प्रधानमन्त्रीले मागे अपर तामाकोशीको प्रगति विवरण, टेक्सम्याकोका कारण ढिला हुने अवस्था  

बिजमाण्डू
२०७६ मंसिर २६ गते १५:५३ | Dec 12, 2019
प्रधानमन्त्रीले मागे अपर तामाकोशीको प्रगति विवरण, टेक्सम्याकोका कारण ढिला हुने अवस्था  


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको दैनिक प्रगति माग्न थालेका छन्।

Tata
GBIME
Nepal Life

ढिलाइ भइरहेका बेला प्रगतिबारे प्रधानमन्त्रीले नै चासो लिँदा गर्दा विद्युत प्राधिकरणसँगै आयोजना पदाधिकारीमा चिन्ता बढेको छ। आगामी असारसम्म उत्पादन सुरू गर्ने लक्ष्यसहित दोलखा जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको उक्त आयोजनामा प्रधानमन्त्रीकै उच्च चासो रहेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

एन्ड्रिज हाइड्रोले बिहीबार आयोजना गरेको 'एन्ड्रिज डे' कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी आफ्नो मात्र नभएर सबै नेपालीको बहुप्रतिक्षित आयोजना भएकाले समयमै निर्माण सक्न एन्ड्रिज हाइड्रोलाई आग्रह गरे। एन्ड्रिजले सुरूमा इलेक्ट्रो मेकानिकल कामको ठेक्का लिएर निर्धारित समयमै आफ्नो काम सकेको थियो।

तर हाइड्रो मेकानिकल कामको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङले भने लक्ष्यअनुसार काम गर्न नसक्दा लक्षित मितिमा आयोजना निर्माण पुरा हुनेमा शंकाको स्थिति छ । इलेक्ट्रो मेकानिकल कामको ठेकेदार एन्ड्रिजले हाइड्रो मेकानिकल तर्फको पनि आधा कामको जिम्मेवारी लिएको थियो।

एन्ड्रिजले आधा काम सक्दा टेक्सम्याकोले २० प्रतिशतमात्रै 
अहिले एन्ड्रिजले आफ्नो ठेक्काको करिब ५० प्रतिशत काम सकिसक्दासम्म सुरुवाती ठेकेदार टेक्सम्याकोले भने २० प्रतिशतभन्दा कम मात्रै काम सकेको छ।

 ३७२ मिटर लामो तल्लो ठाडो सुरूङमा पेनस्टक पाइप जडानको जिम्मा पाएको एन्ड्रिजले १६० मिटर पाइप जडान गरिसकेको छ। यो कुल लम्बाइको ४३ प्रतिशतभन्दा बढि हो। सुरुङको लम्बाइ बढि भएकाले पहिलो पेनस्टक पाइप राख्न करिब सात घण्टा समय लागेको थियो। 

पेनस्टक पाइप राख्दै गएपछि सुरूङको लम्बाइ घटिरहेकाले अहिले पहिलेको तुलनामा आधा समयमै पाइप जडानको काम सकिने गरेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए।

सुरुङको लम्बाई घट्दै गएकाले आगामी दिनमा पाइप जडानको काम अझै छिटो हुने उनले दाबी गरे। तर टेक्सम्याकोले जिम्मा लिएको ३१० मिटर लामो माथिल्लो ठाडो सुरूङमा भने ६० मिटरमात्रै पेनस्टक पाइप जडान गरिएको छ। यो कुल लम्बाइको २० प्रतिशत मात्रै हो।

गत असारदेखि एकसाथ पेनस्टक पाइप जडानको काम सुरू गरेका दुई कम्पनीमध्ये अष्ट्रियन कम्पनी एन्ड्रिजले  आफ्नो जिम्माको आधा काम गरिसकेको छ।

टेक्सम्याकोको कामको गति निकै नै सुस्त छ । टेक्सम्याकोको भन्दा जटिल र ६२ मिटर थप लम्बाइ भएको सुरूङ भएर पनि एन्ड्रिजले द्रुत गतिमा काम गरिरहेको आयोजनाका अधिकारीहरू बताउँछन्। तर ६२ मिटर कम लम्बाइको सुरूङको जिम्मा पाए पनि टेक्सम्याकोले भने लक्ष्यअनुसार अझै पनि कामको गति बढाएको छैन। 


अन्य संरचनाको निर्माण सकिएको आयोजनामा पेनस्टक पाइप जडानको काम सकेपछि विद्युत उत्पादनका लागि जटिल मानिएका सबै काम सम्पन्न हुनेछन्।

एन्ड्रिजको काम गर्ने शैलीले आगामी असारभित्रै आयोजनाबाट विद्युत उत्पादन गर्न सम्भव देखिए पनि टेक्सम्याकोका कारण ढिला हुनसक्ने देखिएको छ ।