इन्फ्रास्ट्रक्चर बैंकले अफसोर ऋणपत्र जारी गर्ने, लण्डन एक्सचेञ्जमा सूचीकरण, सिइओको तलव कति? 

बिजमाण्डू
२०७६ मंसिर २९ गते १७:४४ | Dec 15, 2019
इन्फ्रास्ट्रक्चर बैंकले अफसोर ऋणपत्र जारी गर्ने, लण्डन एक्सचेञ्जमा सूचीकरण, सिइओको तलव कति? 



काठमाडौं। नेपाल इन्फ्रस्ट्रक्चर बैंकले पाँच अर्ब रूपैयाँ बराबरको अफसोर बण्ड जारी गर्ने भएको छ। बैंकले विदेशी वित्तीय बजारबाट यो पैसा भित्र्याउने भएको हो।

Tata
GBIME
Nepal Life

वार्षिक साधारणसभामा बोल्दै बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशबाट पैसा ल्याउने तयारी भइरहेको बताएका हुन्। उनले यो बण्ड लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने पनि बताए।

उनले आगामी १० वर्षभित्र नेपालको विकासको लागि १०० खर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको बताउँदै उनले यसमध्ये इन्फ्रास्ट्रक्चर बैंकबाट केही योगदान पुर्‍याउने बताए।

बैंकले प्राथमिक शेयर निष्कासन पनि गर्ने भएको छ। बैंकले एक वर्षभित्र ८ अर्बको साधारण शेयर जारी गर्ने तयारी गरेको छ। २० अर्ब रूपैयाँ शेयर पुँजी, ५ अर्ब रूपैयाँको अफसोर बण्ड र ५० करोड रूपैयाँको निक्षेपसहित २५ अर्ब ५० करोड रूपैयाँ पूर्वाधार क्षेत्रमा लगानी गर्न सक्ने अवस्थामा बैंक पुग्न लागेको उनले जानकारी दिए। 

अहिले बैंकले कास्कीको ३२ मेगावाट क्षमताको झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा एक अर्ब ५० करोड रूपैयाँ कर्जा लगानी गर्ने भएको छ। त्यस्तै मिडल मेवा हाइड्रोपावर प्रोजेक्ट निर्माणको लागि एक अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गर्ने भएको छ। 

सिइओको तलव ७८ लाख
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले गत आर्थिक वर्ष पारिश्रमिक, भत्ता तथा अन्य सुविधावापत ७७ लाख ७५ हजार रूपैयाँ बुझेका छन्। उनीसहित उच्च व्यवस्थापनले भने दुई करोड ४४ लाख रूपैयाँ पाएका छन्। 

पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित गत वर्षदेखि सञ्चालनमा आएको बैंकले आइतबार प्रथम वार्षिक साधारणसभा गरेको हो। बैंकले जारी पुँजीको ४० प्रतिशत शेयर जारी गर्ने छ। यसमध्ये ०.२ प्रतिशत कर्मचारीका लागि छुट्याइएको छ।

पहिलो साधारणसभाले तीन जना सञ्चालकलाई निर्वाचित गरेको छ। निर्वाचिन हुनेमा अनुज अग्रवाल, लालमणि जोशी र चन्द्रप्रसाद ढकाल छन्। सरकारले भने रामशरण पुडासैनीलाई प्रतिनिधि पठाएको छ।