इन्भेष्टमेन्ट बैंक बिग मर्जर गर्दै, अध्यक्ष पाँडेले भने- म अध्यक्ष पद छाड्दिन्छु         

बिजमाण्डू
२०७६ पुष २८ गते १५:०५ | Jan 13, 2020
इन्भेष्टमेन्ट बैंक बिग मर्जर गर्दै, अध्यक्ष पाँडेले भने- म अध्यक्ष पद छाड्दिन्छु         

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई वर्षयता खुद्रे मर्जर गरिरहेको नेपाल इन्भेष्टमेन्ट बैंकले अब 'बिग मर्जर' गर्ने भएको छ। सोमबार मात्रै बैंकले नेपाल एक्सप्रेस फाइनान्सलाई गाभ्ने निर्णय गरेको छ । यसअघि बैंकले एस डेभलपमेन्ट बैंक र जेबिल्स फाइनान्सलाई गाभिसकेको छ।

अब खुद्रे होइन बिग मर्जर गर्ने घोषणा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका छन्। सोमबार बैंकको वार्षिक साधारणसभामा पाँडेले बिग मर्जर नगरी सुख नभएको बताए।

अहिलेकै जस्तो तरिकाले चल्दा बैंकहरुले विगतको जस्तो लाभांश आगामी दिनमा बाँड्न नसक्ने तर्क दिँदै पाँडेले भने, 'अब एक्लै हिँड्दा खर्चले पनि धान्न सक्दैन। मर्जरमा जानु पर्छ।'

पाँडेले साधारणसभामा बिग मर्जरको चर्चा मात्रै गरेका होइनन्, बैंकले तीनवटा बैंकसँग कुराकानी थालिसकेको छ। राष्ट्र बैंकको सुझाव र बैंकको आफ्नै बाध्यताका कारण पनि इन्भेष्टमेन्ट बिग मर्जरमा जान खोजेको हो। राष्ट्र बैंकले इन्भेष्टमेन्टलाई हिमालयन बैंकसँग मर्ज गर्न सुझाब दिँदै आएको छ।

इन्भेष्टमेन्ट बैंकको पुँजी जति ठूलो छ, तुलनात्मक रुपमा सञ्जाल कम छ। पछिल्ला पुस्ताका कतिपय बैंकहरू इन्भेष्टमेन्टको हाराहारीमा आइसकेका छन्। पछिल्लो समय तीनवटा जति ऋणमा समस्या देखिएको छ। तनहुँ हाइड्रोपावर, मेलम्चीको सिएमसी र रिद्धिसिद्धि टायलमा गएको ऋणमा समस्या देखिएको छ। यसवापत बैंकले एक अर्ब हाराहारी नोक्सानी ब्यवस्थापन गरिसकेको छ।

अर्कोतर्फ इन्भेष्टमेन्ट जस्तो बैंकले अर्को संस्था लिएर आफ्नो नीतिलाई सघाइदिओस् भन्ने राष्ट्र बैंकको चाहना पनि छ।

सबै विषयलाई ध्यानमा राखेर इन्भेष्टमेन्ट बैंकले चाँडैलै अर्को 'क' वर्गको बैंकलाई गाभ्न खोजेको हो।

यो पनि पढ्नुस्: हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच कुन सर्तमा मर्जर हुनसक्ला?

बैंकका संस्थापक शेयरधनी बीचको 'इगो' ले गर्दा मर्जर हुन नसकेको भन्दै उनले भने, 'यो मेरो बैंक, यो मेरो बीमा कम्पनी भन्ने भावनाले मर्जरको काम अगाडि बढ्न नसकेको हो। तर मेरो चाहाना मर्जर हो।’

मर्जर किन आवश्यक छ भन्ने तर्क पनि पाँडेले साधारणसभामा दिएका छन् ।

उनले भने- सबैको लगातार खर्च बढिरहेको छ। यसमा खेल्ने ठाउँ छैन। एकै ठाउँमा सबैको शाखा र एटीएम छन्। हेर्नुस् त एउटै ठाउँमा १० वटा एटीएम छन्। यसले खाली एटीएम कम्पनीलाई मात्रै धनी बनाउने काम भइरहेको छ। 

बैंकिङ क्षेत्रमा नयाँ नयाँ कुरा आइरहेको छ। सूचना प्रविधि (आइटी) मै धेरै खर्च गरिरहनु परेको छ। आइटीसँग सम्बन्धित आपराधिक घटना भइरहेको छ। यसमा खर्च नगरी सुखै छैन। त्यसैले मर्जरमा गएर ठूलो हुँदा खर्च कम हुन्छ, चाहिँदो ठाउँमा लगानी बढाउन सकिन्छ।

'मर्जरमा जाने हो भने मलाई अध्यक्ष पद पनि चाहिँदैन। म अध्यक्ष हुन्छ भनेर अगाडि बढ्यो भने कहिले पनि मर्जर हुँदैन। बरु म सञ्चालक सदस्यमै बसुँला। म शेयरधनीहरुको स्वास्थका लागि काम गर्ने मान्छे हुँ,‘ उनले भने।

साधारणसभामा कतिपय शेयरधनीहरुले साना साना बैंकलाई गाभेर ठूलो बनाउन सुझाव दिएका थिए। तर अध्यक्ष पाँडेले खण्डन गर्दै भने ‘हामीले सानो मर्जर त गरिरहेका छौं। सानो मर्जरबाट हुँदैन। बिग मर्जर नै गर्नु पर्छ।’

अहिले भएको २७ बैंकलाई १४ मा झर्नु पर्ने विश्लेषण पाँडेले सुनाए। 'मैले अहिले योसँग कुरा भइरहेको छ भन्नु हुँदैन तर हामीले प्रयास गरिरहेका छौं,' उनले भने, 'म यहाँ अध्यक्ष भएका कारणले न शेयर खरिद गर्न पाउँछु, न बेच्न पाउँछु। यतिसम्मकी मैले शेयर धितोमा राखेर कर्जा लिन पनि पाउँदिन,' उनले भने, 'मर्जरमा मेरो ब्यक्तिगत कुरो केही पनि छैन। सबै शेयरधनीलाई फाइदा हुन्छ यसबाट।'

बैंकको साधारणसभाले साढे ८ प्रतिशत नगद लाभांश साढे १० प्रतिशत बोनस शेयर पारित गरेको छ। साधारणसभाले मर्जरको आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ।