सडक मर्मतका लागि छुट्याइएको रकम खर्च भएन, मर्मतमा भन्दा नयाँ निर्माणमा लाग्दा समस्या

रासस
२०७६ मंसिर २७ गते १४:३५ | Dec 13, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सडक बोर्ड नेपालले काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि छुट्याएको रकम खर्च हुन सकेको छैन।

विभिन्न जिल्लामा रहका डिभिजन सडक कार्यालय सडक मर्मतमा भन्दा नयाँ निर्माणमा लाग्दा मर्मतको काम योजनाभन्दा कम सम्पन्न भएको छ। केही वर्षदेखि बर्सेनि ८० देखि ८५ प्रतिशतसम्म मात्रै बजेट खर्च भइरहेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले बताए।

उनका अनुसार एकातिर सडक बोर्डले अझै पनि नेपाल सरकारबाट पाउनुपर्ने जति रकम पाइरहेको छैन भने अर्कातिर भएको बजेट पनि खर्च हुन सकिरहेको छैन। सडक डिभिजनलाई सडक विभागले नयाँ निर्माणमा लगाइरहेको छ। उनले भने, “नयाँ निर्माणको काम परियोजनामार्फत गरेर पनि डिभिजन कार्यालयलाई मर्मतको काममा लगाउनुपर्छ।”

सडक बोर्डले सडक उपभोग दस्तुर पेट्रोलियम पदार्थबाट सडक मर्मतका लागि बजेट व्यवस्थापन गर्दै आएको छ। संकलन भएको बजेट देशभरका डिभिजन सडक कार्यालयबाट खर्च भइरहेको उनले बताए।

गत आवमा रु २५ अर्ब रकम सङ्कलन भएकामा सडक मर्मत, सुधारका लागि आठ करोड छुट्याइएको छ। बोर्डले अहिलेसम्म सात स्थानमा सडक दस्तुर सङ्कलन गर्दै आएकामा छिट्टै थप सात स्थानमा दस्तुर संकलनको योजना बनाएको जनाएको छ।