दुई सातादेखि बढेको बजारमा तेस्रो साताको प्रारम्भमै ब्रेक, अन्तिममा किन कमजोर मनोविज्ञान 

बिजमाण्डू
२०७६ मंसिर २९ गते १५:३६ | Dec 15, 2019
दुई सातादेखि बढेको बजारमा तेस्रो साताको प्रारम्भमै ब्रेक, अन्तिममा किन कमजोर मनोविज्ञान 



काठमाडौं। दुई सातादेखि लगातार बढेको शेयर बजार तेस्रो साताको प्रारम्भमै घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से )को कारोबार मापक सूचक  ४.७८ अंकले घटेर ११६७ अंकमा ओर्लिएको छ । 

Tata
GBIME
Nepal Life

मंसिर १६ देखि शेयर बजार लगातार बढ्दो क्रममा थियो । लगातार आठ कारोबार दिनमा सूचक ६० अंकले बढेकाले आइतबारको कारोबारमा समेत बजार बढ्ने अनुमान लगानीकर्ताको थियो । 

अनुमान अनुरूप सुरुवातदेखि नै बजार बढ्दो क्रममा देखिएको लगानीकर्ता ध्रुव पाण्डेले बताए । 'सुरूवाती कारोबारमा लगानीकर्ताको मनोबल स्ट्रङ देखिएको थियो,' उनले भने, 'तर कारोबारको तेस्रो घण्टापछि भने अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न खोजे । जसले बजार बिस्तारै ओर्लन सुरू गर्‍यो ।' तर अन्तिम आधा घण्टामा बजार पुनः सम्हालिएका कारण दोहोरो अंकले घटिसकेको बजार एकल अंकमा समेटिएको उनले बताए । 

अल्पकालीन लगानीकर्ताकै कारण आइतबार शेयर बजार घटेको उनको ठम्याइ छ । कारोबारमा आएका धेरैजसो कम्पनीको शेयर मूल्य घटेपछि शेयर सूचकमा दबाब परेको थियो ।  

आइतबार १ सय ७२ कम्पनीको शेयर कारोबार भयो । जसमा ४३ कम्पनीको शेयर मूल्य बढ्यो भने १ सय २ का शेयर मूल्य घटेको छ । १५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कारोबारमा धेरैजसो कम्पनीको शेयर मूल्य घटेको भए पनि कारोबार रकम भने बढेको छ । 

पछिल्लो समय २५ देखि ३० करोडमा सीमित हुन थालेको बजार यतिबेला आधा अर्बभन्दा माथि उक्लिन थालेको छ । १ सय ७२ कम्पनीका २० लाख ७२ हजार कित्ता शेयर ६८ करोड ६० लाख रूपैयाँमा कारोबार भयो । 

सबैभन्दा बढी कारोबार हुने कम्पनीको सूचीमा एनएमबि बैंक र नेपाल बैंक छन् । एनएमबि बैंकको मात्रै ६ करोड ३७ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल बैक ४ करोड ५४ लाख रूपैयाँको कारोबार गर्दै दोस्रो भएको छ । 

उपसूचक मिश्रित देखिएका छन् । १२ समूहको कारोबारमा तीन समूहको उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेका छन् ।