नेपालमा समेत लगानी रहेको भारतीय पिएनबीको खराब ऋण अझै धेरै भेट्टियो, शेयर मूल्य झर्यो

बिजमाण्डू
२०७६ मंसिर ३० गते १५:०८ | Dec 16, 2019

Tata
GBIME
Nepal Life

नयाँदिल्ली। रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) को अनुगमनका क्रममा पञ्जाब नेशनल बैंक (पीएनबी) को गत वर्ष डुबेको ऋण रकम बढेको भेटिएको छ। यस्तो खराब कर्जा २६ सय १७ करोड भारूभन्दा बढि रहेको आरबीआइले भेट्टाएको छ।

आरबीआइले यति ठूलो खराब ऋण भेट्टाएपछि सोमबार पीएनबीको शेयर मूल्य तीन प्रतिशतले घटेको छ। शेयर मूल्य घटेका कारण शेयर लगानीकर्ताको एकैदिन १२ सय करोड भारू डुबेको छ। 

पीएनबीको २० प्रतिशत शेयर लगानी नेपालको एभरेष्ट बैंकमा छ।

पीएनबीले शेयर बजारको नियामक सेवीलाई दिएको विवरणअनुसार, २०१८/१९ मा पीएनबीएको खराब ऋण ८१ हजार ८९ करोड भारू पुगेको आरबीआइले भेट्टाएको हो। जबकी पीएनबी आफैंले भने ७८ हजार ४ सय ७२ करोड भारू मात्र खराब ऋण रहेको बताउँदै आएको थियो। पीएनबी र आरबीआइ बीचको खराब कर्जा अन्तर २६ सय १७ करोड रूपैयाँ भेटिएको हो।

सम्भावित नोक्सानीका लागि छुट्याउनु पर्ने रकममा पनि अन्तर देखिएको छ। कुल अन्तर  २०९१ करोड भारू देखिएको छ। आरबीआइले ११ हजार ३ सय ३५ करोड नोक्सानी ब्यवस्थापन गर्नुपर्ने भेट्टाएको छ। पीएनबीले भने ९ हजार ९ सय ७५ करोड भारू मात्रै गरेको छ।

सरकारी स्वामित्वको पीएनबीमा थुप्रै बैंकिङ फ्रड पनि भएका छन्। यसबाहेक औद्योगिक क्षेत्रमा गएका ऋणहरू पनि डुबेका छन्। अहिले सरकारलाई डुबेको ऋणले निक्कै अप्ठेरोमा पारेको छ। विपक्षीहरूले बैंकिङ ऋणका बारेमा प्रश्न गरिरहेका छन् भने सरकार भने मनमोहन सिंहकै पालाको रोगले अहिले समस्या भएको तर्क गरिरहेको छ।