भाटभटेनीको १७ औँ स्टोर सिद्धार्थनगरमा, सामानमा १० प्रतिशत छुट, एक वर्षभित्र सिनेमा हल

बिजमाण्डू
२०७६ मंसिर २६ गते १०:३९ | Dec 12, 2019
भाटभटेनीको १७ औँ स्टोर सिद्धार्थनगरमा, सामानमा १० प्रतिशत छुट, एक वर्षभित्र सिनेमा हल

Tata
GBIME
Nepal Life

काठमाडौं। भाटभटेनी सुपरमार्केट रूपन्देहीको सिद्धार्थनगरमा पनि सञ्चालनमा आएको छ । भाटभटेनीको यो १७ औं सुपरमार्केट हो ।

भाटभटेनी समुहका सञ्चालक मीनबहादुर गुरुङले बिहीबार बिहान हिन्दु वैदिक पद्धतिअनुसार पूजाआजा गरी सुपर स्टोरको उद्घाटन गरे। सिद्धार्थनगर नगरपालिका-७ को नयाँ सडकमा १० कठ्ठा जमिनमा १ लाख ३५ हजार वर्गफिटको सात तले भवनमा भाटभटेनी सुपर स्टोरको निर्माण गरिएको छ । यसमा दुई तलाको बेसमेन्ट छ।

स्टोरको भूइँतलामा ग्रोसरी, पहिलो तलामा किचनवेयर, दोस्रोमा तयारी कपडा र तेस्रो तलामा जुत्ता–चप्पल तथा इलेक्ट्रिकल सामान राखिएका छन्। फर्निचरका लागि छुट्याइएको चौथो र दुइवटा सिनेमा हलका लागि पाँचौं तला निर्माणाधीन छन्। चौथो तला आगामी तीन महिनाभित्रै सञ्चालनमा आउने र एक वर्षभित्र सिनेमा हल सञ्चालनमा ल्याइसक्ने गुरुङले बताए।

बेसमेन्टका दुई तला पार्किङ, कार्यालय र प्याकिङ युनिटका लागि छुट्याइएको छ। उद्घाटनका अवसरमा स्टोरले प्रत्येक सामानमा १० प्रतिशत छुट दिने जानकारी गराएको छ। ‘रूपन्देहीमा अब भाटभटेनीका दुई वटा स्टोर भएका छन्,’ गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसअघि बुटवलमा १३ औं संस्करणका रूपमा स्टोर सञ्चालनमा आइसकेको छ।’

नेपाल-भारत सीमा नजिकै रहेको सहर सिद्धार्थनगरमा सञ्चालन हुने यो नयाँ स्टोरलाई चुनौती र अवसर दुवै रहेको प्रतिक्रिया उनले व्यक्त गरे।
गुरुङले लुम्बिनी भ्रमणमा आउने आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकका लागि स्टोर आकर्षक गन्तव्य हुने विश्वास प्रकट गरे।‘काठमाडौंमा २०४१ सालमा एउटा सानो स्टोरबाट भाटभटेनी सुपर स्टोर सुरू गरिएको हो,’ गुरुङले भनेका छन्, ‘नेपालमै ५० हजार नागरिकलाई रोजगार प्रदान गर्ने हाम्रो लक्ष्य छ।’

भाटभटेनीले हाल आठ हजार जनालाई रोजगार दिइरहेको छ। यसको १८ औं स्टोर नेपालगञ्जमा निर्माणाधीन छ।