

हिजो सिंगल इन्ट्री हुन्थ्यो भने अबदेखि दुवै पक्षको इन्ट्री हुन्छ। त्यसो हुँदा समय बढी लाग्छ। नयाँ प्रणालीअनुसार सामान्य लागेका विवरणहरु पनि भर्नुपर्ने हुन्छ। नयाँ प्रणालीका लागि धेरै थरिका सूचना भर्नुपर्ने भएकाले ग्राहकका लागि सेवामा समय बढि लाग्छ।