उद्योगमन्त्रीले व्यवसायीलाई भने-‘प्याज रोप्नुहोस्’, दुगडले भने- ‘प्रसाद जस्तै सेवा बाँड्छौं’

बिजमाण्डू
२०७६ मंसिर २६ गते ११:०० | Dec 12, 2019
उद्योगमन्त्रीले व्यवसायीलाई भने-‘प्याज रोप्नुहोस्’, दुगडले भने- ‘प्रसाद जस्तै सेवा बाँड्छौं’


Tata
GBIME
Nepal Life

वीरगंज। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सबै क्षेत्रमा चोर प्रवृति रहेको आरोप लगाउँदै उद्योग व्यवसाय क्षेत्रमा समेत रहेको जिकिर गरेका छन्।

वीरगंजमा बुधबार आयोजित भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भट्टले भने, ‘चोरहरू जहाँ पनि हुन्छ, पश्चिमको केही चोरले व्यवसायीलाई किसानलाई ठगेका छन्, उनीहरुको लिस्ट तयार भइरहेको छ । चोरलाई छुट हुँदैन, तपाइँहरू पनि सच्चिनुस।’ उनले गुणस्तरीय सामान उत्पादन गरेर उपभोक्तासम्म पुर्‍याउन आग्रह गर्दै गुणस्तरहीन उत्पादन गर्नेलाई सरकारले नछाड्ने चेतावनी दिए।

उद्योग मन्त्री भट्टले वीरगंजका व्यवसायीलाई प्याज रोप्न सुझाव पनि दिए। उनले भारतले निकासी प्रतिबन्ध गरेपछि प्याजको भाउ आकासिएको र चीनबाट आयातित प्याजले पनि नेपालको बजारको मागलाई धान्न नसकेको भन्दै नेपालमा हरेक किसानले प्याज रोप्ने बेला आएको बताए।

‘सबै कुरा छाडेर अहिले प्याज रोप्ने बेला आएको छ, तपाईहरू पनि रोप्नुस् र किसानहरूलाई पनि अभिप्रेरित गर्नुस्,’ उनले सुझाव दिँदै भने,‘उत्पादित प्याजलाई बजार दिने र भारत निर्यात गर्ने वातावरण सरकारले बनाउँछ।’ उद्योग राज्यमन्त्री मोतीलाल दुगडले समस्या पोख्ने दिन गएको र अब सरकारले केही परिवर्तन महसुस गराउने दाबी गरे। ‘सम्मान कार्यक्रम तर पीडा नै पीडा पोखिएको छ,' उनले भने, 'उद्योगी व्यवसायीले अब पीडा पोख्ने समय गयो।’

उद्योगी व्यवसायीको समस्या सुन्दै सत्यनारायण भगवानको प्रसाद जस्तै सरकारले सेवा दिन सुरू गरिसकेको उनले दाबी गरे। ‘उद्योगी व्यवसायीलाई घरमै रेड कार्पेट ओछ्याएर सुविधा दिनु पर्छ,त्यसैको लागि सरकारले एउटा प्रविधि पनि ल्याउँदै छ । घरमै उद्योग दर्ताको सबै प्रक्रियादेखि आन्तरिक मन्त्रालयहरूको काम गरिदिन्छ,’ उनले भने,‘हामी सत्यनारायण भगवानको प्रसाद जस्तै मन्त्रालयको सेवालाई व्यवसायीको घरमा पुर्‍याउँछौं।’

कार्यक्रममा वीरगंजका उद्योगी बाबुलाल चाचान र माधव राजपालले सिमेन्ट उद्योगको कच्चा पदार्थ आयातमा आएको समस्याका बारेमा आफ्नो धारणा राखेका थिए। वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले चामल,दाल र तेल उद्योगको समस्याका बारेमा जानकारी गराएका थिए।