नयाँदिल्ली। मन्दी उन्मुख अर्थतन्त्रलाई गति दिने गरी भारत सरकारले आगामी बजेटको तयारी सुरु गरेको छ। फरवरी १ तारिखका दिन सार्वजनिक गर्ने तयारी भइरहेको बजेटका लागि अर्थमन्त्री निर्मला सीतारमणले बजेट छलफलकै लागि भोलिबाट ब्यस्त हुने भएकी छिन्।
सीतारमणले भोलिबाट पूर्व तयारी बैठक गर्ने छिन्। पहिलो बैठक उनले स्टार्टअप्स, फिनटेक र सुचना प्रविधि क्षेत्रसँग सम्बन्धित अधिकारीहरुसँग गर्ने छिन्। दोस्रो बैठक वित्ती तथा पुँजी बजार क्षेत्रका अधिकारीहरुसँग गर्ने छिन्। सरकार सबै बैठकमा ती ब्यक्तिहरुसँग छलफल गर्ने छ जसलाई धेरै भन्दा धेरै सुधारको आवश्यकता छ र सरकारी सहजीकरणले अझ राम्रो बन्ने छ।
सीतारणमले उद्योग, सेवा, ब्यापार, कृषि क्षेत्रका प्रतिनिधिका साथै अर्थशास्त्रीहरुसँग पनि छलफल गर्ने छिन्।
अहिले नरेन्द्र मोदी सरकार आर्थिक रुपमा एकदमै चुनौतीपूर्ण अवस्थामा छ। सरकारलाई उपभोगको माग बढाउनु पर्ने वाध्यता छ। भारतीय उपभोग घट्दा अहिले अर्थतन्त्र मन्दी उन्मुख देखिएको छ। पछिल्लो कैयौं त्रैमासिक प्रतिवेदनहरुले भारतको अर्थतन्त्र बृद्धि दर घटेको देखाइरहेको छ।
बजेटको माध्यमबाट अर्थिक कृयाकलाप वढाउनु पर्ने दबाबमा यतिबेला सीतारमण छिन्। त्यही भएर पनि यसपाली उनले हरेक क्षेत्रका ब्यक्तिहरुसँग गम्भीर छलफल गर्ने योजना बनाएकी छिन्। चालु बर्ष भारतको बृद्धि दर साढे ४ प्रतिशतमा झर्ने प्रक्षेपणहरु सार्बजनिक भइरहेका छन्।
सरकारले बजेट पूर्व पनि थुप्रै राहत प्याकेज ल्याए पनि त्यसले काम गर्न सकेको छैन। त्यही भएर पहिलो महिला अर्थमन्त्री सीतारणमलाई अर्थतन्त्र गतिशिल बनाउनु पर्ने ठूलो दबाब छ। अर्थतन्त्रमा मन्दी आइसकेको भन्दै विपक्षी दलहरुले सरकारलाई आक्रमण गरिरहेका छन्।