सस्तो भयो निर्माण सामग्री, सिमेन्ट, डन्डी, बालुवाको मूल्य घट्यो, काठको मूल्य यथावत

बिजमाण्डू
२०७६ मंसिर २९ गते ०९:२७ | Dec 15, 2019
सस्तो भयो निर्माण सामग्री, सिमेन्ट, डन्डी, बालुवाको मूल्य घट्यो, काठको मूल्य यथावत

Tata
GBIME
Nepal Life

काठमाडौं। घर निर्माणको सिजन सुरू हुनैलाग्दा यो वर्ष निर्माण सामाग्रीहरूको मूल्य सस्तिएको छ । निर्माणमा प्रयोग हुने सिमेन्ट, डन्डी, ढुंगा, रोडा र बालुवालगायतको मूल्य अहिले घटेको देखिन्छ । काठको भाउ भने घटबढ भएको छैन । 

निर्माण सामग्री उत्पादन उद्योगहरू बीचको मूल्य प्रतिस्पर्धा, विद्युतको सहज आपूर्तिका कारण उत्पादन लागतमा कमी आउनुका साथै उत्पादनकमा केही हदसम्म आत्मनिर्भरताका कारण बजारमा निर्माण सामग्रीको भाउ घटेको व्यवसायीहरूले बताएका छन् । 

अर्कोतर्फ, विगतका वर्षहरूका तुलनामा घर निर्माण हुने क्रम पनि यसपालि निकै कम भएकाले बजारमा निर्माण सामग्रीको माग घटेको छ । यसको असरस्वरूप निर्माण सामाग्री आपूर्ति चाप बढेको छ । यसकारण पनि उद्योगीहरुले विद्युत् सहज भएको बेला क्षमताभन्दा न्यून उत्पादनको अवस्थामा बसिरहन नपरोस् भन्ने सोचले निर्माण सामग्रीको मूल्य गत वर्षभन्दा घटाएर बजारमा पठाएका छन् । भूकम्पबाट भत्किएका धेरै घरहरूको पुनर्निर्माण भइसकेकाले पनि पछिल्ला दुई/तीन वर्षयताको तुलनामा अहिले घर निर्माण संख्या घटेको व्यवसायीहरूले बताएका छन् ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भन्छन् ‘बजारमा सिमेन्ट कम्पनीहरुबीचको प्रतिस्पर्धा, उत्पादन खर्चमा आएको कमी र अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य घटेकाले समग्रमा सिमेन्टको मूल्य घटेको हो ।’ अहिले सिमेन्टको मूल्यमा पोहोरको तुलनामा एक सय ५० देखि दुई सय रूपैयाँसम्मले कमी आएको उनले बताए ।

सिमेन्ट कम्पनीहरूले दिएको जानकारी अनुसार पीपीसी सिमेन्ट अहिले बोरा (५० केजी) को ६ सयदेखि सात सय रूपैयाँसम्ममा आउँछ । ओपीसी मूल्य बोराको सात सयदेखि नौ सय रूपैयाँसम्म छ । निर्माणको सिजन अझै गहिरिएपछि सिमेन्टको मूल्य बोरामा २० देखि ३० रूपैयाँसम्म बढ्न सक्ने थापाको भनाइ छ । त्यसो हुँदा पनि गत वर्षको भन्दा यसपालि सिमेन्ट सस्तो नै हुने उनले बताए । 

स्वदेशी उद्योगहरूबीच क्लिंकरमा मूल्य प्रतिस्पर्धा र सिमेन्टको माग कम भएकाले पनि अहिले सस्तिएको उद्योगीहरूको भनाइ छ । उत्पादनमा आत्मनिर्भर भइसकेकाले अहिले भारतीय सीमानिकट साना उद्योगहरुलाई अपवाद मान्ने हो भने क्लिंकर आयात बन्द नै भइसकेको छ । होङ्सी शिवमले ठूलो परिमाणमा क्लिंकर उत्पादन थालेयता नै बढेको मूल्य प्रतिस्पर्धाले अहिले क्लिंकरको भाउ टनको साढे ८ हजारबाट साढे ७ हजारमा झरिसकेको छ । 

घर बनाउन प्रयोग हुने फलामे डन्डी पनि ६ महिनाअघिको तुलनामा यतिबेला सस्तो भएको छ । काठमाडौंको गोकर्णेश्वरस्थित राजेश हार्डवेयरको शाखाले दिएको जानकारीअनुसार अहिले बजारमा डन्डी ७१ देखि ७६ रूपैयाँ प्रतिकिलोमा पाइन्छ । जबकि ६ महिनाअघि डन्डीको मूल्य प्रतिकिलो ७४.२५ रुपैयाँदेखि ८०.५० रुपैयाँसम्म रहेको थियो । बिक्रेताहरुका अनुसार डन्डीको मूल्य पछिल्लो महिनामा मात्र एक किलोमै एकदेखि दुई रूपैयाँसम्म सस्तिएको छ । नयाँ डन्डी उत्पादनमा पनि नयाँ उद्योगहरु आउने तथा पुरानाले उत्पादन क्षमता बढाउने क्रममा रहेकाले बजारमा तीव्र प्रतिस्पर्धाका कारण मूल्य घटेको व्यापारीहरूको भनाइ छ । 

यस्तै, बालुवा, रोडा र ढुंगाको भाउ पनि ६ महिनायता घटेको देखिन्छ । गत आर्थिक वर्षको तुलनामा प्रतिटिपर करिब पाँच सयदेखि हजार रूपैयाँले घटेको बिक्रेता र डिपोका सञ्चालकहरूले बताएका छन् । अहिले ढुंगा प्रतिटिपर १६ हजार रूपैयाँसम्म पर्छ भने बालुवा २७ हजार र रोडा २४ हजार ५ सय रूपैयाँमा पाउन सकिने व्यापारीहरुले बताए । ढुवानी खर्चमा आएको कमीले पनि गिटी-बालुवाको भाउ घटेको उनीहरूले बताए । 

अन्य निर्माण सामग्रीहरुको मूल्य घटिरहँदा बजारमा इँटा तथा काठको भाउ भने स्थिर छ । मूल्य नघटे पनि स्थिर रहँदा घर बनाउने योजना बनाइरहेका उपभोक्ताका लागि भने अहिले राहतको अवस्था छ । 

पछिल्लो तीन/चार महिनायता बजारमा इँटाको मूल्यमा परिवर्तन आएको छैन । उपत्यकामा अहिले एक नम्बर लोकल इँटाको मूल्य गोटाको १४ देखि १६ रूपैयाँसम्म रहेको पाइएको छ । यस्तै, दुई नम्बर इँटाको मूल्य एक नम्बरभन्दा गोटामा साढे २ रूपैयाँले कम पर्ने देखिएको छ । दुई नम्बर इँटाको प्रतिहजार ११ हजार ५ सयदेखि १३ हजार ५ सय रूपैयाँसम्म पर्ने महेश्वरी इँटा भट्टाका सञ्चालक राजाराम हिसुतीले बताए ।

केही महिना अघिसम्म गोटाको २२ रूपैयाँसम्म पुगेको एक नम्बर चाइनिज इँटाको मूल्य भने अहिले करिब २ रूपैयाँले सस्तिएको छ । एक नम्बर चिनियाँ इँटाको अहिले प्रतिहजार १९ हजार ७ सय ७५ रूपैयाँसम्म र दुई नम्बरको १६ हजार ९ सय ५० रूपैयाँ रहेको भक्तपुर इँटा तथा टायल उद्योग प्रालिका वित्त व्यवस्थापक रवीन्द्र किबानायोले बताए । उनकाअनुसार इँटाको मूल्य हरेक ६ महिनामा समायोजन हुने गरेको छ । 

यस्तै, काठको मूल्य पनि घटबढ नभएको व्यवसायीले बताएका छन् । बजारमा सालको काठ प्रतिक्यूविक फीट साढे पाँच हजार रूपैयाँ, सल्लोको प्रतिक्यूफीट १६ सयदेखि २२ सय रूपैयाँ र साजको काठ प्रतिक्यूफीट ३५ सय रूपैयाँसम्म छ । जिल्ला वन कार्यालयले काठको मूल्यमा कुनै हेरफेर नगरेको र राजस्व पनि वृद्धि नगरेकाले मूल्य घटबढ नभएको  व्यवसायीहरूको भनाइ छ ।